विवादले धरानमा रोकियो बजेट, कोशीका कुन पालिकाले कति ल्याए ?
सारांश
- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ। पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको छ।
- इटहरी उपमहानगरपालिकाले २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ, जसमा पूर्वाधार विकास र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ।
- प्रदेशका विभिन्न स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्, जसमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।
विराटनगर । कोशी प्रदेशको एक मात्रै विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याएको छ ।
दुई उपमहानगरपालिकामध्ये इटहरीले बजेट ल्याउँदा धरान उपमहानगरपालिकाले भने बजेट ल्याउन सकेन । धरानमा केही दिनदेखि प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र विक्रम बेघासहित वडाध्यक्षबिच विवाद छ । दुई जनाको विवादले उक्त पालिकामा बजेट निर्माण प्रक्रिया नै सुरु हुन नसकेको जनाइएको छ ।
उता, विराटनगर महानगरपालिकाले भने आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको वार्षिक अनुमान पेश गरेको छ । महानगरपालिकाको १६ औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक आय र व्ययको अनुमान प्रस्तुत गरेकी हुन् ।
महानगरबाट पूर्वाधार विकासतर्फ १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ, सामाजिक विकासतर्फ १ अर्ब ८९ लाख ३० हजार रुपैयाँ, आर्थिक विकास तर्फ २ करोड ९६ लाख २५ हजार रुपैयाँ, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँसमेत गरी ४ अर्ब ४० लाख रुपैयाँ विनियोजनको प्रस्ताव प्रस्तुत गरिएको हो ।
यस्तै सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षका लागि इटहरी उपमहानगरपालिकाले ३ अर्ब ५७ करोड २१ लख रुपयाँको बजेट विनियोजन गरेको थियो ।
मंगलबार अपराह्न इटहरी उपमहानगरपालिकाको १६ औँ नगर सभामा बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उपप्रमुख सङ्गीताकुमारी चौधरीले सो बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेट अन्तरगत चालु खर्चतर्फ उपमहानगरपालिकाले १ अर्ब ४ करोड ११ लाख १० हजार रुपयाँ र पुजीगत खर्चतर्फ १ अर्ब ५० करोड १९ लाख ९० हजार विनियोजन गरेको छ । उपप्रमुख चौधरीले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।
अन्य पालिकाहरूको अवस्था के छ ?
मोरङको रतुवामाई नगरपालिकाले ८३ करोड ८५ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख दमयन्ता देवी चुँडालले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । उनले आम्दानी तर्फ घरभाडा, राजस्व तथा प्राकृतिक स्रोतसाधनबाट २७ करोड रुपैयाँ संकलन गर्ने अनुमान गरेकी छिन् ।
मोरङकै लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ६१ करोड छ लाख २८ हजार दुई सय रुपैयाँको बजेट ल्याएको छ । मंगलबार बसेको लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजीगततर्फ १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपैयाँ विनियोजन गरिएको छ ।
उता, सुनसरीको वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब छ लाख ९५ हजार ३७९ बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख रमेश कार्कीले बजेट प्रस्तुत गर्दै वार्षिक नीति तथा कार्यव्रmममा समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधारलाई मूल मन्त्र बनाइ काम गर्ने बताएका छन् । सो पालिकाले ११ वटै वडालाई ८० लाख रुपैयाँका दरले वडास्तरीय योजनामा बजेट छुट्याएको छ । नगर क्षेत्रमा पर्यटक प्रवर्धन गर्न धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, प्रवर्धन र प्रचारप्रसार गरी पर्यापर्यटनलाई जोड दिइने बताइएको छ । बजेटमध्ये चालु खर्च १५ करोड ८८ लाख, वडा कार्यालय (पुँजीगत) आठ करोड ८० लाख, पुँजीगत बजेट (नगरतर्फ) २० करोड ९१ लाख ३९ हजार विनियोजन गरिएको छ ।
उता ताप्लेजुङका नौ वटै स्थानीय तहले बजेट ल्याएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका बजेट ल्याएका हुन् । उक्त पालिकाका नौ वटै स्थानीय तहको कुल बजेट चार अर्ब २२ करोड ३० लाख ५२ हजार ५४५ रुपैयाँको रहेको छ । सबैभन्दा बढी फुङ्लिङ नगरपालिकाले ७६ करोड २७ लाख ३३ हजार ३८९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । फक्ताङ्लुङ गाउँपालिकाले ५५ करोड ३८ लाख, मिक्वाखोला गाउँपालिकाले ४० करोड सात लाख ७७ हजार ८१२, पाथीभरा याङ्वरक गाउँपालिकाले ५२ करोड ५१ लाख ७४ हजार ५५२ रुपैयाँको बजेट ल्याएका हुन् ।
यस्तै आठराई त्रिबेणी गाउँपालिकाले ५२ करोड ३६ लाख ५४ हजार, मैवाखोला गाउँपालिकाले ४४ करोड ७१ लाख १६ हजार, मेरिङ्देन गाउँपालिकाले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपैयाँ र सिरिजङ्घा गाउँपालिकाले ५८ करोड ७५ लाख आठ हजार ८६३ रुपैयाँको बजेट ल्याएका छन् ।
यसैबीच मोरङको कटहरी गाउँपालिकाले पूर्वाधार, कृषी र स्वास्थ्य प्रमुख प्राथामिकता राखेर आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत बिहीबार नै उक्त पालिकाले सो बराबरको बजेट प्रस्तुत गरेको हो । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख २ हजार ५ सय रुपैयाँ र पूंजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ ।
यस्तै सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड नौ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिकाले ६० करोड ३६ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
उता, इलामका १० वटा पालिकाले मंगलबार आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र पर्यटन प्रवद्र्धनमा जोड दिएको छ ।
इलामको सूर्योदय नगरपालिकाले एक अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । इलाम नगरपालिकाले १ अर्ब १४ करोड रुपैयाँ, देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपैयाँ, माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
माईजोगमाई गाउँपालिकाले ४६ करोड २० लाख ५० लाख ९ सय ९१ रुपैयाँ, सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार ७५४ रुपैयाँ, चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपैयाँ, फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपैयाँ र माङ्सेबुङ गाउँपालिले ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपैयाँ बराबरको बजेट ल्याएको छ । इलामको रोङ गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट सार्वजनिक गर्न सकेन ।
उता, पाँचथरको फिदिम नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब १० करोड ५१ लाख ३३ हजार २ सय १ रुपैयाँको बजेट पेश गरेको छ । नगरसभामा प्रस्तुत बजेटमध्ये चालूतर्फ ६८ करोड १९ लाख ५४ हजार ३ सय १ रुपैयाँ तथा पूँजीगत तर्फ ४२ करोड ३१ लाख ७८ हजार ९ सय रुपैयाँ रहेको छ ।
उता, चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको उदयपुर जिल्लाका सातवटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।
जसमा त्रियुगा नगरपालिकाले एक अर्व ५३ करोड ३४ लाख ५९ हजार, कटारी नगरपालिकाले ८७ करोड ६५ लाख, चौदण्डिगढी नगरपालिकाले एक अर्ब १३ करोड ४५ लाख ४१ हजार, उदयपुरगढी गाउँपालिकाकाले ६८ करोड र रौतामाई गाउँपालिकाले ६६ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको हो । यस्तै ताप्लि गाउँपालिकाले ४५ करोड र लिम्चुङ्बुङ गाउँपालिकाकाले ४० करोड रुपैयाँको बजेट ल्याएका छन् । उदयपुरको बेलका नगरपालिकाले भने आन्तरिक तयारी गर्नमा ढिलाई गरेको भन्दै बजेट सार्वजनिक गर्न सकेको छैन ।
यसैबीच ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७२ करोड ६५ लाख १३ हजार ९ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण