बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

उच्चस्तरीय शासकीय सुधार आयोगको औचित्यमाथि केसीको प्रश्न

आइतबार, ०८ असार २०८२, १४ : १२
आइतबार, ०८ असार २०८२

सारांश

  • सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित शासकीय सुधार आयोगको औचित्यमाथि प्रश्न उठाए।
  • उनले प्रधानमन्त्री र मन्त्रीहरू नै सुशासनको केन्द्रबिन्दु भएको भन्दै आयोगको आवश्यकतामाथि प्रश्न गरे।
  • केसीले आयोगले केही काम गर्न नसक्ने र यो ‘कहीँ नभएको जात्रा’ भएको टिप्पणी गरे।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको शासकीय सुधार आयोगको औचित्यमाथि सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रश्न उठाएका छन् । 

साथै उनले उक्त आयोगलाई ‘कहीँ नभएको जात्रा’को संज्ञा दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद केसीले सुशासन दिनुपर्ने प्रधानमन्त्री र मन्त्रीहरू रहेको सुशासन आयोग गठन गरेकोमा आपत्ति जनाउँदै भने, ‘प्रधानमन्त्री र मन्त्रिपरिषद् सुशासनको केन्द्रबिन्दु हो । त्यो केन्द्रबिन्दुमा प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोगको किन जरुरी ?’

उनले साँच्चै सुशासन चाहिएको भए देशका सुशासनका विज्ञ हुनुपर्ने बताए । ‘मन्त्री र प्रधानमन्त्री त सुशासन दिने संस्था हो । उसैले त्यो आयोगमा बसेर के गर्न खोजेको हो, मैले बुझेको छैन । यो आँखामा छारो हाल्ने काम मात्रै भएको छ,’ सांसद केसीको भनाइ छ । 

आयोगले केही पनि काम गर्न नसक्ने केसीको दाबी छ । ‘मेरै पार्टीको प्रधानमन्त्री होस् या मेरो गठबन्धनको प्रधानमन्त्री होस् जे सत्य छ त्यो सत्यलाई भन्दा नै त्यो संस्थाको संस्थागत विकासका प्रक्रिया अगाडि बढ्न सक्दछन्’, उनले भने, ‘प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोग कहीँ नभएको जात्रा भएको मलाई आभास भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप