आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : छानबिन समितिले विपक्षी दुईतिर, रोकिएन आन्दोलन; विवादमा अल्झिए बालेन

मङ्गलबार, १० असार २०८२, २२ : ००
मङ्गलबार, १० असार २०८२

काठमाडौँ । आज २०८२ असार १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • भिजिट भिसा प्रकरण

सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ ।  गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभामा गराएको जानकारी अनुसार समितिलाई नौ बुँदे कार्यादेश दिइएको छ । समितिले अल्पकालीन, दीर्घकालीन, कानुनी र संस्थागत सुधारका लागि सुझाव दिनेछ ।  

भिजिट भिसा’ तथा अध्यागमनमा हुने ‘सेटिङ’ प्रकरणमा विपक्षी दलहरू दुईतिर विभाजित भएका छन् । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले सोमबार पूर्वमुख्यसचिव शंकरदाब वैरागीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

  • ‘भिजिट भिसा’ छानबिनको जिम्मेवारी

परराष्ट्र सेवाका सचिव बैरागीलाई २०७७ असोज १५ गते सरकारले मुख्यसचिवमा नियुक्त गरेको थियो । २०८० जेठ ३२ गते मुख्यसचिवको कार्यकाल सकिन बाँकी छँदै उनले राजीनामा दिएका थिए । सोही दिन बैरागीको राजीनामा स्वीकृत गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले ‘राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका’ जारी गर्दै उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको थियो । 

  • स्थानीय तहकाे बजेट

देशभरका ५ वटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका छन् । देशको राजधानी रहेको काठमाडौं महानगर भने आन्तरिक विवादमै अल्झिएको छ । ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, विराटनगरले भने निर्धारित समयमै बजेट ल्याएका हुन् । 

  • सरकारलाई के फरक पर्छ ?

 जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने लगभग निश्चित भएको छ । आइतबार सम्पन्न भएको कार्यकारिणी समितिको बैठकले सरकारबारे निर्णय लिने अधिकार संसदीय दललाई दिएको छ । आज (मंगलबार) बसेको सत्तारुढ दलको बैठकमा पनि जसपा नेपालले आफ्नो सहभागिता जनाएको थिएन । 

  • डेडिकेटेड र ट्रंक लाइन विवाद

 नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंक लाइनको धरौटी रकमका विषयमा गरेको निर्णयलाई सार्वजनिक लेखा समितिले प्रश्न गरेको छ । २०८१ चैत २९ गतेको प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासनिक पुनरवलोकन गर्दा राख्नुपर्ने धरौटी २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशत बनाउने र ३५ दिने म्याद हटाउने निर्णय गर्दै विद्युत् वितरण विनियमावली, २०७८ संशोधन गर्ने निर्णय गरेको थियो ।

  • तात्यो प्रदेश सभा

कोशी प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्षको बजेटबारे प्रदेश सभामा सांसदहरूले चर्को असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । जनताको करबाट सिर्जना भएको बजेटलाई मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो गोजीको पैसा बाँडेजस्तो गरेको सांसदहरूको आरोप छ ।

  • कोरोना संक्रमण

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएसँगै पुनः त्रास सुरु भएको छ ।२५ महिनापछि कोरोना सङ्क्रमणले पुनः मृत्युको घटना सार्वजनिक भएको हो । २०८० वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम राखिएको थियो ।  

  • बजेट पारित

बजेटबारे सदनमा चर्काचर्की बहस, असन्तुष्टि र कैयन गुनासोका बिच विनियोजन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने  विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिएका अव्यवहारिक कर नीति विरूद्ध सुनचाँदी व्यवसायीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।

  • न्यायालय

सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्थगन गर्नेगरी भएका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौँको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज (भाडा) प्रकरणका आरोपी प्रवीणराज जोशीलाई साढे पाँच लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौँले आदेश गरेको छ ।

 अदालतको अवहेलना मुद्दामा विशेष अदालतले  'दृष्टि न्युज' अनलाइनका संवाददातासहित ३ जनालाई बयानमा बोलाएको छ।

  • खिमलाल भट्टराई एमालेबाट उम्मेदवार !

आगामी कात्तिकमा हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि रुपन्देही-३ मा एमालेले नेता खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने लगभग निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप