बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : अध्यक्ष प्रचण्ड

मङ्गलबार, १० असार २०८२, १२ : ३४
मङ्गलबार, १० असार २०८२

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरेलु श्रमिकलाई न्यूनतम ज्यालामा ल्याउन कानुन बनाउने पहल गर्ने बताए।
  • प्रचण्डले श्रमिकको मुद्दालाई संसदमा उठाउने र श्रमिकको जीवनमा परिवर्तन ल्याउन प्रतिबद्धता जनाए।
  • सांसद् रमा कोइरालाले श्रमिकको हितमा आवाज उठाइरहेको बताइन् भने युवालयले घरेलु श्रमलाई मान्यता दिने अभियान चलाइरहेको छ।

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताएका छन् । 

युवालय संस्थाको आयोजनामा आज ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रतिपक्षी दलको हैसियतले श्रमिकको मुद्दालाई संसद्मा उठाउने नैतिक जिम्मेवारी बहन गर्ने बताए। 

“संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढङ्गले अगाडि बढेको छैन, श्रमिकको न्यूनतम ज्यालामा घरेलुु श्रमिकलाई पनि ल्याउन पहल गर्नेछौँ”, उनले भने । 

दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गराउन नसकिने धारणा राखे । “श्रमिककै कारणले म तीन पटकसम्म प्रधानमन्त्री हुन सफल भएँ, यो मुद्दालाई जोड दिएर राष्ट्रिय रुपमा पहल गर्न प्रयत्न गर्नुभएकामा धन्यवाद भन्न चाहन्छु, घरेलु  श्रमिकलाई पनि वैधानिक व्यवस्थामार्फत कानुन निर्माण गरेर सम्मानित जीवन बिताउने वातावरण तयार गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु,” उनले भने ।

सांसद् रमा कोइरालाले आफूले ट्रेड युनियनबाट प्रतिनिधित्व गर्दै श्रमिकको हितमा निरन्तर आवाज उठाइरहेको बताए । उनले देशमा प्रशस्तै रोजगारी सृजना गर्न सकिन्छ उल्लेख गर्दै सरकारले नेपालमा भएको श्रमबजार र रोजगारीलाई चिन्न नसकेको बताए । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले घरेलु श्रमिकका हितमा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । 
    
सन् २०१३ मा स्थापित युवाको नेतृत्वमा सञ्चालित संस्था युवालयले युवाको क्षमता अभिवृद्धि, अधिकार संरक्षण, तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील रही उल्लेखनीय योगदान दिँदै आएको छ । पछिल्लो समय आफूहरुले घरेलु तथा हेरचाहसम्बन्धी श्रमलाई सामाजिक मान्यता दिने र यसलाई सम्मानजनक र मर्यादित पेसाका रूपमा विकास गर्न स्थानीय तह, प्रदेश र सङ्घीयस्तरमा वकालत तथा अभियानमार्फत पैरवी गरिरहेको संस्थाका अध्यक्ष धर्मराज रिमालले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप