पहिलो पटक समयमा नआउने भयो काठमाडौँको बजेट, के भन्छ बालेनको सचिवालय ?
सारांश
- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट समयमै ल्याउन नसक्ने भएको छ। यसअघि १० असारभित्र बजेट आउने गरेकोमा यसपटक आन्तरिक विवादका कारण ढिलाइ भएको हो।
- मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले बजेट प्रभावित भएको छ। शाहले गुरागाईंलाई नगरसभाको सदस्य सचिवको रूपमा अस्वीकार गरेका छन्।
- बजेट निर्माण प्रक्रिया नै सुरु हुन सकेको छैन, जसले गर्दा असार मसान्तसम्ममा बजेट प्रस्तुत गर्ने समयसीमा प्रभावित भएको छ। कार्यपालिका बैठक र स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक पनि बस्न सकेको छैन।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट समयमा ल्याउन नसक्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक समयमा बजेट ल्याउन नसक्ने भएको हो ।
यसअघिका आर्थिक वर्षहरूमा आन्तरिक विवादका बाबजुद बजेट १० असार भित्रै आउने गरेको थियो । तर आगामी आर्थिक वर्षको लागि बजेट समयमै नआउने निश्चित भएको प्रवक्ता नवीन मानन्धर बताउँछन् ।
‘आज नियम अनुसार बजेट आउनुपर्ने त हो । तर आज नआउने निश्चित भएको छ । अहिलेसम्म कार्यपालिका बैठक नै बस्न सकेको छैन । नगर सभामा नीति तथा कार्यक्रम र बजेट धेरै परको कुरा हो,’ उनी भन्छन् ।
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक गत पुस देखि नै बस्न सकेको छैन । काठमाडौँ टावरमा नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृतसँग जोडिएर महानगरमा आन्तरिक द्वन्द्व सुरु भएपछि बैठक बसेको छैन । त्यस अघि महानगरले महिनाको अन्तिम हप्ता एक चोटि कार्यपालिका बैठक राख्दै आएको थियो । नगर सभा सञ्चालन गर्ने निर्णय पनि कार्यपालिकाले नै गर्ने अभ्यास रहँदै आएको छ ।

- बालेन भर्सेस सरोज
महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार गर्दा बजेट नै अन्योलमा परेको हो । महानगर स्रोतका अनुसार मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगरसभाको सदस्य सचिवको रूपमा अस्वीकार गर्दै आएका छन् । ‘उहाँले प्रमुख प्रशासकीय अधिकृतसँगै बसेर नगरसभा सञ्चालन गर्न नसक्ने मनसाय देखाउँदा अहिले समस्या भइरहेको हो । शाहले सचिवालयमार्फत प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा बस्न दबाब दिइरहेका छन् । तर गुरागाईंले त्यसलाई अस्वीकार गर्दा नगरसभा अनिश्चित भएको हो,’ रातोपाटीसँग कुरा गर्दै महागरका एक अधिकृतले बताए ।
ती अधिकृतले भनेजस्तै प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्न नमान्दा बालेनले बैठक नै नराखेका हुन् । काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि बालेनले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक ४ असारमा राख्न तयार भएका थिए ।
तर समितिका सदस्य सचिव रहने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं बिना नै बैठक राख्न खोज्दा उपप्रमुख सहितको टोलीले अस्वीकार गरेका थिए । स्रोतका अनुसार बालेनले ४ असारमा ११ बजे आफ्नै कार्यकक्षमा बैठक बोलाएका थिए । उक्त समितिको सदस्यमा उपप्रमुख डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की डोली रहे पनि बैठक बस्न सकेन ।

- बजेट निर्माण प्रक्रिया नै सुरु भएको छैन
काठमाडौँ महानगरपालिकाले बजेटको प्रक्रिया नै सुरु गरेको छैन । मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक समेत अहिलेसम्म बसेको छैन । बालेनले एकपटक बोलाउन तयार भएको बैठकमा सदस्य सचिव नरहने सर्त राखेपछि बैठक सारिएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार चैतको १५ गते भित्र स्रोत निर्धारण गरेर वडा तथा विषयगत समिति तथा महाशाखामा बजेटको सीमा पठाउनुपर्ने हुन्छ ।
त्यसपछि उपप्रमुख नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नुपर्ने हुन्छ । ‘सीमा निर्धारण नै नभएपछि बजेट र कार्यक्रमको तयारी हुन सकेको छैन । कर्मचारीहरूले आफ्नो ढङ्गले गृहकार्य गरेका छन् । तर बजेटका आकार कत्रो हुन्छ, कुन विषयलाई प्राथमिकता दिइन्छ भन्ने टुङ्गो लागेको छैन,’ प्रवक्ता नवीन मानन्धर भन्छन् ।
उक्त समितिले तयार परेको प्रतिवेदन अनुसार मेयरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयरले बजेट प्रस्तुत गर्नुपर्ने छ । तर कानुनी रूपमा बजेट प्रस्तुत गर्नुपर्ने अन्तिम दिनसम्म महानगरमा अहिलेसम्म कुनै पनि बैठक बस्न सकेको छैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार मसान्तसम्ममा बजेट प्रस्तुत भएर असार मसान्तसम्ममा नगरसभाबाट पास भइसक्नु पर्ने छ ।

- बालेन सचिवालय के भन्छ ?
महानगरका मेयर बालेनको सचिवालयले भने दलहरूको संयोजन गर्न जिम्मा दिएका जनप्रतिनिधिहरूले मिति तय नगर्दा नीति कार्यक्रम तथा बजेट अन्योलमा परेको हो । सचिवालय अनुसार मेयर बालेनले उपमेयर सुनिता डङ्गोल, प्रवक्ता नवीन मानन्धर, वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल र वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुलीलाई सबै पार्टीहरूसँग संयोजन गर्न जिम्मा दिएका थिए ।
तीन जनाले सबै दलका प्रतिनिधिहरूसँग सहमति गरी कार्यपालिका बैठक राख्ने मिति तय गर्ने भनिए पनि उनीहरूबिचमा नै सहमति नभएकाले कार्यपालिका बैठक समेत बस्न नसकेको एक सचिवालयले सदस्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण