शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कविता

एक्लै रुँदैको घाउ

बुधबार, ११ असार २०८२, १४ : ४०
बुधबार, ११ असार २०८२

भुइँ चम्पाकोको ओछ्यानमा लम्पसार परेर उनी सोच्छिन्
ऐँसेलु टिप्दा काँडाले छालामा बिस्तारै चिथोरेको सम्झिन्छिन्
अरू त दृश्यमा छन् तर त्यो घाउ
आकाश हेर्दै रोएकी उनी 
दुःखले वरिपरि घेरिएको
समाजको स्मृतिमा हराएको
उनी समाजसम्म कसरी आइपुगिन् ? 
मलाई यति थाहा छ—
उनीसित अजङ्गको डर साक्षी छ । 

छातीमा टाँसिएको ब्वाँसोले चिथोरेको जवानी
फलामे घेराबाट हेर्दा
डराउँछिन् उनी त्यो उज्यालो झिल्कादेखि
शरीर सिकार बनिसकेको छ
सोच्दै छिन्— 
शरीर साससँगै किन काँप्छ ?

सतहमाथि आएको विकृत सत्य 
समाजले देख्दैन
पोल्छ मनभित्रभित्रै
पासा खेलाउँदै— 
दुशासनको द्रौपदी अपहरणको कथा
युद्ध घोषणा गर्दै— दुर्योधन 
जयद्रथको द्रौपदी अपहरण
ब्वाँसाहरू सिकारलाई रोज्छन्
मानवताभित्रका नियम उसलाई झुट लाग्छ
ब्वाँसो घर–घर डुल्छ भने त्यसलाई थुन
ऊ तिमीलाई लोभ्याउँछ भने उसलाई नहेर । 
तर तिमी थाम्न सक्दैनौ—क्रिया गरिहाल ।

जब समय रक्ताम्य बन्छ
तब मात्र संसारले देख्छ
माटो र आकाश साक्षी बन्छ 
तर मौन साक्षी 
उनी ब्वाँसोसँग डराएर भाग्छिन् 
ती चिसा आँखा—
घाउसँगै निष्क्रिय शरीर बोकेर
उनी सोचिरहेकी छिन्
शरीरमा चिसोपनले घेर्छ
शरीरबाट रत्नबिन्दु झर्छन्
आँखा धमिलिन्छन्
भावना मर्छन्
शरीर पीडाले ढाक्छ—
पीडाको आँधी रातको रुवाइको ज्वाला
सानो उमेर थियो
के सोच्दै थिइन् ?
समाजले सोध्ने आँट गर्छ उसलाई—
तैँले किन गरिस् यस्तो ?
त्यो काम अन्यायपूर्ण थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रीता भण्डारी
रीता भण्डारी
लेखकबाट थप