वडाध्यक्ष र सचिवकै मिलेमतोमा मृत्यु प्रमाणपत्र बनाएर जग्गा बिक्री
सारांश
- विराटनगर वडा कार्यालयले ७० वर्षीय केदारबहादुर बस्नेतलाई २०५८ सालमै मृत्यु भएको मुचुल्कामा हस्ताक्षर गरेको खुलासा भएको छ।
- यो घटनामा वडा अध्यक्ष कुमार पोखरेल र अन्य १० जना संलग्न रहेको र जग्गा एकलौटी गर्न जीवित व्यक्तिलाई मृत घोषणा गरिएको आरोप छ।
- केदारबहादुर बस्नेतले आफ्नै दाजु र वडाको मिलेमतोमा आफूलाई मृत घोषणा गरिएको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्।
विराटनगर । विराटनगर–११, पिछरा टोल बस्ने ७० वर्षीय केदारबहादुर बस्नेत जीवित रहे पनि उनलाई विराटनगर–२ को वडा कार्यालयले २०५८ सालमै मृत्यु भएको सर्जिमिन मुचुल्कामा २०७५ असोजमै सहीछाप गरिदिएको खुलेको छ ।
उक्त घटनामा एमालेबाट निर्वाचित वडा अध्यक्ष कुमार पोखरेल र तत्कालीन सचिव सूर्यबहादुर थापालगायत १० जना संलग्न रहेको भेटिएको हो । वडा अध्यक्ष पोखरेल अहिले दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेका छन् ।
जीवित व्यक्तिलाई मरेको भनेर प्रमाणपत्र जारी गरी जग्गा बिक्री गरेको विषय अहिले मोरङ जिल्ला अदालतमा पुगेको छ । केदारबहादुर बस्नेतले जिल्ला अदालतमा दिएको ‘जालसाज’ फिरादपत्रमा आफ्नै दाजु भरतबहादुर बस्नेतको योजनामा जग्गाको हकभोग एकलौटी गर्नका लागि वडासँगको मिलेमतोमा आफूलाई मरेको भनेर सिफारिस गरिएको उल्लेख गरेका छन् ।
सो घटनामा भरतबहादुर बस्नेतसहित विराटनगर महानगरपालिका वडा नं २ वडा अध्यक्ष कुमार पोखरेल, पूर्वसचिव सुर्यबहादुर थापा, विराटनगर २ कै शान्त पौडेल, भवानी प्रसाद सापकोटा, इन्द्र बहादुर परियार, सन्तोष कुमार महत, तीर्थराज मिश्र, दिपक प्रधान र मेनका बस्नेत (अधिकारी) संलग्न रहेको फिरादपत्र (निवेदन)मा उल्लेख छ ।
निवेदक बस्नेतका बुबा पहलमान बस्नेतका तीन जना श्रीमती– जेठी मायादेवी, माइली विष्णु कुमारी र कान्छी उमादेवी बस्नेत थिए । निवेदक बस्नेत कान्छी उमादेवीका जेठा छोरा हुन् । प्रतिवादी उनका दाजु भरतबहादुर बस्नेत पहलमानकी माइली पत्नी विष्णुकुमारीका जेठा छोरा हुन्, विष्णुकुमारीतर्फकै अर्का छोरा नवराज हुन् ।
जेठी पत्नी मायादेवीकातर्फबाट भने चार जना छोरी हर्कमाया, डम्बर कुमारी, भगवती र कुसुम थिए । उनका छोरा भएनन् । कान्छी उमादेवीतर्फका केदार र पर्शुराम बस्नेत छोरा हुन् । पर्शुरामको २०६८ साल फागुन १३ गते मृत्यु भयो ।
जेठी मायादेवीलाई भने उनकै विवाहित साइली छोरी भगवतीले लालन, पालन, रेखदेख गर्दै आएकी थिइन् । मायादेवीको २०४५ भदौ १५ गते मृत्यु भयो । उनको काज किरिया पनि उनै भगवतीले गरेको निवेदक बस्नेतको दाबी छ । निवेदक केदार बस्नेत नेपाल प्रहरीमा जागिर खान्थे । उनी ६४ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा निवृत्त भएका हुन् ।
जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ को तीन कट्ठा २ धुर र कित्ता नम्बर १५७ को धुर गरी ३ कट्ठा ८ धुर जग्गा थियो । सोही जग्गा एकलौटी खानकै लागि भरतबहादुर बस्नेतले केदारलाई मृत्यु भएको भनेर सर्जिमिन गराएका हुन् ।
‘मेरो भाइ पर्शुराम बस्नेतको २०६७/८/१३ मा परलोक भएकोमा निजको समेत मिति २०५८/८/१४ मा नै मृत्यु भइसकेको भनी सर्जिमिन गरेर जग्गा आफ्नो नाममा ल्याएर अर्कैलाई बेचिसकेपछि मैले थाहा पाएँ,’ केदार बस्नेतले भने, ‘मेरो आमाको नाम पनि उमादेवी बस्नेत रहेकोमा ज्ञानकुमारी बस्नेत भनेर सम्पूर्ण झुटा एवं गलत विवरण उल्लेख गरेको पाइएपछि मैले अदालतमा मुद्दा हालेको हुँ ।’
महानगरपालिकाको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते त्यस्तो व्यहोराको सर्जमिन मुचुल्का गरेको पाइएको छ । ‘वडा अध्यक्ष कुमार पोखरेल र तत्कालीन वडा सचिव (हाल सेवा निवृत्त) सूर्य बहादुर थापा समेतले म फिरादी र मेरो भाइलाई मृत घोषणा गरेको अन्य विपक्षीहरूलाई रोहबरमा राखी सर्जमिन मुचुल्का गराएको सोही जालसाजी सर्जमिन मुचुल्काको आधारमा सिफारिस गरी गराई सोही सिफारिसको आधारमा जेठीआमा मायादेवी बस्नेतका नामका जग्गा भरत बहादुर बस्नेतका नाममा नामसारी दाखिला गर्ने जालसाजपूर्ण कार्य गरी भएको रहेछ,’ फिरादपत्रमा केदारले उल्लेख गरेका छन् ।
फिरादपत्रमा भनिएको छ, ‘म फिरादी केदार बस्नेतलाई मृत्यु भइसकेको भनि मिति २०७५ असोज १७ मा सिफारिस गर्दा सिफारिस व्यहोरामा कान्छी आमाबाट जन्मेका छोराहरू केदार बहादुर बस्नेत र पर्शुराम बस्नेतको मिति २०५८/८/१४ गते मृत्यु भएको भन्ने व्यहोरा उल्लेख छ ।’
आफ्नो भाइ पर्शुरामको पनि २०६७ मंसिर १३ गते मृत्यु भएको विषयलाई समेत २०५८ मंसिर १४ गते उल्लेख गरिएको केदारले बताए । केदारले वडाध्यक्ष पोखरेलसहित सर्जिमिन मुचुल्कामा सही छाप गर्ने १० जनालाई विपक्षी बनाएका छन् । ‘वडाध्यक्ष कुमार पोखरेलले सर्जमिन गर्दा र जग्गा नामसारी दाखा गर्न सिफारिस गर्दा एक–आपसमा मिलेमतो गरेर मलाई मृत्यु भएको हो होइन भन्ने विषय समेत कसैले बुझ्न आवश्यक ठानेको देखिएन,’ बस्नेतले भने, ‘म नेपाल प्रहरीमा कार्यरत रहेको भन्ने कुरा सबै दायाँबायाँ छरछिमेक नातागोता ईष्टमित्रलाई थाहा जानकारी थियो । त्यस्तो अवस्था बुझ्नै नलागी म जीवित व्यक्तिलाई मृत्यु भएको भनेर हुँदै नभएको व्यहोरा हो भनेर झुटा सिफारिस गरेको देखियो,’ उनले फिरादपत्रमा भनेका छन् ।
सर्जिमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १९ गते नै मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो । उक्त घटना आफूले २०८२ जेठ ११ गतेमात्रै थाहा पाएको केदारले बताएका छन् । उनले विपक्षीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७९ को उपदफा (३) बमोजिम हदैसम्मको कैद र जरिवाना दुवै सजायको माग गरेका छन् ।
भरतबहादुरले भने २०७५ असोज ११ गते वडा कार्यालयमा सर्जमिन सिफारिस गरिपाउँ भन्ने निवेदन पेस गरेका थिए । उक्त निवेदनमा पनि केदार बस्नेत र पर्शुराम बस्नेतको मृत्यु भइसकेको उल्लेख गरेका छन् । निवेदनमा उनले केदार र पर्शुरामहरूको मृत्यु भइसकेको र अंश लिइ छुट्टी सकेको दाबी गरेका छन् । सोही निवेदनका आधारमा वडा कार्यालयले २०७५ असोज १७ गते सर्जिमिन गरिदिएको हो । जसमा वडासचिव थापाले काम तामेल गरेका छन् भने वडाध्यक्ष पोखरेलले असोज १९ गते रोहबरमा हस्ताक्षर गरेका छन् ।
वडाध्यक्ष पोखरेलले भने सर्जिमिनमा हस्ताक्षर गरेको कारण परेको व्यहोर्नुपर्ने प्रतिक्रिया दिए । ‘हस्ताक्षर गरेको हो । सचिवले बनाएर ल्याएपछि मैले गर्नै पर्थ्यो । तर, त्यहाँ गल्ती भएको देखियो । सर्जिमिनमा सानो त्रुटिमात्रै भएको हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण