इन्स्पेक्टरको जन्मोत्सवमा ‘विवादित’ व्यक्ति, एसपीको नेतृत्वमा छानबिन समिति गठन
काठमाडौँ । प्रहरी इन्स्पेक्टरको जन्म उत्सवमा ‘विवादित व्यक्ति’ सहभागी भएको घटनामा छानबिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका तत्कालीन इन्स्पेक्टर मनिष श्रेष्ठको जन्मोत्सवमा बलात्कार मुद्दाका आरोपी आकाश आदर्श देखिएका हुन् । जन्मोत्सव मनाएको फोटो सार्वजनिक भएसँगै मधेस प्रदेश प्रहरी कार्यालयले त्यसबारे छानबिन सुरु गरेको छ ।
प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको मधेस प्रदेशका डीआईजी उमा प्रसाद चतुर्वेदीले रातोपाटीलाई बताए । उनले भने, ‘समिति बनाएर छानबिन सुरु गरिएको छ ।’
बलात्कार मुद्दाका आरोपी आदर्श राजविराज नगरपालिका–६ का स्थानीय हुन् । उनी विरुद्ध आफ्नी प्रेमीकाले बलात्कार मुद्दाको जाहेरी दर्ता गराएकी थिइन् । सहमतिमा ‘शारीरिक सम्पर्क भएको’ भन्दै अदालतले उनलाई सफाइ दिएको थियो । मुद्दाबाट सफाइ पाएको दोस्रो दिनमा उनी इन्स्पेक्टर श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र बस्नेतसँगै देखिएका हुन् ।
विवादमा परेका व्यक्तिसँग भेट्नु ‘आचरण विपरीतको काम’ मानिन्छ । २०८१ असोजमा जन्मदिन मनाएका इन्स्पेक्टर श्रेष्ठ चितवन स्थित इलाका प्रहरी कार्यालय टाँडीमा सरुवा भएका छन् ।
जन्मोत्सवको कार्यक्रम डीएसपी बस्नेतको निवासमा आयोजन गरिएको थाहा भएको छ । जन्मोत्सवको तस्बिरमा विवादित व्यक्ति देखिएपछि त्यसबारे आलोचना भइरहेको छ ।
आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा पनि यसअघि नै तानिएका थिए । उनलाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ ।
सप्तरीको इन्चार्जमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गौतम केसीलाई पठाइएको छ । तर, केसी हाजिर हुनुअघि डीएसपी बस्नेतले निमित्त इन्चार्ज भएर काम गरिरहेका छन् ।
गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने शर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको आरोपमा एसपी खतिवडा र वरिष्ठ सई त्रिपाठीलाई जिम्मेवारीबाट हटाइएको हो ।
फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’लाई पक्राउ नगर्ने शर्तमा उनका भाई अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।
सो घटना छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरिएको डीआईजी चतुर्वेदी जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण