एमालेको एघारौँ महाधिवेशन आगामी मङ्सिर वा फागुनसम्ममा हुन्छ : केन्द्रीय सदस्य रिजाल
सारांश
- एमाले नेता विष्णु रिजालले केपी ओलीको नेतृत्व देशकै लागि आवश्यक रहेको बताए। पार्टीको महाधिवेशन आगामी मंसिर वा फागुनसम्ममा सम्पन्न हुने जानकारी दिए।
- पार्टीको विधान महाधिवेशन भदौको अन्तिम साता हुने र ६ महिनाभित्र महाधिवेशन गरिने रिजालले जनाए। उनले जनसंगठनका नेताहरूलाई जनतासँग भेटघाट गर्न सुझाव दिए।
- मानवअधिकार एलायन्सको कार्यक्रममा बोल्दै रिजालले समृद्ध नेपाल सुखी नेपालीको अवधारणाबारे प्रकाश पारे। उनले आगामी निर्वाचनमा एमाले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताए।
झापा । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले एमालेको आन्तरिक एकतामा प्रभाव पार्ने र विग्रह ल्याउने प्रयासहरू भइरहेका भए पनि नेपालको कम्युनिस्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलायन्स) को इन्चार्जसमेत रहेका नेता रिजालले केपी ओलीको विकल्प खोज्ने बेला नभएको बताउँदै उनको नेतृत्व एमालेका लागि मात्र नभएर देशकै लागि आवश्यक रहेको बताएका हुन् ।
झापाको बिर्तामोडमा आज शनिबार आयोजित मानवअधिकार एलायन्सको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता रिजालले पार्टीको एघारौँ महाधिवेशन आगामी मङ्सिरमा वा फागुनसम्ममा सम्पन्न हुने पनि जानकारी दिए ।
पार्टीको विधान महाधिवेशन आगामी भदौको अन्तिम साता तय भइसकेको सुनाउँदै उनले विधान महाधिवेशन सम्पन्न भएको ६ महिना भित्रमा पार्टीको महाधिवेशन गर्ने वैधानिक व्यवस्थालाई पालना गर्दै फागुनसम्म सम्पन्न गरिने उनको विश्वास थियो ।
पार्टीको महाधिवेशन मूलतः नयाँ नेतृत्व चयनमा केन्द्रित रहने गर्दा पार्टी सञ्चालन गर्ने नीति विधिमाथि छलफल गर्न महाधिवेशनमा ध्यान नरहने भएकाले विधान महाधिवेशनको थालनी गरिएको उनले बताए ।
नेकपा एमाले पार्टी र मानवअधिकारको अन्तरसम्बन्ध केलाउँदै मानव अधिकार एलायन्सका इन्चार्ज रिजालले समृद्ध नेपाल सुखी नेपालीको अवधारण भनेको नै मानवअधिकारको पक्षमा काम गर्ने र जनतालाई सुख दिँदै मुलुकको मुहार फेर्ने दृष्टिकोण भएको बताए ।
आगामी २०८४ को निर्वाचनमा नेकपा एमाले बहुमत प्राप्त दल बन्ने र एकल सरकारको नेतृत्व गर्न पाउने गरी काम गर्नु परेको छ भन्दै पार्टीका केन्द्रीय सदस्य रिजालले हरेक जनसङ्गठनको नेता आफ्नो गाउँ टोलका बासिन्दासँग निरन्तर भेटघाट गर्न र दुःख सुखमा उठबस गर्न आवश्यक रहेको औँल्याए ।
‘माथि माथि नेता नेतृत्वसँग सम्बन्ध विकास गर्ने तर तलका जनता समक्ष आफ्नो उपस्थिति नदेखाउने हो भने पछि उम्मेदवारी पाउने कुरामा र विजयी हुने कुरामा समस्यामा पर्नुहोला’, नेता रिजालको सुझाव थियो ।
मानवअधिकार एलायन्स झापाका अध्यक्ष अर्जुनकुमार पाठकको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष विदुर सुवेदीको प्रमुख आतिथ्यमा आयोजित सो जिल्लास्तरीय भेलामा सुबेदीसहित नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले विषयगत प्रस्तुतिहरु गरेका थिए ।
मानवअधिकार एलायन्स झापाका सचिव एकेन्द्र उप्रेतीले सञ्चालन गरेको सो कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरूलाई शाब्दिक स्वागत गर्दै एलायन्सका केन्द्रीय सदस्य रुद्र सिटौलाले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
दमक नगरपालिका समितिका अध्यक्ष त्रिलोचन रेग्मी लगायतबाट अभिमुखीकरण कार्यक्रमको अनुभूति मन्तव्यसमेत सुनाइएको सो कार्यक्रममा जिल्ला अध्यक्ष अर्जुन पाठकले १५ वटै पालिका स्तरीय समितिको नामावली घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण