एक स्कुले नानीले प्रश्न गरिन्, ‘अमूर्तताको अर्थ के हो ?’
सारांश
- नवलपरासीमा कला डेमो र आधुनिक कलामाथिको बहस कार्यक्रम सम्पन्न भयो, जसले अमूर्त कलाको दर्शनमाथि छलफल गर्यो।
- कार्यक्रममा कलाकारहरूले कला सिर्जना गरे र दर्शकहरूसँग अन्तर्क्रिया गरे, जहाँ कलाको प्राविधिक र वैचारिक पक्षमाथि जोड दिइयो।
- गैँडाकोट प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको यस कार्यक्रमले कलाको महत्त्व र स्थानीय स्तरमा यसको प्रवर्द्धनमा जोड दियो।
गत वैशाखको २६ गते नवलपरासीको गैँडाकोटमा ‘कला डेमो’ (आम दर्शकहरूकै अगाडि कला बनाउने कार्य) अनि आधुनिक कलामाथिको बहसको कार्यक्रम सम्पन्न भयो ।
यस कार्यक्रमले विशेष गरी अमूर्त कलाको दर्शन, सौन्दर्य र मर्ममाथि गहिरो चिन्तन–मनन र बहसको ढोका खोलिदियो । यो आलेख त्यही अविस्मरणीय दिनको अनुभव, त्यसले उठाएका कलागत प्रश्नहरू र नेपाली कला परिदृश्यमा यसको सम्भावित महत्त्वमाथि केन्द्रित छ ।
- नेपाली कलामा ‘डेमो’को प्रचलन
आम मानिसहरूका बिचमा, उनीहरूकै अगाडि उभिएर कला सिर्जना गर्ने ‘डेमो’ को प्रचलन विश्वव्यापी रूपमा बढ्दो छ । नेपाल पनि यसबाट अछुतो छैन । विशेष गरी प्रभाववादी शैलीका दृश्यचित्र र व्यक्तिचित्र बनाउने ‘डेमो’हरू नेपालमा निकै लोकप्रिय छन् । कलाका विद्यालय र कलेजहरूमा शैक्षिक उद्देश्यले यथार्थवादी कलाको प्रत्यक्ष सिर्जना गरेर देखाइन्छ, जसको मूल ध्येय विद्यार्थीलाई कलाको प्राविधिक पक्षमा निपुण बनाउनु हुन्छ । यस्ता कार्यक्रम कलाको शिल्प–दक्षता बढाउने सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण हुन्छन्, जहाँ कलाकारले रङ भर्ने तरिका, ब्रस चलाउने शैली र संरचनागत संयोजनजस्ता प्राविधिक पक्षहरूलाई विशेष ध्यान दिएर सिकाउँछन् ।

यस्ता अधिकांश ‘डेमो’हरू प्राविधिक प्रदर्शनमा यति धेरै केन्द्रित हुन्छन् कि तिनले कलाको वैचारिक र ऐतिहासिक पक्षलाई छुनै भ्याउँदैनन् । सिर्जना भइरहेको कला कुन शैलीको हो, यसको ऐतिहासिक पृष्ठभूमि के हो, यसले कलाको विकास क्रममा कस्तो अर्थ राख्छ जस्ता गहन विषयहरूमा विमर्श गर्ने प्रचलन लगभग शून्यप्रायः छ । परम्परागत थाङ्का, पौभा वा लोककलाको ‘डेमो’मा पनि अवस्था फरक छैन । त्यहाँ कलाको प्रविधि, रङको प्रयोग, धार्मिक–पौराणिक कथाहरू र तिनका दार्शनिक पक्षको व्याख्या त गरिन्छ तर त्यस कलाको ऐतिहासिक विकासक्रम, शैलीगत परिवर्तन र समकालीन विश्व कलासँगको त्यसको सम्बन्धलाई जोडेर विश्लेषण गर्ने परिपाटी बसेको छैन । विषयवस्तु र धार्मिक आख्यानमाथि प्रशस्त चर्चा भए पनि त्यसको ‘कलागत मूल्य’ ओझेलमा पर्छ । परिणामतः यस्ता कलाहरू सिर्जनशील अभिव्यक्तिका रूपमा भन्दा पनि एक प्रकारको ‘उपयोगी’ वा ‘सजावटी’ कलाका रूपमा स्थापित हुन पुग्छन् । दर्शकले पनि यसलाई सोही अनुरूप ग्रहण गर्ने सम्भावना प्रबल हुन्छ, जसले गर्दा कलाकारहरू मौलिक सिर्जनशील सर्जकभन्दा पनि स्थापित शैलीका कुशल ‘अनुयायी’ का रूपमा चिनिन पुग्छन् ।
आधुनिक कलाको सन्दर्भमा भने ‘डेमो’ भन्दा पनि ’कार्यशाला’हरू बढी प्रचलित छन् । जहाँ धेरै कलाकारहरू एकै ठाउँमा जम्मा भएर कला सिर्जना गर्छन् र आपसमा कलागत ज्ञान र अनुभव साटासाट गर्छन् । वरिष्ठ कलाकारले काम गरिरहँदा नयाँ पुस्ताका कलाकारले गहिरिएर अवलोकन गरी सिक्ने अवसर पाउँछन् । यो पनि एक प्रकारले ‘डेमो’कै विस्तारित रूप हो तर यहाँ पनि मुख्य ध्यान सिर्जनाको प्राविधिक पक्षमै केन्द्रित हुन्छ । हरेक कलाकारले आ–आफ्नो शैली र सोचअनुसार कला निर्माण गर्छन्, तर सिर्जित कलाकृतिमाथि सामूहिक बहस, समालोचनात्मक विमर्श वा कलाकार आफैँले आफ्नो सिर्जनाको वैचारिक पक्षबारे व्याख्या गर्ने मञ्चको प्रायः अभाव देखिन्छ । यसले गर्दा यस्ता कार्यशालाहरू कला सिर्जनाको एउटा रमाइलो जमघटमा सीमित हुन्छन् तर त्यसले बौद्धिक बहसको आँधी सिर्जना गर्न सक्दैन ।
यही पृष्ठभूमिमा गैँडाकोटको कार्यक्रम एक सुखद अपवादका रूपमा खडा भयो । यहाँ ‘डेमो’ केवल कला कसरी बनाउने भनेर देखाउने माध्यम मात्र बनेन, यो त कला ‘किन’ र ‘के’ हो भन्नेबारे गम्भीर संवाद सुरु गर्ने एउटा शक्तिशाली मञ्च बन्यो ।
- गैँडाकोटको अनुपम कला–उत्सव
गैँडाकोट प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको यो एकदिने कार्यक्रमको स्वरूप आफैँमा विशिष्ट थियो । कार्यक्रमको मुख्य उद्देश्य नै आधुनिक कला, त्यसमा पनि विशेष रूपमा अमूर्त कलाको प्रत्यक्ष सिर्जना गर्ने र त्यसैमाथि केन्द्रित रहेर गहन बहस चलाउने थियो । म (मुकेश मल्ल) र मेरा मित्र (कलाकार जीवनराज उपाध्याय) दुवै यही विधामा सक्रिय भएकाले हामीलाई यस कार्यक्रममा सहभागी हुन आग्रह गरिएको थियो । यस भेगका अधिकांश कलाकारहरू यथार्थवादी वा प्रभाववादी शैलीमा काम गर्ने भएकाले अमूर्त कलाको प्रत्यक्ष सिर्जना उनीहरूका लागि एउटा नौलो र कुतूहलपूर्ण अनुभव हुने निश्चित थियो ।
आधुनिक कलाको सन्दर्भमा भने ‘डेमो’ भन्दा पनि ’कार्यशाला’हरू बढी प्रचलित छन् । जहाँ धेरै कलाकारहरू एकै ठाउँमा जम्मा भएर कला सिर्जना गर्छन् र आपसमा कलागत ज्ञान र अनुभव साटासाट गर्छन् ।
कार्यक्रमको सबैभन्दा रोचक पक्ष यसको अनौपचारिक सुरुवात थियो । प्रमुख अतिथि आइपुग्न ढिलाइ हुँदा दर्शकदीर्घामा एक प्रकारको हतारो देखियो । उनीहरू औपचारिक भाषणबाजीभन्दा पनि कला सिर्जनाको प्रक्रिया हेर्न आतुर थिए । यही हुटहुटीलाई सम्मान गर्दै हामीले अनौपचारिक रूपमै चित्र बनाउन सुरु गर्यौँ । यो निर्णयले कार्यक्रमलाई एउटा जीवन्त र स्वाभाविक गति दियो । हामीले क्यानभासमा रङ पोख्न थाल्नासाथ दर्शकहरूको ठुलो भीड उत्सुकतापूर्वक हामीलाई घेर्न आइपुग्यो । औपचारिक कार्यक्रमको बोझबाट मुक्त त्यो क्षण साँच्चिकै सिर्जनात्मक ऊर्जाले भरिएको थियो । प्रश्नोत्तरको सिलसिला पनि त्यहीँबाट सुरु भयो, जसले गर्दा सिर्जना र संवाद सँगसँगै अघि बढ्यो ।
‘डेमो’को मूल उद्देश्य नै कलाको प्रविधि, सीप र दर्शनलाई दर्शक र सिकारु कलाकारसम्म सम्प्रेषण गर्नु, उनीहरूलाई शिक्षित र प्रेरित गर्नु हो । विशेष गरी पूर्वीय र पाश्चात्य कलाको अंकन पद्धतिमा रहेको भिन्नतालाई मौखिक व्याख्याले मात्र बुझाउन सकिँदैन । यसका लागि प्रत्यक्ष सिर्जना अनिवार्य हुन्छ । साँचो अर्थमा एउटा ‘डेमो’ तब सार्थक हुन्छ जब त्यसलाई कला–इतिहासको बृहत् परिप्रेक्ष्यमा राखेर विश्लेषण गरिन्छ । विभिन्न कला आन्दोलनहरूले स्थापित मान्यताहरूलाई कसरी तोडे र कसरी नयाँ सौन्दर्य चेतनाको निर्माण गरे भन्ने जस्ता पक्षहरूको व्याख्याले ‘डेमो’लाई बौद्धिक गहिराइ प्रदान गर्छ ।
आधुनिक कलाको इतिहास नै स्थापित अंकन पद्धतिलाई भत्काउने विद्रोहको कथा हो । जब कलाकारले वस्तुको यथार्थ रूपलाई भत्काएर त्यसको भाव र प्रभावलाई पक्रिन थाले, जब यथार्थ रङको सट्टा मनोगत र आधारभूत रङहरूको प्रयोग हुन थाल्यो तब त्यसको चर्को विरोध भयो । तर जब तिनै विद्रोही सिर्जनाहरूको वैचारिक र दार्शनिक पक्षको विश्लेषण हुन थाल्यो, तिनको गुढ रहस्य र सौन्दर्य उजागर भयो र तिनले मान्यता पाए । अमूर्त कला यही विकासक्रमको उच्चतम विन्दु हो । त्यसैले यसको ‘डेमो’ गर्दा केवल रङ पोत्ने तरिका मात्र नभई यसको पछाडिको ऐतिहासिक विद्रोह र दार्शनिक चिन्तनबारे बताउनु अनिवार्य हुन्छ । गैँडाकोटको कार्यक्रम यही अर्थमा पूर्ण र सार्थक बन्न पुग्यो ।

- एउटी बालिकाको गहिरो प्रश्न
कला सिर्जना र छलफल अनौपचारिक रूपमा चलिरहँदा एक स्कुले नानीले अत्यन्तै सरल तर गहिरो प्रश्न गरिन्, ‘अमूर्तताको अर्थ के हो ?’
हेर्दा सामान्य लाग्ने यो प्रश्नले उपस्थित सबैलाई एकछिन स्तब्ध बनायो र कार्यक्रमलाई एउटा नयाँ बौद्धिक उचाइमा पुर्याइदियो । यही प्रश्नबाट सुरु भएको बहसले आगामी कैयौँ घण्टासम्म हललाई तताइरह्यो । अमूर्त कला जहाँ चिनिने आकारहरू हुँदैनन्; जहाँ केवल रङ, रेखा, बनावट र संयोजनको खेल हुन्छ; त्यहाँ ‘अर्थ’को खोजी गर्नु स्वाभाविक हो । हामीले जवाफ दिने क्रममा भन्यौँ, ‘सबै कलाको अर्थ शब्दमा खोज्नुपर्छ भन्ने छैन । केही कलाहरू बुझिनेभन्दा पनि महसुस गरिने खालका हुन्छन् ।’ यो आँखाले हेरेर मनले अनुभव गर्ने कला हो । यसमा दर्शक स्वतन्त्र हुन्छन्; उनीहरूले क्यानभासमा देखिएका रङ र आकारहरूमा आफ्नै कल्पना, आफ्नै अनुभव र आफ्नै कथाहरू देख्न सक्छन् । एउटै चित्रलाई हेरेर कसैले ब्रह्माण्डको विस्तार देख्ला, कसैले मनभित्रको उथलपुथल त कसैले प्रकृतिको उन्मुक्त लय । यसरी अमूर्त कलाले दर्शकलाई पनि सिर्जना प्रक्रियाको एक सक्रिय सहभागी बनाउँछ ।
अमूर्त कला जहाँ चिनिने आकारहरू हुँदैनन्; जहाँ केवल रङ, रेखा, बनावट र संयोजनको खेल हुन्छ; त्यहाँ ‘अर्थ’को खोजी गर्नु स्वाभाविक हो । हामीले जवाफ दिने क्रममा भन्यौँ, ‘सबै कलाको अर्थ शब्दमा खोज्नुपर्छ भन्ने छैन । केही कलाहरू बुझिनेभन्दा पनि महसुस गरिने खालका हुन्छन् ।’
उपस्थित केही साहित्यकारहरू यस जवाफमा पूर्ण सन्तुष्ट देखिएनन् । उनीहरूले कलाकारबाटै यसको एउटा निश्चित अर्थ जान्न खोजे । यो जिज्ञासा आफैँमा कला–बहसको एउटा सुन्दर पक्ष थियो । यसले साहित्य र कलाको अर्थबोधको भिन्नतालाई सतहमा ल्याइदियो । हामीले थप प्रस्ट्याउने प्रयास गर्यौँ, ‘कलाकारले कुनै बाहिरी वस्तुको प्रभावबाट नभई आफ्नो आन्तरिक भाव र स्वविवेकले कला सिर्जना गर्न थालेदेखि आधुनिक कलाको जन्म भयो । यो कलाकारको नितान्त व्यक्तिगत र स्वतन्त्र अभिव्यञ्जना हो । यसको सौन्दर्य यसको रहस्यमा र यसले पैदा गर्ने भावनात्मक तरंगमा निहित हुन्छ । जब कुनै वस्तु वा दृश्यलाई हेरेर तपाईंको मुखबाट अनायास ‘आहा !’ निस्कन्छ, त्यहीँ कला हुन्छ । अमूर्त कला त्यही ‘आहा’ को शुद्धतम् रूप हो ।’
यो छलफल चलिरहँदा प्रश्नहरूको ओइरो लाग्यो । एकपछि अर्को गर्दै उठेका जिज्ञासाहरूले कलाको दर्शन, सौन्दर्यशास्त्र र कलाकारको दायित्वजस्ता अनेकौँ पाटालाई छोए । निकैपछि प्रमुख अतिथि आइपुगे र औपचारिक कार्यक्रम सुरु भयो । त्यतिबेलासम्म दुईवटा चित्र लगभग तयार भइसकेका थिए, कार्यक्रमको बौद्धिक मञ्च पनि तयार भइसकेको थियो । काठमाडौँका औपचारिक र समयसीमामा बाँधिएका कार्यक्रमहरूभन्दा यो निकै फरक थियो । यहाँ दर्शकहरू केवल श्रोता थिएनन् सक्रिय सहभागी थिए । करिब ५–६ घण्टासम्म चलेको यो निरन्तर संवाद र सिर्जनाको प्रक्रियामा समय बितेको पत्तै भएन ।

- गैँडाकोट प्रज्ञा–प्रतिष्ठान
यो सार्थक कार्यक्रमको पृष्ठभूमिका रूपमा रहेको गैँडाकोट प्रज्ञा–प्रतिष्ठानको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । राजधानी बाहिर एउटा शान्त र सानो नगरमा कला, साहित्य र संगीतका लागि यस्तो समर्पित संस्था हुनु आफैँमा एक उपलब्धि हो । केही वर्षअघि मात्र गैँडाकोट नगरपालिकाद्वारा स्थापित यो प्रतिष्ठानले छोटो समयमै आफूलाई एउटा जीवन्त सांस्कृतिक केन्द्रका रूपमा स्थापित गरेको छ । यसको श्रेय प्रतिष्ठानका पदाधिकारीहरूको दूरदर्शिता र सक्रियतालाई जान्छ ।
प्रतिष्ठानका उपकुलपति भीम शर्मा, जो आफैँ एक कुशल कलाकार हुन्, उनी यस क्षेत्रमा कलाको वातावरण बनाउन दशकौँदेखि क्रियाशील छन् । उहाँकै अग्रसरतामा यस सानो क्षेत्रमा कलावती कला ग्यालरी, किसान कला ग्यालरी र जानकी कला ग्यालरीजस्ता महत्त्वपूर्ण कला पूर्वाधारहरू निर्माण भएका छन् । काठमाडौँ उपत्यकाबाहिर गतिला कला ग्यालरीको खडेरी परिरहेका बेला गैँडाकोटमा यतिको संख्यामा ग्यालरीहरू हुनु साँच्चिकै प्रशंसनीय छ ।
यस प्रतिष्ठानको अर्को अद्वितीय पक्ष यसको नेतृत्व संरचना हो । देशभरिका अधिकांश स्थानीय वा प्रदेशस्तरीय प्रतिष्ठानहरूमा सम्बन्धित निकायका प्रमुख (मेयर, अध्यक्ष वा मन्त्री) नै पदेन कुलपति हुने व्यवस्था छ । गैँडाकोटले यो परम्परा तोड्दै कला वा साहित्य क्षेत्रकै व्यक्तिलाई कुलपति बनाउने उदाहरणीय व्यवस्था गरेको छ । हाल यसका कुलपति अग्रज कवि तथा साहित्यकार गोविन्द विनोदी छन् । राजनीतिक नेतृत्वभन्दा पनि विषयगत विज्ञको नेतृत्वले गर्दा यहाँ कला–साहित्यका कार्यक्रमले बढी प्राथमिकता र गहिराइ पाएको स्पष्ट देखिन्छ ।
कार्यक्रम आयोजना भएको प्रतिष्ठानको भवन आफैँमा कलामैत्री थियो । बाहिर प्रचण्ड गर्मी हुँदा पनि भवनको ‘अन्डरग्राउन्ड’मा रहेको विशाल कक्ष अत्यन्तै शीतल थियो । यही कक्षलाई कला ग्यालरीका रूपमा विकास गरिएको हुँदा वातावरण स्वतः कलामय बनेको थियो । नजिकै विद्यालय भएकाले कार्यक्रममा स्कुले बालबालिकाको सहभागिता पनि उल्लेख्य थियो । कलिलो उमेरमै कला, साहित्य र संगीतको यस्तो जीवन्त वातावरण पाउनु उनीहरूको सिर्जनशीलताका लागि निकै ठुलो अवसर हो । विशाल पुस्तकालय, फराकिला कक्षहरू र शान्त परिवेशले यस प्रतिष्ठानलाई यस क्षेत्रको एउटा रहरलाग्दो बौद्धिक चौतारी बनाएको छ ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण