बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कथा

छेपारो, भाले र बाघ

आइतबार, ०८ असार २०८२, १५ : ०५
आइतबार, ०८ असार २०८२

एकादेशको एक जंगलमा छेपारो, भाले र बाघ विशेष रूपमा चर्चित थिए । आपसमा तिनको स्वभाव, सोच र कार्यशैली एकदमै फरक थियो । कोही सधैँ रङ फेर्दै नजिकिएकालाई फसाउँथ्यो । कोही मुखले बोल्थ्यो तर केही गर्दैनथ्यो । एक थियो, जसले काममै परिवर्तन ल्याउँथ्यो र बेलाबेला हुँकार्ने गर्थ्यो । 

त्यो जंगलको एक कुनामा एउटा छेपारो बस्थ्यो । ऊ कुनै साधारण जनावर थिएन किनकि उसले आफूलाई सधैँ चतुर, अनुभवी र सबैभन्दा पुरानो शासकका रूपमा प्रस्तुत गर्दथ्यो । उसमा एउटा गहिरो समस्या थियो, ऊ कहिल्यै स्थिर हुँदैनथ्यो । ऊ कहिले हरियो, कहिले रातो त कहिले निलो हुन्थ्यो । परिस्थिति वा वातावरण अनुकूल उसले आफ्नो रङ फेर्थ्यो । उसले जंगलका सबै प्राणीलाई आश्वासन दिने प्रयास गर्थ्यो तर उसको व्यवहारले सबैलाई भ्रममा पारेको थियो ।

छेपारो एक्लो थिएन, ऊ एउटा भ्रष्ट झुन्डको केन्द्रमा थियो । उसको वरिपरि सुँगुर थियो, जसले जंगलका प्राकृतिक स्रोतहरूको निजीकरण गर्दै आफ्नो पोखरी बनाइसकेको थियो । अर्को स्यालचाहिँ जंगलका हरेक जागिर र जिम्मेवारी बेच्ने धन्दामा लागेको थियो । एकदम चलाख काग जंगलकै अन्य सोझा जनावरलाई शरणार्थी बनाएर बेच्ने खेलमा लागेको थियो । यी सबै छेपारोका घनिष्ठ साथी थिए । छेपारोले उनीहरूलाई रोक्ने सोच कहिल्यै गरेन, बरु सबै लाजमर्दो योजनामा मौन समर्थन जनाउँदै गयो ।

जंगलमा एउटा ठुलो घटना भयो, दर्जनौँ निरीह प्राणीहरूलाई अर्को जंगलमा पठाइदिने आश्वासन दिएर ठगिने क्रम सुरु भयो । छेपारोले केही थाहा नभएको जस्तो गर्‍यो तर सबै प्रमाणले देखाइरहेका थिए, खेल उसकै कोठरीबाट सुरु भएको थियो । 

त्यस्तै एउटा सिंहभूमि (जंगलको मुख्य जग्गा)को घोटाला पनि भयो । त्यस भूमिलाई टुक्राटुक्रा पारेर रातारात छेपारोका साथीहरू (स्याल र बाँदर)ले बेचिदिए । सार्वजनिक जंगल निजी सम्पत्ति बन्ने क्रम तीव्र भयो अनि जनावरहरूले आफ्नो वासस्थान गुमाउँदै गए । छेपारो भने सधैँजस्तो मौन रह्यो, आफूलाई पूर्ण जानकारी नआएको भन्दै टारिरह्यो ।

भ्रष्टाचारको त्यो जाल यति गहिरो बनिसकेको थियो कि जंगलका प्रत्येक कुना चाहे त्यो जागिर होस्, ठेक्का होस् वा कुनै योजना— सबैमा छेपारो समूहको छाप देखिन्थ्यो ।

बाहिरी रूपमा ऊ अझै पनि सरलताको खोल ओढेर हिँडिरहन्थ्यो । अब जनावरहरू झुक्किन छाडिसकेका थिए । उही छेपारो जसले कहिल्यै स्थायी रङ देखाएन, उही छेपारो जसले सधैँ आफ्ना साथीहरूको लाभलाई प्राथमिकता दियो, उही छेपारो जसले जंगललाई चुपचाप लुट्न दिइरह्यो ।

एक दिन एउटा वृद्ध कछुवाले सबैलाई सम्झायो, ‘यस्तो जनावरले जंगलको रक्षा गर्न सक्दैन । उसको रङ होइन उसको साथीहरू हेर्नुपर्छ— सबैले लुटेका छन् अनि ऊ त्यही झाडीभित्र ओभानो बन्छ !’
जंगलको टाकुरोमाथि सधैँ बिहानमा एउटा भाले बास्ने गर्थ्यो । उसका पखेटा चिटिक्क परेका, टाउको ठाडो, अनि स्वर घन्काउने किसिमको थियो । ऊ जहाँ जान्थ्यो उस्तै ठुला घोषणा गर्थ्यो— अब जंगलमा क्रान्ति आउँछ ! म हुँ सबैभन्दा अनुभवी, मेरो सोच संसारले बुझ्दैन ! मबाहेक अरू सबै नालायक !

जनावरहरू केही समय त मोहित भए किनकि भाषण आकर्षक थियो, शब्द चिल्ला थिए तर जब दिन बित्दै गए, जनावरहरूले अनुभव गर्न थाले कि भालेको कुरा केवल ध्वनि थियो, कार्यमा केही थिएन । 
भालेले जंगलभरि ठुला योजनाहरूको घोषणा गर्‍यो— जंगल विकास महायोजना, गुणस्तरीय घाँस र मासु आपूर्ति, सबै जनावरलाई निःशुल्क बसोबास, डाँडो सफा अभियान, अनि सिङ नाप्नेदेखि पुच्छर सरसफाइसम्म । ती योजना बोलीमा मात्र सीमित रहे । व्यवहारमा ऊ त्यति सक्रिय देखिँदैनथ्यो । सबै योजना कागजमै सड्थे अनि भालेको टोलीले कमिसनको लिस्ट बाँड्न थाल्थ्यो ।

अर्को समस्या थियो, भालेको अहंकार । ऊ आफूलाई जंगलकै दार्शनिक शुकरात मान्थ्यो । जब अरू जनावरले सुझाव दिन्थे, ऊ खिसिट्याउरी गर्थ्यो । ‘मेरो दिमाग सबैभन्दा तेज छ’ भन्दै सबै सुझावहरूलाई अस्वीकार गर्ने र आलोचना गर्नेलाई दुस्मन ठान्ने उसको बानी बनिसकेको थियो । यस्तो स्वभावले बिस्तारै ऊ आफ्नै घेरा सानो बनाउँदै गयो ।

जंगलमा एउटा ठुलो घटना भयो, दर्जनौँ निरीह प्राणीहरूलाई अर्को जंगलमा पठाइदिने आश्वासन दिएर ठगिने क्रम सुरु भयो । छेपारोले केही थाहा नभएको जस्तो गर्‍यो तर सबै प्रमाणले देखाइरहेका थिए, खेल उसकै कोठरीबाट सुरु भएको थियो ।

त्यही बेला भालेको वरिपरि काग, सर्प र बाँदरहरू सक्रिय भए । ती सबै ‘भालेको घनत्व हेरेर लाभ खोज्ने व्यापारी’ थिए । जंगलका धेरै पदहरू बोलकबोलमा बिक्न थाले— हरेक जागिर, योजना र पदमा कमिसनको दरबार चल्न थाल्यो ।

सबैभन्दा ठुलो लज्जास्पद घटना त ‘जंगल आपतकालीन्  योजना’मा भयो, जहाँ स्रोतहरू निजी घाँस व्यापारीहरूलाई दिइयो । जनावरहरू राहतविहीन भए र भालेको टोलीले त्यो बहाना बनाएर आफ्नो पखेटा पोते ।
अर्कोतर्फ जंगलमा एउटा ठुलो चिसोले पशुहरू मर्ने अवस्था आयो । भाले भने टाकुरामा बसेर नयाँ कविता लेख्दै थियो, ‘जंगल कति राम्रा छन्, म हुँ कति ज्ञानी !’ ऊ आफूलाई लेखक, नेता, अनि सपना बाँड्ने सपनाकार ठान्थ्यो तर जनावरहरूले थाहा पाए, जंगलले कविता होइन काम खोज्दै छ ।

त्यसपछि आयो जंगलको सार्वजनिक भूमि हडपिएको प्रकरण, जहाँ भालेको समूहले कुखुराका नाममा हजारौँ बिघा कब्जा गरेको रहस्य खुलेको थियो तर भालेको उत्तर थियो, ‘यो मेरो ध्यानको विषय थिएन, म भाषणमा व्यस्त थिएँ ।’

अब जनावरहरू थाकिसकेका थिए । सबैजना भन्न थाले, ‘यो त केवल कराउने हो, केही गर्ने होइन ।’ युवापुस्ताले चिच्याउन थाले, ‘भालेको बोली अब मिठो छैन, यो त पुरानै गीत हो, गफ मात्रै ।’

वनको बिच भागमा एउटा बाघ थियो । ऊ न कुनै सिंहासनमा जन्मिएको थियो, न उसको पछाडि सत्ताको पुरानो स्याल थियो । तर पनि उसले वनको दिशा मोडिदियो साहस, निष्ठा र यथार्थमा आधारित निर्णयमार्फत ।
जब बाघअगाडि आयो, जंगल थलिएको थियो । एकातिर सत्ता जमाएका अहंकारी जनावरहरूको दमन, अर्कोतिर अशक्तहरूलाई थिचेर राखिएको अवस्था । न्याय केवल बलशालीका लागि सीमित थियो । त्यही बेला बाघले प्रवेश गर्‍यो, क्रान्ति गर्दै उसले ल्यायो नीति, कार्य र समानताको सूत्र ।

बाघले वनको संरचना पुनः परिभाषित गर्‍यो । पहिले सत्ताको बिर्कोमुनि लुकेर बसेका लोभी जनावरहरू, जो हरेक निर्णय आफ्नो पक्षमा पार्थे, ती सबैलाई व्यवस्थाबाट अलग गर्ने प्रयास गर्‍यो । बाघले बनायो नयाँ संरचना जहाँ प्रत्येक जनावरको आवाज सुनिन थाल्यो ।

योग्यता र इमानदारीले अवसर पाउने व्यवस्थाको सुरुवात भयो । त्यो नै थियो बाघको क्रान्तिको मूलभूत आधार, समावेशिता । जंगलमा केही जनावरहरू थिए जसले वर्षौंदेखि भय र बलमा शासन चलाइरहेका थिए । यिनीहरूले नीति–निर्माणभन्दा अघि जनावरहरूको घाँटी थिच्ने काम गर्थे । बाघ आयो, उसले नीति र सत्यको बलमा ती अत्याचारीलाई तह लगाउने प्रयास गर्‍यो ।

एकपछि अर्को ती पुराना दमनकारीले आफ्नो स्थान गुमाउँदै गए । बाघले तिनलाई कुनै अपमानजनक व्यवहार गरेन तर उनीहरूलाई नियमको कठघरामा उभ्यायो । शक्तिको उपयोग डर फैलाउन होइन न्यायका लागि पनि गर्न सकिन्छ भन्ने जनावरहरूले पहिलोपटक देखे ।

बाघको शासनमा घाँस बेच्ने मुसा, नक्कली औषधि बाँड्ने गिद्ध, बिहानीमा मिठा वाचा गर्ने स्याल सबै एकपछि अर्को गर्दै नियन्त्रणमा परे । बाघले पहिलोपटक जवाफदेही प्रणाली लागु गर्‍यो, जहाँ जुनसुकै जनावरले गल्ती गरे पनि उसको हैसियतका आधारमा होइन कर्मका आधारमा निर्णय हुन्थ्यो ।

घाममा पसिना बगाउने मेहनती जनावरहरूलाई पहिलोपटक सम्मान मिल्यो र ढोँगीहरूलाई नयाँ जंगलमा ठाउँ छैन भन्ने सन्देश दियो ।

बाघले सबैलाई सुरक्षा मात्र दिएन समान अवसरको ढोका पनि खोलिदियो । उसले कमजोर वर्ग— साना चरा, बिरालो, गधालाई प्रशिक्षित गर्ने केन्द्रहरू खोल्यो । सामाजिक न्यायलाई केवल भाषणको विषय होइन नीति बनायो । अब पद पनि सन्तुलित ढंगले विभाजन भयो— पहुँच र सिफारिसभन्दा टाढा ।

यसो गर्दा सुरुमै केही सत्तालोलुप प्राणीहरू चिढिए । तिनीहरूले बाघमाथि अनेक आरोप लगाए तर बाघको उत्तर शब्दमा थिएन, कार्यमा थियो ।

केही वर्षमै जंगलको स्वरूप बदलिन थाल्यो— अँध्यारा कुनामा बत्ती बल्न थाले, समयमै घाँस पुग्न थाले, शिक्षामा ध्यान दिइयो, अनि नियम सबैका लागि एउटै भए । जनावरहरूले महसुस गरे, नेतृत्व भनेको केवल बाँच्न दिने होइन बाँच्न लायक जीवन बनाइदिने हो ।

बाघको भिन्नता त्यही थियो, उसले आफ्नो नामको प्रचार गराउन प्रणाली बलियो बनायो ।

एक दिन एकाएक छेपारो र भालेलाई खतरा महसुस भयो र रातारात बाघलाई जंगलको सत्ताबाट हटाइयो । त्यसपछि उनीहरूको ताण्डव सुरु भयो । यो मौकाको फाइदा उठाउँदै हुँडार समूहले धमिलो पानीमा माछा मार्ने प्रयास गर्न थाले । तिनीहरूले जंगलमा भएको परिवर्तनमा आँच पुर्‍याउने कुचेष्टा गर्न खोजेका थिए । जंगलका प्राणीहरू यति सजग थिए कि हुँडारको चाल बुझिहाले । ती हुँडारको समूहलाई बाघ कहिल्यै मन परेन किनकि तिनीहरूको दिन बाघका कारणले सकिएको थियो । 

बाघ परिवर्तनको वाहक हो भन्ने सबैतिर फैलिएको थियो । राजकाजबाट बाहिरिँदा पनि बाघकै कथा यत्रतत्र बनेको छेपारो र भालेका समूहलाई मन परेको थिएन । त्यही भएर ती समूहले बाघलाई सधैँ छेपारो र भालेजस्तै हो भन्ने व्याख्या स्थापना गर्न थाले । 

त्यसैले आज जब कोही भन्छ, ‘यी सबै एउटै हुन्, तीनैजना उस्तै हुन् ।’ तब जंगलका जनावरहरू चुप लाग्दैनन् । उनीहरू भन्छन् ः ‘छेपारोले रूप फेर्‍यो, भालेले बोली फेर्‍यो तर बाघले जंगल नै फेरिदियो । यिनलाई एउटै टोकरीमा राख्नु न्याय होइन, यी नजिकबाट नबुझिएको धारणा मात्र हुन् र जंगलमा हामी सबै बाघजस्तै बनौँ ।’

(डा. कँडेल जेनभा कार्यरत मेडिकल एपिडेमियोलोजिस्ट तथा मानवशास्त्री हुन् । यहाँ व्यक्त विचारहरू लेखकका नितान्त व्यक्तिगत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. निर्मल कँडेल
डा. निर्मल कँडेल
लेखकबाट थप