जनमतले बोलायो सचिवालय बैठक, सरकारबारे निर्णय लिने
सारांश
- जनमत पार्टीले बजेटबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ।
- पार्टीले सरकारलाई बाइपास गरेर बजेट ल्याएको भन्दै असन्तुष्टि जनाएको छ।
- जनतासँग गरेका वाचा पूरा गर्न नसके सरकारमा रहनुको औचित्यमाथि प्रश्न उठ्ने कुरा प्रवक्ताले बताए।
काठमाडौँ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।
जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक तय भएको र सोही बैठकले सरकारसहितका समग्र विषयमा आवश्यक छलफल र निर्णय लिने रातोपाटीलाई बताए ।
'अहिले नै सरकार छाड्ने निर्णय भइसकेको छैन,' उनले भने, 'हाम्रो सचिवालय बैठक आइतबार १ बजेका लागि डाकिएको छ। डाक्टर साहब (सीके राउत) को हिजोको फेसबुक स्टाटसपछि जुन हल्ला चलेको छ, त्यो स्वाभाविक हो। जुन दलले नेतृत्व गर्यो, आफ्नो भिजन प्रस्तुत गर्यो, विकासको मोडालिटी दियो । तर आगामी बजेटबाट जनमतको सरकारमाथि जुन अपेक्षा थियो । त्यो चिज भएन ।"
उनले थपे, 'त्यो भिजनरी बजेट आउनुपर्ने थियो, तर आउन सकेन। अर्थ मन्त्रालय, भौतिक योजना मन्त्रालय जनमतसँग नहुँदा पनि मुखिया त जनमतको हो । हामीले काम गर्न सकेनौं भने त बदनामी त जनमत पार्टीको हुन्छ। त्यही चिजहरूलाई नै डाक्टर साहबले इङ्गित गर्नुभएको हो।'
उनले पार्टीले जनतासँग गरेका वाचाहरू बजेटमार्फत पूरा गर्न नसके सरकारमा बसिरहनुको औचित्यमाथि प्रश्न उठ्ने बताए। उनले भने, 'अहिले त मान्छेले गाली गरिरहेका छन्, डाक्टर साहबकै पोस्टमा 'किन सरकारमा बसिरहेको?' भनेर । जनताले भन्छन् नि त।'
मधेस प्रदेशमा जनमत पार्टीका १३ जना प्रदेश सभा सदस्य रहेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री पनि जनमत पार्टीको हुनु र अपेक्षित परिणाम दिन नसक्दा पार्टीमाथि नैतिक दबाब बढेको यादवको भनाइ थियो। उनले भने, 'गुण र दोषको आधार जे भए पनि त्यो हामीले जिम्मा लिनुपर्छ। यो चाहिँ अलिकति गम्भीर रूपमा पार्टीले लिएको छ।' आजै जनमत मधेस प्रदेश संसदीय दलको बैठक पनि बसेको थियो । उक्त बैठकमा यसबारे सामान्य छलफल भएपनि सबै विषयको निर्णय गर्न सचिवालयलाई नै जिम्मा दिने निर्णय भएको एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण