के अमेरिका–चीन प्रतिस्पर्धा नयाँ शीतयुद्धमा परिणत हुँदै छ ?
अमेरिकाका विशेषता व्यापक छन्— विश्वको पहिलो अर्थतन्त्र; सामरिक शक्ति; आईपीएस परियोजनाको सञ्चालक; ट्यारिफमार्फत व्यापार युद्ध सञ्चालन गर्ने राष्ट्र; डलर र गनबोट डिप्लोमेसीमार्फत कूटनीति सञ्चालन गर्ने राष्ट्र; लोकतन्त्र, मानव अधिकार र आर्थिक स्वतन्त्रताको नायक ठान्ने राष्ट्र; जापान, भारत र अस्ट्रिया लगायत नेटोको नेतृत्वमा रहेको गठबन्धनको नेता राष्ट्र; नासामार्फत अन्तरिक्षको नयाँ रहस्यको खोजकर्ता; सिलिकन भ्यालीप्रति गौरव गर्ने; ‘मेक अमेरिका ग्रेट अगेन’ आदि ।
चीनका विशेषता हेरौँ— विश्वको दोस्रो अर्थतन्त्र र सामरिक शक्ति; बीआरआईमार्फत अफ्रिका, एसिया र युरोपमा कनेक्टिभिटी भएको राष्ट्र; व्यापार र प्रभाव क्षेत्र विस्तार गर्ने राष्ट्र; ड्रागन डिप्लोमेसीजस्तो चतुर र आक्रामक कूटनीति सञ्चालन गर्ने राष्ट्र; अमेरिकाले सञ्चालन गरेको ट्यारिफ युद्धलाई ट्यारिफमार्फत नै जवाफी फायर खोल्ने देश, आफू अधिनायकवादी नभएको र स्थिरता र विकासमार्फत साझा समृद्ध भविष्यको अभियानकर्ता ठान्ने देश; स्पेस एक्स परियोजनामार्फत अन्तरिक्षको खोजकर्ता; विश्वको ठुलो ईभी र सोलारको प्रयोगकर्ता देश आदि ।
यी दुई देशका बिचमा सिर्जित प्रतिस्पर्धाले कहीँ नयाँ शीतयुद्धको स्वरूप त ग्रहण गर्दैन भन्ने विषय समकालीन विश्वको सर्वाधिक चासो र चिन्ताको विषय बन्न पुगेको छ । किनकि यी दुई देशहरू यतिखेर व्यापार र सैन्य रणनीतिमा मात्र सीमित नरहेर पूर्ण रणनीतिक प्रतिस्पर्धामा समेत होमिएका छन् ।
पूर्ण रणनीतिक प्रतिस्पर्धा भन्नाले दुई राष्ट्रबिच हुने त्यस्तो दीर्घकालीन र बहुआयामिक प्रतिस्पर्धा हो जुन एउटा क्षेत्रमा मात्र सीमित नरही राजनीतिक, आर्थिक, प्राविधिक, सैन्य, सांस्कृतिक तथा वैचारिक जस्ता क्षेत्रमा समेत हुने गर्छ । यस्तो प्रतिस्पर्धाले वैश्विक नेतृत्व, विचारधारा र प्रणालीगत प्रभावजस्ता क्षेत्रमा समेत वर्चस्व कायम राख्न चाहन्छ । अमेरिका–चीनबिच हुने पूर्ण रणनीतिक प्रतिस्पर्धाका मुख्य क्षेत्र निम्न छन् ।
यी दुई देशका बिचमा सिर्जित प्रतिस्पर्धाले कहीँ नयाँ शीतयुद्धको स्वरूप त ग्रहण गर्दैन भन्ने विषय समकालीन विश्वको सर्वाधिक चासो र चिन्ताको विषय बन्न पुगेको छ । किनकि यी दुई देशहरू यतिखेर व्यापार र सैन्य रणनीतिमा मात्र सीमित नरहेर पूर्ण रणनीतिक प्रतिस्पर्धामा समेत होमिएका छन् ।
१) बहुआयामिक प्रतिस्पर्धा : व्यापार, प्रविधि, सैन्य, कूटनीतिक, शिक्षा, संस्कृति, अन्तरिक्ष, साइबर सुरक्षा, एआईजस्ता विविध तर महत्त्वपूर्ण क्षेत्रमा यी दुई मुलुकका बिचमा तीव्र प्रतिस्पर्धा रहिआएको छ ।
२) विश्वको नेतृत्वको होडबाजी : आफूले समकालीन विश्वको नेतृत्व गर्ने होडबाजीका साथ दीर्घकालीन प्रकृतिको रणनीतिक दौडमा यी दुई देश रहेका छन् ।
३) विश्व प्रणालीमा प्रभाव : दुवै देश आ–आफ्नो देशको मूल्य प्रणाली र शासन प्रणालीलाई विश्वमा फैलाउन चाहन्छन् । अमेरिकाले लोकतन्त्र, मानव अधिकार, स्वतन्त्रता तथा खुला बजारजस्ता विषयबारे हवाला दिन्छ भने चीनले स्थिरता, केन्द्रीय नियन्त्रण, विकास तथा साझा समृद्ध भविष्यको बारेमा हवाला दिन्छ ।
४) अन्तर्राष्ट्रिय संगठनात्मक प्रतिस्पर्धा : अमेरिकाले क्वाड (क्वाड्रिल्याटरल सेक्युरिटी डायलग) नेटो, जी–सेभेन, ग्लोबल नर्थजस्ता संस्था र परियोजनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव र विस्तार गर्दै आएको छ । यस्तै, चीनले बीआरआई, एससीओ (सांघाई कोअपरेसन अर्गनाइजेसन), ब्रिक्सजस्ता संस्था र परियोजनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव विस्तार गर्दै आएको छ ।
५) व्यापार प्रतिस्पर्धा : समकालीन विश्वमा अमेरिका र चीनबिच रहेको व्यापार प्रतिस्पर्धा विश्वको आर्थिक सम्बन्धको एउटा महत्त्वपूर्ण पाटो हो । जुन प्रतिस्पर्धाको मुख्य उद्देश्य आयात–निर्यात, कर, अन्तर्राष्ट्रिय व्यापार, प्राविधिक वर्चस्व, आपूर्ति शृंखला तथा भूराजनीतिक प्रभाव विस्तारसँग सम्बन्धित छ । सन् २०१८ तिर (ट्रम्पको पहिलो कार्यकाल) चिनियाँ वस्तुमा उच्च कर लगाएर ट्रम्पले चीनसँग ‘ट्यारिफ वार’ सुरु गरेका थिए । चीनले पनि जवाफी कर लगायो । जुन परिघटना वर्तमान समयमा पनि उनै दुई देश र दुई कार्यकारी पात्रबिच दोहोरिँदै गएको छ ।
६) मुद्रा र वित्तीय प्रतिस्पर्धा : मुद्रा र वित्तीय प्रभाव विश्वव्यापी रूपमा विस्तार गर्न अमेरिका ब्रिटेन उड संस्थामार्फत रणनीतिक हिसाबले अघि बढिरहेको छ भने चीन ब्रिक्स बैंक र बीआरआईमार्फत अघि बढिरहेको छ ।
७) ‘मेक अमेरिका ग्रेट अगेन’ नामक अमेरिकी योजना एकातिर छ भने चिनियाँ क्रान्ति सम्पन्न भएको शतवार्षिकी तथा सन् २०४९ सम्म चीन विश्वको प्रथम बन्ने योजनाका बिचमा निरन्तर पूर्ण रणनीतिक प्रतिस्पर्धा रहिआएको छ ।
८) आपूर्ति शृङ्खला, भूराजनीतिक प्रभावको सवालमा दक्षिण चीन सागर, ताइवान र हङकङमा मानव अधिकारको सवाल तथा आईपीएस र बीआरआईजस्ता सवालमा निरन्तर टकराब चल्दै आएको छ ।
यसरी यी दुई देशका बिचमा उल्लिखित सवालमा हुने गरेको तीव्र प्रतिस्पर्धाले कतिपय सवाल र स्थानमा द्वन्द्व र तनावको स्थिति सिर्जना गरेको छ तर उनीहरूका बिचमा उच्च पारस्परिक आर्थिक निर्भरता रहेको हुँदा पूर्ण रूपमा सम्बन्धविच्छेद हुने सम्भावना भने देखिँदैन । विश्व प्रथम बन्ने चाहनाको होड भने दीर्घकालसम्म रहने देखिन्छ ।
अमेरिका र चीन बिचको प्रतिस्पर्धा नयाँ शीतयुद्धमा परिणत हुने सम्भावना कस्तो छ ?
नाटो र साटोको स्थापनादेखि सन् नब्बेको दशकसम्म दुई ठुला शक्ति राष्ट्रका रूपमा रहेका अमेरिका र सोभियत रुसका बिचमा भएको सैन्य गठबन्धन, विचारधारात्मक र आर्थिक प्रभुत्व तथा राजनीतिक प्रभावका क्षेत्रमा हुने संघर्षलाई नै शीतयुद्ध भनी बुझिन्छ । जसमा प्रत्यक्ष युद्ध भने हुँदैन ।
वर्तमान विश्वमा अमेरिका र चीन बिचको प्रतिस्पर्धा व्यापार र सामरिक शक्तिबिचको प्रतिस्पर्धा भन्नुभन्दा पूर्ण रणनीतिक प्रतिस्पर्धा भन्न उपयुक्त हुन्छ । जसले व्यापार र सामरिक क्षेत्रका अलावा बहुआयामिक पक्षहरू बिचको प्रतिस्पर्धालाई जनाउँछ । यस्तो प्रतिस्पर्धा कहीँ नयाँ शीतयुद्धमा त परिणत हुँदैन भन्ने चासो र चिन्ता सर्वत्र हुने गरेको पाइन्छ । जुन राजनीतिक, आर्थिक, सैनिक, भूराजनीतिक तथा कूटनीतिक सवालसँग जोडिएको विषय हो ।
वर्तमान विश्वमा अमेरिका र चीनको बिचमा रहेका मुख्य प्रतिस्पर्धात्मक क्षेत्रहरूमध्ये प्रमुख क्षेत्रहरूमा आर्थिक क्षेत्र अन्तर्गत व्यापार र टेक्नोलोजी बिच प्रतिस्पर्धा छ । यस्तै भूराजनीतिक क्षेत्र अन्तर्गत दक्षिण चीन सागर र ताइवानको सवाल छ । प्रभाव विस्तारको क्षेत्र अन्तर्गत आईपीएस र बीआरआई छन्; विचारधारात्मक क्षेत्रको सवालमा परस्पर विरोधी लोकतान्त्रिक र एक दलीय अधिनायकवादी प्रणाली बिच प्रतिस्पर्धा छ ।
यी दुई शक्ति राष्ट्रहरूका बिचमा नयाँ शीतयुद्धको बीजारोपण होला वा नहोला भन्ने सन्दर्भमा ऐतिहासिक पृष्ठभूमि, वर्तमानको प्रतिस्पर्धा र सुदूर भविष्यसम्मको होडबाजीलाई मध्यनजर गर्नुपर्ने हुन्छ । यस्तै प्रभाव क्षेत्रको प्रतिस्पर्धा, टेक्नोलोजी र सामरिक होडबाजीलाई पनि लिन सकिन्छ । तथापि यी दुई शक्ति राष्ट्रहरू रुस–उक्रेन तथा इजरायल–इरानजस्ता युद्धमा भने कहीँ ‘प्रोक्सी वार’ त लडिरहेका छैनन् भनेर आशंका भने गर्न सकिने प्रशस्त सम्भावना रहेको छ ।
अर्कातर्फ यी दुई देशका बिचमा पारस्परिक आर्थिक निर्भरताको मात्रा उच्च छ । जुन शीतयुद्ध कालमा अमेरिका र सोभियत संघका बिचमा थिएन । थ्री ट्र्याक डिप्लोमेसी पनि प्रगाढ छ । तसर्थ यी दुई देशहरू एकअर्काका लागि आवश्यक प्रतिस्पर्धी रहेको हुँदा विगतको अमेरिका र सोभियत संघका बिचमा रहेको जस्तो शीतयुद्ध हुने सम्भावना देखिँदैन ।
चीनले ३० मे, २०२५ मा हङकङमा अन्तर्राष्ट्रिय स्तरको भेला गरी अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (आईओएमडी ) स्थापना गरेको छ । यस महासन्धिमा ३२ राष्ट्रहरूले हस्ताक्षर गरेका छन् । यस संस्थाको प्रमुख उद्देश्य अन्तर्राष्ट्रिय विवादहरूमा मध्यस्थतामार्फत शान्तिपूर्ण समाधान खोज्नु हो । चीनका अनुसार संवादमार्फत द्वन्द्वहरू समाधान गर्नु र परामर्शमार्फत विवादको मध्यस्थता गर्नु विश्वका सबै सभ्यताको साझा मूल्य र आकांक्षा हो । यसले के सन्देश दिएको छ भने चीन सामरिक र आर्थिक शक्तिमा मात्र विश्वास गर्दैन, अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधानमा पनि उत्तिकै विश्वास गर्दछ । तर वर्तमानको गतिविधिलाई मूल्याङ्कन गर्दा हिन्द प्रशान्त क्षेत्र, दक्षिण चीन सागर र ताइवानको सवालले भने शीतयुद्धभन्दा माथिल्लो तहको युद्ध पनि नहोला भन्न सकिँदैन । तसर्थ वर्तमानको अवस्थालाई भने नयाँ शीतयुद्धको प्रारम्भिक चरण हो भन्न सकिन्छ ।
अमेरिका र सोभियत संघका बिच विगतमा चलेको शीतयुद्धले विश्वव्यापी रूपमा सिर्जना द्वन्द्व र तनाव गरेको थियो । योसँगै पहिलो र दोस्रो विश्वयुद्ध समेत अन्ततः संवाद र सन्धिद्वारा नै समाप्त भएका घटनाबाट पाठ सिक्नुपर्ने हुन्छ । अमेरिका र चीन दुई देशहरूका बिचमा सम्भावित रूपमा सिर्जना हुन सक्ने शीतयुद्धलाई स्रोतमै व्यवस्थापन गर्नका लागि इँटाको जवाफ पत्थरले दिने ढंगले हैन निरन्तर संवाद, पारस्परिक लाभका आधारमा सहकार्य गर्न आवश्यक हुन्छ । यस्तै रणनीतिक धैर्यताको अनुशरण गर्नु, जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजानु, अन्तर्राष्ट्रिय संस्थाहरूलाई यी देशको सम्बन्धलाई थप प्रगाढ बनाउने सेतुको रूपमा प्रयोग गर्नु, राष्ट्र विशेषको मूल्य प्रणाली र शासन प्रणालीलाई इगो नबनाउने तथा प्रभाव क्षेत्रको विस्तारलाई सीमाबन्दी गर्नु आदि उपयुक्त हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण