सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
सारांश
- सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
- प्रहरीले चेकजाँचका क्रममा यात्रुबाहक ट्याम्पोबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
- पक्राउ परेका युवकको साथबाट ठूलो मात्रामा लागूऔषध बरामद गरिएको छ र थप अनुसन्धान भइरहेको छ।
रौतहट । सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवन नगर प्रहरी चौकी अगाडिको सडकबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्। प्रहरीले विशेष चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बिहीबार दिउँसो करिब १ बजे मधेस प्रदेश ०३–००१ ह। २२२१ नम्बरको यात्रुबाहक ट्याम्पो त्रिभुवन नगर बजारबाट भेल्हीतर्फ जाँदै गरेको बेला प्रहरीले उक्त ट्याम्पोलाई रोकी चेकजाँच गरेको थियो। ट्याम्पोमा सवार यात्रुहरूको चेकजाँच गर्दा चितवन भरतपुर महानगरपालिका–२४ का १९ वर्षीय अनीश बिक र धन बहादुर परियारका १९ वर्षीय छोरा सन्देश परियारको साथबाट ठुलो परिमाणमा लागू औषध बरामद गरिएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी सरोज कुमार राईले जनाएको छ।
अनीश विकको साथबाट Nitrazepam-10 लेखिएको ५ पत्ता (५० ट्याब्लेट) र सन्देश परियारको साथबाट पनि त्यही मात्रामा लागू औषध फेला परेको हो। साथै उनीहरूले बोकेको रातो रङ्गको कपडाको झोलाभित्र लुकाइ छिपाइ राखिएको ११० पत्ता (११०० ट्याब्लेट) पनि फेला पारिएको प्रहरीले जनाएको छ।
दुवै युवकलाई लागू औषध सम्बन्धी मुद्दामा नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण