बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पहिलो प्रस्रव

सँगै परीक्षा दिँदा बेन्जुले पितालाई उछिनिन्, आईएमा पिताकै नाटकबारे प्रश्न थिए

शनिबार, ०७ असार २०८२, १७ : ३०
शनिबार, ०७ असार २०८२

सारांश

  • कवि तथा कथाकार बेन्जु शर्माको साहित्यिक यात्रा, बाल्यकाल, पारिवारिक पृष्ठभूमि र लेखनमा उनको संलग्नताको बारेमा जानकारी प्रस्तुत गरिएको छ।
  • शर्माले विभिन्न विधामा कलम चलाइन्, कविता, कथा, उपन्यास र एकाङ्की जस्ता कृतिहरू प्रकाशित गरिन्, र उनले विभिन्न पुरस्कार र सम्मानहरू प्राप्त गरिन्।
  • लेखनमा सक्रिय रहँदै शर्माले आफ्नो जीवन र अनुभवलाई सन्तुष्टिका साथ स्वीकार्दै साहित्यमा निरन्तरता दिइरहेकी छिन्।

पिता प्रसिद्ध साहित्यकार भीमनिधि तिवारी र माता चित्रकार एवं शिक्षिका भुवनेश्वरी तिवारी— किताब, कला र गुरुको त्रिवेणीजस्तो थियो कवि तथा कथाकार बेन्जु शर्मा (जन्म ः २००४ पुस २६) का लागि आफ्नो जन्मघर । 

काठमाडौँको डिल्लीबजारस्थित घरमा कलाकार र साहित्यकारहरूको जमघट भइन्थ्यो, किताब र कलाका थुप्रा हुन्थे । आमा कला साधनामा र पिता साहित्य साधनामा मग्न रहेको देखेर बेन्जु हुर्किन्, यसर्थ बेन्जु शर्माका लागि घरै साधना स्थलजस्तो थियो ।  

केटाकेटी छँदा पिताका पुस्तक निकै पढिन् बेन्जुले । उनी भन्छिन्, ‘बुवाको नाटक दोहोर्‍याइ–तेहेर्‍याई पढ्थेँ । पात्रहरूसँग भिजेर हाँस्थे, कति पात्रसँग मन साँटेर रोइन्थ्यो पनि ।’ 

यस खालको साहित्यिक वातावरणले उनलाई सानैदेखि लेख्न प्रेरित गर्‍यो । बहिनी मञ्जु काँचुली र आफूले ६–७ वर्षको उमेरमै लेख्न सुरु गरेको उनी बताउँछिन् । उनले आफ्नो पहिलो कविता सरस्वती पूजाको दिन टोलमा भएको कवि गोष्ठीमा वाचन गरेकी थिइन् । त्यस कवि गोष्ठीका प्रमुख अतिथि प्रसिद्ध कवि लेखनाथ पौड्याल थिए । बेन्जुको कविता सुनेपछि पौड्यालले उनलाई बोलाएर सोधीखोजी गरे । भीमनिधि तिवारीको छोरी भन्ने थाहा पाएर हर्षित भएका पौड्यालले यति मात्रै भने, ‘लेख्दै जाउ है नानी, लेख्न नछाड्नु ।’

त्यस कार्यक्रममा कवि भूपि शेरचन पनि सहभागी थिए । बेन्जुको कविताप्रतिको झुकाव देखेर होला, कवि भूपि शेरचनले उनलाई थुप्रै कविताका किताब पठाइदिए । बाल्यकालमा बेन्जुका यस्ता कैयौँ स्मृति छन् ।

१४ वर्षको उमेर (२०१८ साल) मा रूपरेखा पत्रिकामा ‘नेपाल’ नामक कविता प्रकाशित गराएर नेपाली साहित्य क्षेत्रमा प्रवेश गरेकी बेन्जुको हालसम्म नौ कृति प्रकाशित छन्— पाँचवटा कविता संग्रह, दुईवटा कथासंग्रह, एउटा उपन्यास र एउटा एकाङ्गी संग्रह ।   

पिताले उनलाई नाटककार बनाउन चाहन्थे । त्यसैले उनले नाटकमा पनि सानै उमेरदेखि कमल चलाएकी थिइन् । १५ वर्षको उमेर (२०१९ साल) मा गोरखापत्रमा उनको ‘दश रुपियाँको नोट’ शीर्षकको पहिलो एकांगी छापिएको थियो ।

शर्माको विसंगत (कथा संग्रह, २०४९) मा कथाकार परशु प्रधानले भूमिका लेखेका छन्, ‘कतिपय कविताहरु कथाभन्दा राम्रा र कतिपय कथाहरु कविताभन्दा राम्रा लाग्ने भएकाले बेन्जुलाई म कथाकार मानुँ कि कवयित्री ?’

कथामा भने उनले अलि ढिलै कलम चलाइन् । २०३० सालमा ‘भारत समाचार’ नामक पत्रिकामा पहिलोपटक आफ्नो कथा छापिएको उनी बताउँछिन् तर उनलाई त्यस कथाको शीर्षक सम्झना छैन । सानै उमेरमा लेख्न थालेकी भए पनि बेन्जुले कृतिहरु भने निकै ढिलो गरेर निकालिन् ।

२०४४ सालमा प्रकाशित उपन्यास ‘देहमुक्त’ उनको पहिलो कृति हो । यद्यपि यसमा उनी सहलेखक छन् । यो कृति बेन्जु, ध्रुव सापकोटा र ध्रुव गौतमले लेखेका हुन् । यो उपन्यास लेख्दा उनीहरुले पात्रहरू भाग लगाएर लेखेका थिए । तिनैजना साथी भएकाले भेटघाट हुँदा संयुक्त लेखन गर्ने चर्चा चलिरहन्थ्यो । ‘हामी तीनजनाले छलफल गर्दै कथावस्तु तय गर्‍यौँ । अनि पात्रहरू डिभाइड गर्‍यौँ ।  चारवटा पात्र थिए । चारवटामा दुइटा मैले लेखेँ,’ बेन्जु भन्छिन्, ‘एउटाले लेखेको अर्कोलाई दियौँ, त्यसपछि कथा कसरी अगाडि बढाउने भन्ने सल्लाह भयो । पटकपटकको छलफलबाट उपन्यास तयार भयो ।’ यो उपन्यास साझा प्रकाशनबाट प्रकाशित छ । 

यसपछि उनको दोस्रो कृति आयो, दिवंगत कथासंग्रह (२०४९) । यस संग्रहमा २० कथा संग्रहित छन् ।   

उनको पहिलो कविता संग्रह हो, ‘आन्दोलन पूर्वका बन्द अभिव्यक्तिहरू’ । २०५० सालमा प्रकाशित यस संग्रहमा तारानाथ शर्माले भूमिका लेखेका छन्, ‘आगाको रङले परम्पराको तस्बिरलाई पोतिदिन अग्रसर कवयित्री जनजागृतिकी स्वप्नदर्शीका रुपमा स्पष्टसित प्रकट भएकी छिन् । उनी छातीमा दृढ आस्थाको मुड्की बजार्दै घोषणा गर्छिन् ः

यो खम्बलाई 

आज नै ढाल्नुपर्छ 

उसको बल र मेरो बुद्धिलाई

आज नै प्रयोग गर्नुपर्छ

अब पर्खाइलाई फोडेर

एउटा नयाँ दिन ल्याउनुपर्छ । 

नयाँ दिनको उन्मुक्त बिहानीलाई आह्वान गर्ने सुकोमल भावना, सुन्दर शब्दावली र सरस प्रस्तुतिकी धनी कवयित्री बेन्जु शर्माका यी कविताहरु जनआन्दोलनभन्दा लगत्तै अघिको मानसिकताको प्रतिनिधित्व गर्छन् ।’ 

१९ वटा कविता संग्रहित यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको थियो । 

सानैदेखि लेख्न थालेकी शर्माले कृतिहरु प्रकाशन गर्न किन ढिला गरिन् त ? नाम चलेका साहित्यकारको छोरी भएकाले कृति छपाउन दुःख पनि हँुदैनथ्यो होला ! यस प्रश्नमा उनी भन्छिन्, ‘लेखनमा सक्रिय भए पनि नामको लोभ थिएन । थुप्रै कविता, कथा र एकांगी पत्रपत्रिकामा छापिए तर संग्रहमा निकाल्छु भन्ने सोच नै थिएन मेरो ।’ 

उनले लेखेर राखेका कतिपय कविता र कथाहरू उसै हराएर गए । ‘यतिका कथा–कविता छापिएर आइरहेका छन् । एउटा कृति त निकाल्नुपर्छ,’ कुनै दिन साहित्यकार परशु प्रधानले उनलाई भनेका थिए । प्रधानकै करबलले आफूले कृति निकालेको उनले बताइन् । 

शर्माको विसंगत (कथा संग्रह, २०४९) मा कथाकार परशु प्रधानले भूमिका लेखेका छन्, ‘कतिपय कविताहरु कथाभन्दा राम्रा र कतिपय कथाहरु कविताभन्दा राम्रा लाग्ने भएकाले बेन्जुलाई म कथाकार मानुँ कि कवयित्री ?’

बेन्जुले आजसम्म ५० भन्दा बढी सम्मानसँगै संस्कृति मन्त्रालयबाट राष्ट्रिय प्रतिभा पुरस्कार र महाकवि देवकोटा पुरस्कार लगायत पुरस्कार प्राप्त गरेकी छन् ।   

लेखनमा सक्रिय थालेकै बेला (१५ वर्षको उमेरमा) बेन्जुको विवाह भएको थियो । घरमा सबै पढे–लेखेका भएकाले विवाहपछि पनि उनलाई पढ्न, लेख्न र जागिर खान कुनै बाधा–व्यवधान भएन । विशेषतः लेखनमा घर–परिवारबाट उनलाई सधैँ समर्थन मिल्यो । 

अध्ययनको कुरा गर्दा प्राचीन नेपाली इतिहास, संस्कृति र वास्तुकला र नेपाली विषयमा स्नातकोत्तर उनी मल्लकालीन संस्कृतिमा विद्यावारिधि हुन् ।

जागिरको कुरा गर्दा उनले सुरुमा रेडियो नेपालमा साहित्य कार्यक्रम सञ्चालन गरेकी थिइन् । उनले जीवनको धेरै समय शिक्षण पेसामा बिताइन् । २०३६ सालदेखि शिक्षण पेसामा आबद्ध उनले २०६८ सालमा अवकाश लिइन् । उनको पछिल्लो कृति हो, बेन्जु शर्माका कथाहरु (कथासंग्रह २०७२) । यस संग्रहको भूमिकामा डा. ध्रुवचन्द्र गौतमले समेत परशुकै कुरा दोहोर्‍याएका छन्, ‘बेन्जु शर्मा कवितामा कथाभन्दा सशक्त लाग्नुहुन्छ र कथामा कविताभन्दा सशक्त हुनुहुन्छ ।’ 

उनका पितालाई छोराछोरी हुर्किसकेपछि आईएको परीक्षा दिन मन भएछ । संयोग यस्तो भयो कि बेन्जुले पितासँगै आईएको परीक्षा दिइन् । नेपालीको परीक्षामा पिता भीमनिधि तिवारीकै नाटकसम्बन्धी तीनवटा प्रश्न आएका थिए । बेन्जुले पिताको भन्दा १२ नम्बर बढी ल्याइन् । ‘बुवाको भन्दा धेरै नम्बर आएछ, अब के गर्नु !’ उनले हाँस्दै भनिन् ।

जागिर गर्र्दै, बालबच्चा हुर्काउँदै बेन्जुले वाङ्मय साधना गरेकी थिइन् । जागिरे जीवनमा प्रायः उनी घरधन्दाको काम सकेर रातमा लेख्थिन् ।

बेन्जुले आजसम्म ५० भन्दा बढी सम्मानसँगै संस्कृति मन्त्रालयबाट राष्ट्रिय प्रतिभा पुरस्कार र महाकवि देवकोटा पुरस्कार लगायत पुरस्कार प्राप्त गरेकी छन् ।   

अन्त्यमा हामीले उनलाई सोधेका थियौँ— तपाईंको जीवनको खपिनसक्नु दुःख वा उत्पात खुसीको क्षण सम्झनुपर्दा ? 

‘न अत्यधिक खुशीको क्षण सम्झन्छु, न गहिरो दुःखको । जीवन जे जस्तो बित्यो, त्यही नै मेरो कथा हो । सन्तुष्ट छु,’ भीमनिधि तिवारी साहित्य प्रतिष्ठानकी सचिव समेत रहेकी ७८ वर्षीया शर्मा भन्छिन्, ‘अहिले पनि लेखन तथा साहित्यिक संघ–संस्थामै सक्रिय छु । अहिले बुवाको सम्झनामा निस्किन लागेको लेखकहरूको विशेष समर्पण–सङ्ग्रहको अन्तिम तयारी गरिरहेका छौँ । मेरो नयाँ कविता सङ्ग्रह पनि छाप्न तयारी अवस्थामा छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप