मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको तीन वर्ष पूरा हुँदै गर्दा सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा जेलमा छन्।
- पार्टी प्रवक्ताका अनुसार, रास्वपाको राजनीतिक यात्रा सन्तोषजनक छ, तर प्रतिशोध र घेराबन्दीले प्रगतिमा बाधा पुर्यायो।
- रास्वपाले अन्य दलहरूमा सुशासन र नेतृत्व हस्तान्तरणको बहस सिर्जना गरेको र सरकारमा रहँदा केही सकारात्मक काम गरेको दाबी गरेको छ।
काठमाडौँ । पार्टी स्थापना भएको तीन वर्ष पूरा हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विभिन्न सहकारीको बचत रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि जेलमा छन् ।
पुराना दलहरूलाई राजनीतिमा चुनौती दिन २०७९ असार ७ गते रविको नेतृत्वमा नयाँ वैकल्पिक शक्तिको रूपमा रास्वपा गठन गरिएको थियो । तर सुशासन, समृद्धि स्थापना गर्ने उद्देश्यसाथ खोलिएको पार्टीका सभापति नै विभिन्न प्रकरणमा मुछिएपछि रास्वपा अहिले रक्षात्मक बनेको छ ।
पार्टी स्थापना दिवस तथा अहिलेसम्म भएको काम र कारबाहीबारे सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झासँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ– झासँग गरिएको कुराकानीको सम्पादित अंश :
पार्टी स्थापनाको तीन वर्षमा कति सन्तुष्ट हुनुहुन्छ ?
तेस्रो स्थापना दिवसको दिनसम्म आउँदै गर्दा राजनीतिक यात्रालाई सन्तोषजनक नै लिनुपर्छ, सफल नै मान्नुपर्छ । राजनीतिक प्रतिशोधमा नपरेको भए, नअल्झिएको भए पक्कै पनि हामी योभन्दा धेरै अगाडि पुग्थ्यौँ । यस बिचमा उतारचढाव, राजनीतिक प्रतिशोध, सहकारीको केसमा भएको घेराबन्दीमा हामी अल्झियौँ ।
नियमित रूपमा राजनीतिक अभ्यास गर्न पाएको भए योभन्दा अर्को छलाङ मारिन्थ्यो होला । तर पनि यो घेराबन्दी, प्रतिशोध सबै चिजले अल्झाउन खोज्दाखोज्दै पनि जति उपलब्धि भएको छ, त्यसलाई असाधारण रूपमा लिएका छौँ ।
दुःखलाग्दो कुरा, तेस्रो स्थापना दिवसमा सभापति (रवि लामिछाने)को उपस्थित भएन । उहाँको अनुपस्थितिमा हामीले दिवस मनाउनुपर्ने अवस्था छ । त्यसैले दुःख लागेको छ ।
अबको यात्रा पनि चुनौतीपूर्ण छ । २०८४ को निर्वाचनलाई लक्षित गरेर मिसन–८४ भनेर पुराना दलहरू अघोषित र योजनाबद्ध रूपमै लागेकोजस्तो देखिन्छ । यो अवस्थामा अझ रास्वपाको आगामी दिन चुनौतीपूर्ण पनि देखिन्छ । पार्टी नेतृत्व (रवि लामिछाने) पनि अहिले पुर्पक्षमा रहनुभएको छ ।
तीन वर्षमा कति उपलब्धि भयो ?
हामीले राजनीतिक रूपमा पार्टीले गरिराखेको क्रियाकलाप मात्र रास्वपाको उपलब्धि होइन । नेपाली कांग्रेस, नेकपा माओवादी, एमाले, मधेसवादी दलहरूभित्र सुरु भएको आन्तरिक बहसमा नेतृत्व हस्तान्तरण, सत्ता हस्तान्तरण र नेतृत्वमा सुशासन केन्द्रित नेतृत्व हुनुपर्छ भन्ने विषय उठेको छ । भ्रष्टाचारमा लिप्त नेतृत्वलाई सचेत गराइरहनु भएको छ । आफैँले बनाएको सत्तरी वर्षको नीति लागु किन भएन भनेर केही दिनअघि ईश्वर पोखरेलले आवाज उठाउनुभयो । अब यसरी राजनीति हुँदैन भनेर पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति पनि राजनीतिमा आउनुभयो । यो सबै कुरा हाम्रो उत्पादन हो । यो अवस्था आउनुमा पनि हाम्रो योगदान छ ।
हामी यदि सक्रिय राजनीतिमा आएर एउटा साइन्टिफिक सुशासनको राजनीतिका लागि आवाज नउठाएको भए उहाँहरू जुन कुरामा रमाइरहनुभएको थियो, त्यही कुरामै रमाइरहनु हुन्थ्यो सधैँ ।
पार्टीभित्र एउटा हस्तान्तरणको कुरा, नयाँ अनुहारको कुरा, आफैँले बनाएको नियम किन मान्दैनौ भन्ने आवाज त उठ्दैन थियो होला नि । जस्तै आज नेपाली कांग्रेसको एक जना नेता जो गृहमन्त्री हुनुहुन्छ, जसको यो प्रकरणमा नाम मुछिएको छ, त्यही पार्टीको वरिष्ठ नेता लगायत विभिन्न सांसदले तिमीले नैतिक आधारमा पद छोड्नुपर्छ भन्ने आवाज उठाइरहनु भएको छ । यो सबै राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति हो । हाम्रो राजनीतिक उपस्थितिलाई नजरअन्दाज गर्न नसकेरै उहाँहरूले त्यो कुरा बोलिरहनुभएको हो ।
त्यसैले रास्वपाको उपस्थितिको उपज अन्य पार्टीमा चलिराखेको आन्तरिक बहस र माग पनि हाम्रो उपज हो । हाम्रो नै कारणले उब्जिएको मुद्दाहरू हो भनेर त्यसलाई पनि हामी हाम्रो सफलताको एउटा अंशको रूपमा लिन्छौँ ।
हामीले चाहेको पनि हामी एक्लै आएर देश बनाउँछौं भन्नेमात्र माग होइन । हाम्रो माग तपाईंहरू पनि सुध्रिनुस् भन्ने हो । त्यसमा सुधारका केही आवाज उठ्न थाल्यो । नत्र अहिलेसम्म अवसरको मात्र आवाज उठिरहेको थियो । तिमीले अवसर पायौ, मैले किन नपाउने भन्नेमात्र आवाज उठिरहेको थियो । तर मैले अवसर पाउने त छँदैछ, तिमी पनि सुध्रिनुपर्छ है भन्ने आवाज उठ्न थाल्यो । त्यसैले गर्दा तिनलाई पनि हाम्रो उपस्थितिको उपज नै लिनुपर्छ । त्यो पनि हाम्रो सफलता हो ।
रास्वपाले जुन गठबन्धनको विरोध गर्यो, त्यही सरकारमा दुई दुई पटक सहभागी भयो । कमजोरी भएकोजस्तो लागेको छैन ?
त्यो सत्ता गलत थिएन, सङ्गत गलत थियो किनकि राजनीतिमा भएपछि डेलिभर गर्न जानैपर्छ । सदनमा भएपछि कानुन बनाउनैपर्छ । लोकल लेभलमा भएपछि डेभलपमेन्टका मुद्दाहरू उठाउनैपर्छ । ढल, नाला, धुलो, सरसफाइको मुद्दा स्थानीयले उठाएजस्तै हामीले कानुनका मुद्दाहरू उठाउनैपर्छ ।
अन्य पार्टीसँग गठबन्धन गर्दागर्दै पनि कतिपय राम्रा काम गरेका छौँ । जस्तै शिक्षा क्षेत्रलाई दलीयकरणभन्दा बाहिर लिएर आउँ भन्ने प्रयास नभएको होइन । पाठ्यसामग्री समयमै पुर्याउन सफल भयौँ । दलीयकरण हटाउन सकेनौँ ।
प्रतिपक्षमा हुँदै गर्दाखेरि पनि कानुन बनाउने कुरामा हाम्रो संलग्नता सक्रिय रूपमा छ । संघीय निजामती ऐन बनाउँदै गर्दाखेरि सार्वजनिक लेखा समितिमा मेरो, शिक्षा समितिमा सुमनाजीको, परराष्ट्र समितिमा सोबिताजीको, अर्थ समितिमा स्वर्णिमजीको, सबैको सक्रियता छ । बदमासी तिनीहरूले गरेको हो, हामीचाहिँ २०८४ मा बहुमत लिएर आएरमात्र गर्छौं भनेर पर्खिएर बसेका छैनौँ । हामी त्यो ठाउँमा अहिले जुन भूमिकामा छौँ, अहिलेको परिस्थितिमा पनि सक्रियता देखाएकै छौँ । त्यसरी नै सरकारमा पनि ठिकै छ, अहिले चार वटा मन्त्रालयमात्र पायो, चार वटाले डेलिभर गर्न सकिन्छ कि भनेर त्यो प्रयास गरेको हो । तर सत्ता र सरकार फरक कुरा रहेछ । हामी सरकारमा पुग्यौँ तर सत्ता बनाउन सकेनौँ ।
यद्यपि अन्य पार्टीसँग गठबन्धन गर्दागर्दै पनि कतिपय राम्रा काम गरेका छौँ । जस्तै शिक्षा क्षेत्रलाई दलीयकरणभन्दा बाहिर लिएर आउँ भन्ने प्रयास नभएको होइन । पाठ्यसामग्री समयमै पुर्याउन सफल भयौँ । दलीयकरण हटाउन सकेनौँ ।
यता श्रम स्वीकृति आदिको कुरामा हामीले गर्यौँ । अस्ति भर्खर काठमाडौंको व्यापारीहरूले प्रधानमन्त्री सहभागी भएको एउटा सभामा भन्नुभएको थियो– रवि लामिछाने जुन बेला हुनुहुन्थ्यो, त्यो बेला माफियाको तस्करी नियन्त्रण भएको थियो । त्यो अरु कुनै गृहमन्त्रीले गरेन । उहाँहरूले अहिले पनि सम्झिरहनुभएको छ, चर्चा गरिरहनुभएको छ । विद्यार्थीहरूले पाठ्यसामग्री समयमा पाइरहनुभएको छ । शिक्षकहरू पहिलाजस्तो पूरै खुलेर दलीय नेताको कार्यकर्ता हुन हच्किनुभएको छ । यी कुराहरू पनि त्यो सरकारमा पुगेपछिको उपज हो नि ।
तर समय पर्याप्त थिएन, संयन्त्र यथेष्ट थिएन र सत्ता हाम्रो नियन्त्रणमा थिएन । त्यसैले आगामी दिनमा च्यालेन्ज थपेर जाँदै गर्दा यी कुराहरूमा ध्यान दिनुपर्ने रहेछ भनेर हामीले सिक्ने मौका पनि पायौँ । सरकारमा पुगेर गलत कुरा केही पनि गरेनौँ । दुई पटक सरकारमा जाँदै गर्दाखेरि यो तिमीले गलत गर्यौ भनेर हाम्रा मन्त्रीहरूलाई औंला उठाउने ठाउँ छैन । त्यसैले चार जना मन्त्री रास्वपाका जाँदै गर्दा उनीहरूले गरेको प्रयास एउटा उपज भयो र अर्को, त्यो ठाउँमा पुग्न सक्ने चार वटा भ्रष्टलाई रोक्ने पनि एउटा प्रयास भयो । त्यसलाई पनि हामी उपलब्धिका रूपमा लिन्छौँ । तर राजनीतिक संगतमा सहकार्य कोसँग गर्दैछौँ भन्ने कुरा सहयात्रामा एकदमै महत्त्वपूर्ण हुँदो रहेछ ।
सभापतिले कतै गलत गर्नुभयो कि भन्ने आशंका मनको कुनै कुनामा छैन ?
होइन, त्यसमा म फरक किसिमले हेर्छु । एउटा कुरा के हो भने– तपाईंको त्यो मुद्दा के को लागि थियो भन्ने प्रश्न पहिलो हो ।
सहकारीको मुद्दा रवि लामिछानेलाई थुन्नको लागि थियो कि छानबिन समितिले चर्चामा ल्याएको ८७ अर्ब, ४० वटा सहकारी वा समस्याग्रस्त सहकारीको समस्या समाधानका लागि थियो भन्ने कुरा पहिलो प्रश्न हो ।
उहाँहरूको राजनीतिक आशय नै त्यहाँ गलत देखियो किनकि एक जनालाई थुन्ने, एक जनाका लागि १४ सय ४७ पेज लामो प्रतिवेदन बनाउने र चार महिनामा पूरै संयन्त्र एउटा पेजमा अड्कियो । ८७ अर्बको अपचलन भनेर उहाँहरूले लेख्नुभयो तर समस्या समाधान गर्ने संयन्त्रचाहिँ ६५ करोडमै अड्कियो । अहिले पनि सदनभित्रै सहकारी समस्यामा संलग्न मान्छेहरू, अपचलन गरेको मान्छेहरू मजाले उपस्थित भइरहनुभएको छ ।
यदि समस्या समाधानकै लागि त्यो थियो भने उहाँहरूलाई केही पनि भएन, छोएन । अस्ति हाम्रो शिशिर खनालले सदनमा भन्नुभएजस्तै संयन्त्रहरूले अफिसमा बोलाएर चिया खाएर पठाए । त्यो मुद्दा केन्द्रित थिएन, त्यो राजनीतिक प्रतिशोध केन्द्रित थियो । त्यसैले उहाँहरू सैद्धान्तिक रूपमा चुकिसकेको अवस्थामा अहिले हामीसँग यथेष्ट आधारहरू छन् कि त्यो राजनीतिक प्रतिशोध मात्र थियो ।
अहिले पनि कम्तीमा २० जना राजनीति गर्ने हुनुहुन्छ, जसको नाममा एक वर्षअगाडि पक्राउ पुर्जी जारी भएछ । उहाँहरू सार्वजनिक जीवन एकदम शानदार साथ बाँचिरहनुभएको छ । उहाँहरूलाई केही भएको छैन । यो क्रियाकलापहरूले गर्दा हाम्रो आफ्नो नेतामाथि प्रश्न उठ्नुभन्दा अगाडि सत्ता पक्षले यो सन्तुलित व्यवहार गरेन भन्ने कुरा उठ्छ ।
कम्पनी ऐनमा जानुपर्ने मुद्दालाई सहकारी मुद्दामा ल्याइयो । उहाँको ट्रान्जेक्सनसँग केही कुरा थियो भने त्यो कम्पनी ऐनले हर्थ्यो । रवि लामिछाने गृहमन्त्री हुँदाखेरि वर्तमान गृहमन्त्रीले ५० पटक सदनमा र प्रतिपक्षको बेन्चमा उभिएर गितेन्द्रबाबु राईलाई समात्छु, समातिसक्छु भनेर भन्नुभएको थियो । तर उहाँ लगभग एक वर्ष हुन लाग्यो गृहमन्त्री हुनुभएको । खै त समातेको ?
उहाँहरूको जुन क्रियाकलाप भयो, समस्या समाधानमा नगएर व्यक्तिलाई थुनेर हाम्रो काम सकियो भनेर बसिदिनुभयो । सम्बन्धित सबैभन्दा प्रमुख अभियुक्तलाई छुनसमेत सक्नुभएन, समात्न सक्नुभएन । आफैँसँग संलग्न मानव तस्करलाई समेत उहाँको संयन्त्रले छुट दियो । पक्राउ पुर्जी जारी भएको मान्छे प्रधानमन्त्रीको पछाडिको पहिलो बेन्चमा उपस्थिति लाएर बसिरहनुभएको छ, उहाँलाई केही पनि छैन ।
अहिले पनि कम्तीमा २० जना राजनीति गर्ने हुनुहुन्छ, जसको नाममा एक वर्षअगाडि पक्राउ पुर्जी जारी भएछ । उहाँहरू सार्वजनिक जीवन एकदम शानदार साथ बाँचिरहनुभएको छ । उहाँहरूलाई केही भएको छैन । यो क्रियाकलापहरूले गर्दा हाम्रो आफ्नो नेतामाथि प्रश्न उठ्नुभन्दा अगाडि सत्ता पक्षले यो सन्तुलित व्यवहार गरेन भन्ने कुरा उठ्छ ।
हाम्रो सभापति गलत हो कि होइनभन्दा पनि अहिलेसम्म गरिएको व्यवहार नै गलत हो । त्यसले गर्दाखेरि यो व्यक्ति केन्द्रित व्यवहार हो, प्रक्रिया र समाधान लक्षित होइन भनेर हामीले भन्दै आएका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण