बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेपछि टिकटकर रमा बस्नेतविरुद्ध मुद्दा

बिहीबार, १२ असार २०८२, १७ : १३
बिहीबार, १२ असार २०८२

सारांश

  • भक्तपुरकी टिकटक प्रयोगकर्ता रमा बस्नेतविरुद्ध प्रधानमन्त्री, गृहमन्त्री र गगनकुमार थापाविरुद्ध द्वेष फैलाएको आरोपमा मुद्दा दर्ता भएको छ।
  • बस्नेतले टिकटक भिडियोमार्फत नेताहरूको चरित्रहत्या गरेको र १ लाख जरिवाना वा ५ वर्षसम्म कैद सजायको माग गरिएको छ।
  • प्रहरी प्रतिवेदन अनुसार, बस्नेतले गृहमन्त्री र सांसदविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ।

काठमाडौँ । गत असार १ गते पक्राउ परेकी खोटाङ घर भई भक्तपुर बस्ने टिकटकर रमा बस्नेतविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । गृहमन्त्रालयको पत्रप्रति प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐनअन्तर्गत कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।

सरकारी वकिलले दायर गरेको अभियोग पत्रमा बस्नेतले टिकटक भिडियोमार्फत प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धका भिडियो बनाइ घृणा, द्वैष फैलाइ चरित्रहत्या गरेकाले १ लाख जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै हुनुपर्ने माग दाबी गरेको छ ।

भिडियो क्याप्सनमा रमेश लेखक लेखेर बनाएको भिडियो र कांग्रेसका महामन्त्री थापाको फोटोसहित अपलोड गरिएको अर्को भिडियोलाई मुद्दा चलाउनुको मुख्य कारण सरकारी वकिलले देखाएको छ । 

अभियोग पत्रमा उल्लेख गरेअनुसार बस्नेतले ती दुई भिडियोमा यसरी बोलेकी छन्–

पहिलो भिडियो – नेपालका होनहार गृहमन्त्री रमेश लेखकको लागि । यो मान्छे पहिला गृहमन्त्री हुँदाखेरी नियुक्ति हुने बित्तिकै, मैले यो मान्छेको भिडियो बनाएको थिएँ । यो मान्छे गृहमन्त्री हुनु नै जनताको दुर्भाग्य हो भनेर मैले बनाएको थिएँ । यो मान्छे कुनै पनि भिजन छैन । यो दुई तिहाईले बनेको सरकारले, स्वार्थले बनेको सरकारले मान्छे छानेर नियुक्ति गराइयो । किनभने उनीहरूसँग मिल्ने मान्छे मात्रै, पार्टीमा मिल्ने, घुस खाने मान्छे मात्रै उनीहरूसँग मिल्छ र उनीहरूसँग सबै कुरामा फिट हुन्छ भन्ने कुरा थाहा थियो ।

यदि मैले बोलेको कुराहरू तपाईँलाई पत्यार लाग्दैन भने मैले विगतमा बनाएको भिडियो चाहिँ गृहमन्त्रीमा नियुक्ति हुने बित्तिकै बनाएको भिडियो हेर्नुस् । यो कुरो छर्लङ्गै तपाईँहरूले पाउनुहुन्छ, यो मान्छेले कुनै पनि सिद्धान्त बोकेर आएको छैन । यसले कुनै पनि विकास गर्दैन, यसको कुनै भिजन छैन, यसले आफ्नो अवधि हुन्जेलसम्म पोल्टो भर्छ, भ्रष्टाचार, एक नम्बरको भ्रष्टाचार गरेर यो मान्छे आफैँ साइड लाग्छ । यसको पोल्टो भरेपछि र यसको किलकिलेसम्म आउन्जेल एल्ले खाएपछि यो आफैँ साइड लाग्छ, यो जनताको लागि गृहमन्त्री भएकै होइन । 

यो पार्टीको लागि गृहमन्त्री भएको व्यक्ति हो भनी मैले पहिले भनेको थिएँ, ठोकुवा दिएर भनेको थिएँ, बुझ्नु भयो नि, त्यही निस्क्यो होइन त । एयरपोर्ट एक दिनमा दैनिकी पचास लाख गृह मन्त्रालयमा बुझाउँछ रे, यो कुरा अनि सरकारले यो कुरा के गरेर बसेको छ, कानमा के रुवा हालेर बसेको छ ? अब केपी चोरको लागि त यही गृहमन्त्री ठिक छ किन भने चोरलाई चोर नै मन पर्छ । राम्रो मान्छे त मन पर्दै पर्दैन ।’

दोस्रो भिडियो– अब कल्लाई फसाउन सकिन्छ भनेर कुरा मिलाउँदै हो, बाख्रा कि के हो ? प्रमाण हराएको मान्छे, भ्रष्टाचारी, देशद्रोही ।

यी दुई भिडियोले प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापाको अपमान र बेइज्जत गरी द्वेष फैलाएको भन्ने प्राविधिक प्रहरी निरीक्षक राजेश सिंहको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो । 

प्रहरीसामु बयानका क्रममा बस्नेतले देशको गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सदनलगायत जनमानसमा प्रश्न उठे पनि अनुसन्धानमा सघाउन राजीनामा नदिएकाले पहिलो भिडियो बनाएको बताएकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दुःख दिइएको, प्रमाण छ भन्ने नेता थापाले प्रमाण पेस गर्न नसकेको हुँदा चित्त नबुझी भिडियो बनाएको बताएकी छन् ।

अभियोग पत्रमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७(१) बमोजिम सजायको माग गरिएको छ । साथै बस्नेतका साथबाट बरामद दुई थान मोबाइल जफत गर्न पनि माग गरिएको छ । उक्त दफामा ५ वर्ष कैद वा एक लाख जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप