बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संस्कृति–विमर्श

समाज, संस्कृति र द्वन्द्व

शनिबार, ०७ असार २०८२, १९ : ००
शनिबार, ०७ असार २०८२

सारांश

  • सांस्कृतिक विविधता भएको नेपालमा समुदायबीचको एकता, सद्भाव र सहिष्णुता कायम राख्न जातीय, भाषिक, धार्मिक द्वन्द्वलाई सम्बोधन गर्नुपर्ने कुरालाई जोड दिइएको छ।
  • नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रूपमा नेपाललाई परिभाषित गरेको छ, तर यसका प्रावधानहरूको कार्यान्वयनमा समस्याहरू छन्।
  • सांस्कृतिक श्रेष्ठता, बहुसंख्यकवाद, र सांस्कृतिक संकीर्णता जस्ता कारकहरूले द्वन्द्व निम्त्याउन सक्ने र यसलाई समाधान गर्न राज्यको प्रगतिशील सोच र व्यवहार आवश्यक छ।

सांस्कृतिक विविधता भएको मुलुकमा समुदाय बिचको एकता, सद्भाव र सहिष्णुतालाई कसरी जीवित राख्ने र समृद्ध गर्ने भन्ने विषयलाई गम्भीरतापूर्वक लिइन्छ । सांस्कृतिक अनेकता र द्वन्द्व बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा बेलाबखत देखापर्छन् । जाति, भाषा र धर्मका कारण द्वन्द्वको सिकार भएका मुलुक संसारमा निकै छन् । यस्ता द्वन्द्व जटिल र बहुआयामिक हुन्छन् । यिनले समाजलाई लामो समयसम्म विभाजित गर्छन् । यिनका कारण मुलुक टुक्रिन्छन् । बंगलादेश भाषाका कारण पाकिस्तानबाट अलग भएको थियो । यसका निम्ति बंगलादेशीहरूले ठुलो संघर्ष गरेका थिए । युगोस्लाभिया विघटनको कारण जातीय समस्या थियो । बहुसांस्कृतिक, बहुजातीय मुलुक युगोस्लाभियामा एकता, सद्भाव र सहिष्णुताको कमी थियो । जातीय समुदायमा राज्यप्रति अविश्वास थियो । विभिन्न जातीय समुदायले आफूलाई ठगिएको अनुभव गर्थे । यसले द्वन्द्वलाई जन्म दियो । अन्ततः युगोस्लाभिया नै रहेन । 

जाति, भाषा र धर्मका कारण संसारमा ठुलाठुला द्वन्द्व भएकाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा द्वन्द्व नहुन् भन्नेतिर विशेष ध्यान दिइन्छ । द्वन्द्वका आर्थिक, राजनीतिक, जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक कारणलाई केलाइन्छ । सम्बोधन गर्नुपर्ने समस्यालाई समयमै सम्बोधन गरिन्छ । समस्याको समाधान नगरी द्वन्द्वबाट समाजलाई जोगाउन सकिँदैन । नेपाल पनि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । धेरैथोरै समस्या यहाँ पनि छन् । यहाँ पनि बेलाबखत विभेद र उत्पीडनको विरोधमा संघर्ष भएका छन् । समुदाय बिचको सम्बन्धमा तिक्तता आएको छ । सानातिना साम्प्रदायिक द्वन्द्व भएका छन् । 

सांस्कृतिक पहिचानको दायरा फराकिलो छ । यसभित्र जाति, भाषा, धर्म पनि पर्छन् । धर्मको आफ्नो प्रकृति छ तर यसको साइनो संस्कृतिसँग पनि छ । धर्मले मूल्य र विधिका तहमा संस्कृतिलाई प्रभावित गर्छ । भाषा र जाति मूलतः सांस्कृतिक निर्मिति हुन् । संस्कृतिमा यिनको भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालले नेपाली समाजको एकता, सद्भाव र सहिष्णुतालाई जीवित राख्न र समृद्ध गर्न संस्कृतिका कारण देखिने द्वन्द्वलाई मसिनोसँग केलाउनुपर्छ र त्यसलाई अन्त्य गर्नतिर लाग्नुपर्छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा हुने यीसँग सम्बन्धित द्वन्द्वमा विभेद सबैभन्दा ठुलो कारकका रूपमा रहेको छ । यसपछि अन्य कारण आउँछन् । 

जाति, भाषा र धर्मका कारण संसारमा ठुलाठुला द्वन्द्व भएकाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुकमा द्वन्द्व नहुन् भन्नेतिर विशेष ध्यान दिइन्छ ।

प्राचीन समयदेखि नै नेपालमा विभिन्न मानव समुदायको बसोबास रहँदै आएको छ । जनकलाल शर्मा नेपालको संस्कृतिमा नेग्रिटो, आग्नेय, मंगोल–किरात, द्रविड, पश्चिमी वृत्तमुण्ड र आर्य वा नार्डिक समुदायको प्रभाव देख्छन् । अहिले यो भूमिमा खसआर्य, मंगोल, द्रविड लगायत मानव समुदायको बसोबास छ । यिनै समुदायभित्र एक सय ४२ जाति र एक सय २४ भाषा छन् । जाति र भाषाको संख्या अर्को जनगणनामा बढ्न सक्छ । कतिपय भाषा वैज्ञानिक नेपालमा एक सय २४ भन्दा बढी भाषा भएको उल्लेख गर्छन् । नेपालमा बोलिने भाषा भारोपेली, भोटबर्मेली, आग्नेय र द्रविड परिवारसँग सम्बन्धित छन् । कुसुन्डा भाषा कुन परिवारभित्र पर्छ भन्ने यकिन हुन सकेको छैन । ८३.०३ प्रतिशतले भारोपेली परिवारका भाषा बोल्छन् । ४४ प्रतिशतभन्दा बढीले मातृभाषाका रूपमा नेपाली भाषा बोल्छन् । नेपाली माध्यम भाषा र संघीय सरकारको सरकारी कामकाजको एक मात्र भाषाका रूपमा छ । मैथिली, भोजपुरी, थारू, तामाङ, बज्जिका, अवधि, नेपाल भाषा, मगरढुट भाषा बोल्नेहरू क्रमशः ११.०५, ६.२४, ५.८८, ४.८८, ३.८९, २.९६, २.९६ र २.७८ प्रतिशत छन् । अन्य भाषा बोल्नेको संख्या कम छ । कुसुन्डा भाषा २३ जनाले मात्र बोल्छन् । एक हजारभन्दा कम वक्ता संख्या भएका मृतप्रायः भाषा २३ छन् । एक हजारदेखि १० हजारसम्म वक्ता भएका मरणोन्मुख भाषाको संख्या ४४ छ । 

नेपाल बहुधार्मिक देश हो । यहाँ ८१ प्रतिशतभन्दा बढी हिन्दु छन् । बौद्ध धर्म मान्ने ८.२१ र मुस्लिम धर्म मान्ने ५.०९ प्रतिशत छन् । किरात धर्म मान्ने ३.१७ र क्रिस्चियन धर्म मान्ने १.७६ प्रतिशत छन् । प्रकृति, बोन, जैन, बहाई एवं शिख धर्म मान्नेको संख्या निकै कम छ । खसआर्य समुदायका मानिसको संख्या अन्यभन्दा धेरै छ । खसआर्यपछि बढी जनसंख्या भएको समुदाय मंगोल हो । यस समुदायलाई आदिवासी जनजातिका रूपमा पनि उल्लेख गरिन्छ । नेपाली समुदायलाई खसआर्य, आदिवासी जनजाति, मधेसी, दलित, धार्मिक अल्पसंख्यक भनेर पनि कतिले विभाजन गरेका छन् । दलित सामाजिक श्रेणी क्रममा सबैभन्दा तल पर्छन् । सदियौँदेखि उनीहरू चरम आर्थिक, राजनीतिक, जातीय, धार्मिक एवं सांस्कृतिक उत्पीडनको सिकार छन् । नेपाली समाजको ढाँचा पितृसत्तात्मक छ । महिलाहरू यस संरचनाको सिकार छन् । जातीय विभेद ‘छुत’ र ‘अछुत’का रूपमा मात्र छैन, अन्य जातीय श्रेणी क्रममा पनि ठुलो र सानोको भेद छ । आदिवासी, जनजाति, मधेसी र दलितसँग आफूलाई किनारामा पारिएको पीडा छ । अहिलेको हाम्रो सामान्य सांस्कृतिक परिदृश्य यही हो । 

भिन्नभिन्न संस्कृतिले इतिहासदेखि एकअर्काबाट विभिन्न कुरा ग्रहण गर्दै आएका छन् । निग्रेटो, आस्ट्रिक, द्रविड, मंगोल र आर्यहरूले इतिहासमा एकअर्काबाट विभिन्न कुरा ग्रहण गरेका थिए ।

भिन्नभिन्न संस्कृतिले इतिहासदेखि एकअर्काबाट विभिन्न कुरा ग्रहण गर्दै आएका छन् । निग्रेटो, आस्ट्रिक, द्रविड, मंगोल र आर्यहरूले इतिहासमा एकअर्काबाट विभिन्न कुरा ग्रहण गरेका थिए । संस्कृतिको विकास प्रक्रियामा यसलाई स्वाभाविक मानिन्छ । नेपालका भिन्नभिन्न संस्कृतिमा पनि एकअर्को समुदायको संस्कृतिको प्रभाव पाइन्छ । मौलिकताभित्र बाहिरबाट आएका संस्कृतिका अंश पनि हुन्छन् । सांस्कृतिक भिन्नता समुदायको पहिचान हुने भएकाले यसलाई संवेदनशील र गम्भीर मानिन्छ । संस्कृतिभित्र कैयौँ साझा कुरा हुन्छन् । यिनले भिन्नभिन्न समुदायलाई परस्पर जोड्न, सद्भाव र सहिष्णुताको विकास गर्न योगदान दिन्छन् । साझा भूगोल, इतिहास, आर्थिक, राजनीतिक विषयले पनि उनीहरूलाई आपसमा जोड्छन् । आपसमा जोड्न संस्कृतिमा पाइने साझा तत्त्वको भूमिका सबैभन्दा धेरै हुन्छ । राल्फ लिन्टन यसलाई ‘सांस्कृतिक सार्वभौम’का रूपमा उल्लेख गर्छन् । दया, माया, करुणा, इमानदारी आदि यसभित्र पर्छन् । एउटा मुलुकभित्र विभिन्न समुदाय मिलेर बस्नुका पछि सामूहिक हितले मात्र भूमिका सम्पादन गर्दैन संस्कृतिमा अन्तर्निहित एकता, सद्भाव र सहिष्णुताका सूत्रहरूले पनि काम गर्छन् । 

भिन्नभिन्न सांस्कृतिक समुदायका बिचमा एकता, सद्भाव र सहिष्णुता कायम गर्ने कुरामा केही कुराले व्यवधान उत्पन्न गर्छन् । यसमा राज्य पहिलो पंक्तिमा पर्छ । मुलुकमा रहेका सबै जाति, भाषा, धर्म र संस्कृतिप्रति राज्यको समान दृष्टिकोण र व्यवहार हुनुपर्छ । राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन । राज्य आफैँ विभेद र उत्पीडनको उपकरणमा बदलिनु हुँदैन । ‘राज्य उपकरण’हरूको प्रयोग त्यसअनुरूप गरिनु हुँदैन । राज्यका नीति, ऐन–कानुन र व्यवहार समानता, सामाजिक न्याय, मानवीय गरिमा र आत्मसम्मानमा आधारित हुनुपर्छ । राज्य स्वयं विभेदका पक्षमा उभिएका दृष्टान्त संसारभरि छन् । आज पनि यो स्थिति विद्यमान छ । संसारका विभिन्न मुलुकका लोकतान्त्रिक दृष्टिले राम्रा मानिएका संविधानका व्यवस्था पनि व्यवहारमा कार्यान्वयन भएका छैनन् । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक अल्पसंख्यकहरू विभेदको सिकार भएका छन् । त्यसका विरुद्ध संघर्ष पनि हुँदै छन् । नेपाल पनि यसको अपवाद छैन । 

नेपालको इतिहासतिर फर्कियो भने सांस्कृतिक विभेद र उत्पीडनको डरलाग्दो तस्बिर हाम्रो आँखामा आउँछ । एक खास जाति, भाषा, धर्म र संस्कृतिलाई महत्त्व दिइयो । जात व्यवस्थालाई कानुनी संरक्षण प्रदान गरियो । जयस्थिति मल्लले बाँधेको जात व्यवस्था जंगबहादुरसम्म आउँदा अझ कठोर बन्यो । पञ्चायतको अँध्यारो कालखण्डमा ‘एक भाषा एक भेष’को नीतिलाई अघि बढाइयो । ‘सांस्कृतिक राष्ट्रवाद’लाई बलियो बनाउने प्रयास भए । यसका कारण अन्य भाषा, जाति, धर्म किनारमा धकेलिए । विभेद र उत्पीडनको सिकार भए । पीताम्बर शर्माले समकालीन नेपालको इतिहास जातीय, धार्मिक, भाषिक विविधता भएको मुलुकमा सामन्ती राजतन्त्रात्मक, असमावेशी, एकात्मक हिन्दु राज्य निर्माणको इतिहास हो भनेर उपयुक्त मूल्यांकन गरेका छन् । पञ्चायतको समयलाई ‘सांस्कृतिक सम्मिलन’को प्रक्रिया अघि बढाइएको अँध्यारो कालखण्डका रूपमा लिइन्छ । सांस्कृतिक सम्मिलन बाध्यात्मक र ऐच्छिक हुन्छ । राज्यले यसलाई बाध्यात्मक बनाउँछ ।

पहिचानसम्बन्धी चिन्तनमा पाइने अतिरेकले पनि सामाजिक एकता, सद्भाव र सहिष्णुतालाई बलियो बनाउने काम गर्दैन । पहिचान महत्त्वपूर्ण छ तर समाजमा विद्वेष र विभाजन निम्त्याउने र मुलुकलाई द्वन्द्वमा धकेल्ने गरी होइन ।

पञ्चायत र त्योभन्दा पहिलेको राज्यद्वारा गरिएको हिन्दुकरणको प्रयास सांस्कृतिक सम्मिलनको बाध्यात्मक रूप हो । ऐच्छिक रूप वर्चस्वकारी संस्कृतिप्रतिको आकर्षणबाट जन्मन्छ । यसबाट आफ्नो संस्कृति छाड्दै, बिर्संदै जाने र अर्काको संस्कृति ग्रहण गर्ने स्थिति उत्पन्न हुन्छ । जोयल स्प्रिङ यसलाई ‘निसंस्कृतिकरण’ भन्छन् । ‘निसंस्कृतिकरण’ बाध्यात्मक पनि हुन्छ । उच्च जातिको संस्कृति अपनाउँदा प्रतिष्ठित भइन्छ भन्ने सोचाइ जात व्यवस्थाको तल्लो श्रेणीमा रहनेहरूमा हुन्छ । भारतीय समाजमा दलितहरूमा उच्च जातिको संस्कृतिप्रति देखिएको आकर्षणलाई भारतीय समाजशास्त्री एम.एन. श्रीनिवासले ‘संस्कृतीकरण’ भनेका छन् । सन् १९५० को दशकतिर उनले यस शब्दको प्रयोग गरेका थिए । यस्तो मानसिकता वा आकर्षणको निर्माणमा राज्य एवं सामाजिक संरचनाको भूमिका पनि रहन्छ । नेपाल पनि यसबाट मुक्त छैन । 

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रका रूपमा नेपाललाई उल्लेख गरेको छ । धर्मनिरपेक्षतालाई अंगीकार गरिएको छ । नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानिएको छ । कुनै पनि व्यक्तिलाई उसको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गर्न पाइनेछैन भनिएको छ । धर्म, संस्कृति, संस्कार, प्रथा, प्रचलन, परम्परा वा अन्य आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्ने उल्लेख गरिएको छ । विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबिच पारस्परिक सद्भाव, सहिष्णुता, ऐक्यबद्धता कायम गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने, सांस्कृतिक विविधतालाई कायम राख्दै समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र, सम्पदाको संरक्षण र संवर्द्धन गर्ने प्रावधान पनि संविधानमा छ । आदिवासी जनजाति, दलित लगायत सीमान्तकृत समुदायको हकहितका बारेमा संविधान स्पष्टसँग बोलेको छ । संविधानमा भएको व्यवस्था आफैँ कार्यान्वयन हुँदैन । संविधानमा केही कमी भए पनि जेजति व्यवस्था गरिएको छ, त्यसको कार्यान्वयन हुन सक्दा पनि धेरै हुन्छ तर यस्तो स्थिति छैन । राज्यको लोकतान्त्रिक प्रतिबद्धता र चरित्रमा समस्या छ । नियम कानुनमा कमजोरी छन् । यिनले संविधानमा भएका कुरा कार्यान्वयनमा व्यवधान उत्पन्न गर्छन् । 

कमजोरी राज्यमा मात्र होइन सांस्कृतिक समुदायमा पनि छन् । समुदायमा पाइने एक गम्भीर कमजोरी सांस्कृतिक श्रेष्ठताको भावना हो । यस्तो समस्या प्रायः सबै जातीय समुदायमा हुन्छ । बलियो वर्चस्वकारी समुदायमा अझ बढी हुन्छ । श्रेष्ठताको भावनाले विभिन्न संस्कृतिहरूका बिचमा द्वन्द्व निम्त्याउँछ । संसारमा यसका प्रशस्त उदाहरण छन् । नेपालमा एक खास जाति, भाषा, धर्म, संस्कृति भएकाहरूको राज्यमा बलियो पकड रहँदै आएको छ । यसको नकारात्मक असर जाति, भाषा, धर्म, संस्कृति सबैतिर परेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना अगाडि शिक्षा एक खास संस्कृतिको पुनरुत्पादनको सबैभन्दा सशक्त माध्यम थियो । पियरे बोर्दियो यसका निम्ति शिक्षालाई निकै प्रभावकारी माध्यम मान्छन् । २०४७ को संविधानमा नेपालीलाई राष्ट्रभाषा र अन्य मातृभाषालाई राष्ट्रिय भाषा भनियो । शिक्षाले यसको प्रचारमा ठुलो भूमिका खेल्यो । दसैँ, तिहार, तिज आदि चाडपर्वको महिमामण्डनमा शिक्षाको ठुलो भूमिका रह्यो । यसका माध्यमबाट एक खास संस्कृतिको पुनरुत्पादनमा धेरै काम भए । संकथनको निर्माण र विस्तारका साथै भावना, विचार, संवेदनालाई एक निश्चित आकार र दिशा दिन शिक्षाले महत्त्वपूर्ण भूमिका सम्पादन गर्छ । शिक्षाका माध्यमबाट यस्तो कार्य धेरै गरियो । सांस्कृतिक श्रेष्ठताको भावना निर्माणमा पनि यसको ठुलो भूमिका हुन्छ । 

बहुसंख्यकवाद सांस्कृतिक द्वन्द्व बढाउने अर्को कारक हो । यो दृष्टिकोण, मानसिकता र प्रवृत्ति राज्य र समाज दुवैमा हुन्छ । बहुसंख्यकवादले सबैभन्दा ठुलो संख्यामा रहने जातीय समुदाय र उसको वर्चस्वकारी विचार एवं व्यवहारलाई जनाउँछ । यसले अन्य समुदायको भाषा, संस्कृति, धर्म आदिलाई पाखा लगाउँछ । यसले अन्यलाई आफू समान ठान्दैन । आफ्नो र अन्यका बिचमा रेखा खिच्छ र अन्यप्रति असहिष्णु बन्नुका साथै उनीहरूमाथि आफ्नो कुरा लाद्न खोज्छ । यस प्रक्रियामा राज्य पनि विभिन्न रूपमा संलग्न हुन्छ ।

समाजमा द्वन्द्व निम्त्याउने अर्को कारण सांस्कृतिक संकीर्णता पनि हो । यो जातीय, भाषिक, धार्मिक, संकीर्णताका रूपमा देखा पर्छ । अन्य संस्कृतिलाई फराकिलो र उदार ढंगले हेर्न नसक्नु यसको कमजोरी हो । संकीर्णतामा असहिष्णुता हुन्छ । यो कमजोरी राज्यमा पनि पाइन्छ । राज्य पूर्ण समावेशी हुन नसक्दा, नीतिगत कमजोरी रहँदा र सोच नफेरिदा यस्तो स्थिति उत्पन्न हुन्छ । ‘सांस्कृतिक राष्ट्रवाद’ हाम्रो सन्दर्भमा अर्को समस्या हो । ‘सांस्कृतिक राष्ट्रवाद’को चरित्र समावेशी चरित्रसँग मेल खाँदैन । राष्ट्रको एकता र पहिचानलाई संस्कृतिका आधारमा परिभाषित गर्ने यो चिन्तन बहुसंख्यकवादी, अतीतमुखी र वर्चस्वकारी छ । यसमा अन्धराष्ट्रवादका तत्त्व विद्यमान छन् । यसले बहुसंख्यकको भाषा, संस्कृति, धर्मका आधारमा मुलुकलाई परिभाषित गर्ने र एकतामा बाँध्ने प्रयास गर्छ । भारतमा अहिले यही प्रयत्न भइरहेको छ ।  

पहिचानसम्बन्धी चिन्तनमा पाइने अतिरेकले पनि सामाजिक एकता, सद्भाव र सहिष्णुतालाई बलियो बनाउने काम गर्दैन । पहिचान महत्त्वपूर्ण छ तर समाजमा विद्वेष र विभाजन निम्त्याउने र मुलुकलाई द्वन्द्वमा धकेल्ने गरी होइन । अधिकारका निम्ति संघर्ष गर्दा यसलाई सधैँ हेक्का राख्नुपर्छ । पहिचान आदिवासी जनजाति, मधेसी, दलितको विषय मात्र होइन, खस ब्राह्मण, महिला आदि सबैको हो । सबैका आ–आफ्ना पहिचान छन् । मुख्य विषय सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य हो, समानता र सामाजिक न्यायको हो, समावेशिता र समान भूमिका एवं आत्मसम्मानको हो, आ–आफ्ना संस्कृति, भाषा आदिको संरक्षण र संवर्द्धनको अवसर हो । होइन भने श्यामाचरण दुबेका शब्दमा समाजमा ‘विषको लावा’ फुट्न सक्छ । ‘मानव’ पहिचानको सबैभन्दा माथिल्लो र सार्वभौम श्रेणी हो । स्त्री–पुरुष अर्को सार्वभौम श्रेणी हो । पहिचानका अन्य सबै श्रेणी पछि निर्माण भएका हुन् । ती सुरुमा थिएनन् र पछि पनि रहनेछैनन् ।

नेपालले जाति, भाषा, संस्कृतिसम्बन्धी समस्यालाई समाधान गर्न संसारका विभिन्न मुलुकबाट धेरै कुरा सिक्न सक्छ । विभिन्न समुदायबिच एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्ने, विस्तार गर्ने कुरा समतापूर्ण समाजको निर्माणसँग जोडिएको छ । यो भावनात्मक कम–बढी सिद्धान्त, विचार, नीति कार्यक्रम र व्यवहारसँग सम्बन्धित छ । वर्तमान संरचनाभन्दा अघि नबढी समाजलार्ई सांस्कृतिक रूपमा एकताबद्ध गर्न गाह्रो छ । यसको अर्थ राज्यको चरित्रलाई अझ प्रगतिशील बनाउनु हो । संस्कृति हाम्रो परिचयलाई परिभाषित गर्ने महत्त्वपूर्ण विषय हो । हामी बहुसांस्कृतिक समाजमा छौँ र नेपालको परिचय यसबाटै परिभाषित हुनुपर्छ । बहुसंस्कृतिको संरक्षण, संवर्द्धन र विकास मूलतः यससम्बन्धी राज्यको समुचित नीति, ऐन–कानुन, कार्यक्रम र व्यवहारसँग सम्बन्धित छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाज राज्यको प्रगतिशील सोच, नीति र व्यवहारमै फुल्न फल्न सक्छ । सामाजिक समुदायमा पनि यस्तो सोच र व्यवहार आवश्यक छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप