युवा शक्तिलाई बेचेर खाने राज्यको नीति ‘करेक्सन’ हुनुपर्छ : विप्लव
सारांश
- नेकपाका महासचिव विप्लव कपिलवस्तुमा धान रोप्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुटेका छन्।
- पार्टीले कृषिमा जोड दिँदै आगामी १० वर्षमा देशलाई आत्मनिर्भर बनाउने विश्वास लिएको छ।
- विप्लवले राज्य र किसानबीचको खाडल, आधुनिकीकरणको अभाव र विषादी समस्यालाई कृषिमा चुनौतीका रूपमा औंल्याए।
एकीकृत समाजवादी क्रान्तिसँगसँगै उत्पादन नीतिलाई अवलम्बन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ यतिवेला कपिलवस्तुमा धान रोपाइँमा व्यस्त छन् । केन्द्रीय नेतृत्वदेखि स्थानीय समितिसम्म अनिवार्य श्रममा जोडिने पार्टी नीति अनुसार नेकपाले असार १० गतेदेखि साउन १० गतेसम्म एक महिने उत्पादन अभियान सञ्चालन गरेको छ ।
हिमाल, पहाड र तराईमा गरी देशभर करिब १२० बिघा जमिनमा अन्न, तरकारी र फलफूल खेती गर्दै आएको नेकपाले गत वर्षदेखि आर्थिक बचत हुन थालेको दाबी गरेको छ । कृषिमा अबको १० वर्ष मेहनत गरेमा देशलाई नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने नेकपाको विश्वास छ ।
आत्मनिर्भर कृषि उत्पादन, आधुनिकीकरण, उत्पादनको प्रतिफल बाँडफाँटका साथै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि पार्टीको आगामी मार्गचित्र के छ ? यसै विषयमा विप्लवसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ– विप्लवसँग गरिएको कुराकानीको सम्पादित अंशः
- आज असार १५ भनेर सामाजिक सञ्जालभरि धान दिवसको प्रचारप्रसार गरिरहेका छन् । तपाईं वास्तविक रूपमै श्रममा भिजिरहनुभएको छ । देशलाई कसरी आत्मनिर्भर बाटोमा लैजाने योजना छ ?
यसको दुई वटा पाटो छ । पहिलो, आज असार १५ गते हाम्रा पितापुर्खाहरूले मौसमलाई हेरेर, सबै हिसाबकिताब गरेर आजबाट जसरी एउटा उभौली जस्तो, रोपाईं सुरु गर्ने दिनको रूपमा छनोट गरे । यो एकदमै वैज्ञानिक देखिन्छ । आज पानी परिरहेको छ देशैभरि । रातोपाटी, देशका सबै किसान, मजदुर, श्रमिकहरूलाई हाम्रो शुभकामना छ ।
दोस्रो, नेपाल कुनैवेला आत्मनिर्भर नै थियो । त्यसबेला उत्पादन सम्बन्ध, कृषि प्रणाली आदि इत्यादिको हिसाबले अलिकति पछाडि परेको भए पनि कम्तीमा खाद्यान्नमा, खानपिनमा हाम्रा पितापुर्खा आत्मनिर्भर नै थिए । देशको स्वाभिमान र स्वाधीनता पनि उच्च नै थियो ।
पछिल्लो समयमा पुँजीवाद, दलाल पुँजीवादको प्रवेशसँगसँगै आत्मनिर्भरतामा एउटा ठुलो समस्या आइरहेको छ । यो सबैले महसुस गरेको, तपाईंले भनेजस्तै कुरा हो । हाम्रो पार्टीले चाहिँ दलाल पुँजीवादलाई हल गर्ने, यो परनिर्भरता, परजीवीता, गुलामीलाई हल गर्ने हो भने हरेक परिवार, हरेक संस्था, त्यसपछि समाज, देशले आर्थिक क्षेत्रमा र विशेषतः कृषि क्षेत्रमा आत्मनिर्भरतालाई आत्मसात् गर्नुपर्छ । एउटा समय लगानी गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ । हामीले लगानी गरिराखेका छौँ । गएको डेढ वर्षमा लगभग–लगभग पार्टीलाई खान पुग्ने हामीले बनाइसक्यौँ ।
- पार्टीलाई मात्र खान पुग्ने तपाईंले जुन अभ्यास सुरु गर्नुभयो, अब देशलाई पराधीनबाट मुक्त गराउन र अर्थतन्त्र शक्तिशाली बनाउनलाई कृषि पेसाबाट सम्भव छ कि छैन ?
अवश्य छ । मलाई लाग्छ नेपालमा १०–२० वर्षको समय भनेको कृषिलाई नै मुख्य जोड दिनुपर्ने समय हो । राज्यले, संस्थाले, व्यक्तिले, जसले पनि किनकि जहाँबाट हाम्रो अर्थतन्त्र सुदृढ हुन्छ, राम्रो हुन्छ, त्यसबाट नै हामीले जोड दिनुपर्छ । त्यस हिसाबले नेपालको आत्मनिर्भरतामा अगाडि बढ्ने, हैन, सफलता हासिल गर्ने मुख्य पाटो भनेको पहिला कृषि नै हो । यो हाम्रो निष्कर्ष छ । त्यसैले, तर फेरि अब पार्टीलाई आत्मनिर्भर बनाउनु भनेको कुनै न कुनै कोणबाट राज्यप्रतिको हाम्रो योगदान पनि हो भनेर बुझ्नुपर्छ जस्तो लाग्छ ।
- कृषिलाई आत्मनिर्भर अर्थतन्त्र बनाउन समस्या कहाँ–कहाँ रहेछन् ? गर्नुपर्ने के–के रहेछन् ?
पहिलो कुरा राज्य र किसानहरूको बिचमा ठुलो दरार छ । राज्य हराएको जस्तो छ । वास्तवमा कृषि क्षेत्रका योजना, अनुदान वास्तविक किसानको बिचमा कसरी पुर्याउने भन्ने आजको एउटा ठुलो चुनौती देखिन्छ ।
दोस्रो कुरा, यान्त्रिकीकरण, त्यसपछि आधुनिकीकरण, वैज्ञानिकीकरण भनेर जो हामीले भन्छौँ, त्यसलाई योजनामा ढालेर कार्यान्वयन गर्ने पाटोमा राज्य निकै पछि छ । राज्य मात्र होइन, नागरिकहरूमा पनि ज्ञानको अभाव छ । पछिल्लो समयमा त बिस्तारै अलिकति जागरण पनि आएको देखिन्छ, बढेको देखिन्छ । पूर्व–पश्चिम हेर्दाखेरि कृषिमा चाहिँ पहिलेको भन्दा परिवर्तन आइराखेको देखिन्छ, त्यो राम्रो कुरा हो । तर राज्यले त्यसलाई जोड्न सकिरहेको छैन । यो एउटा ठुलो एउटा समस्या हो ।
त्यसपछि व्यवसायीहरूको बिचमा अन्तक्र्रिया, अन्तर्घुलन, सहकार्य पनि कमजोर छ नेपालमा । ज्ञानहरूको बिचको आदान–प्रदान गर्ने कुरा, एकताबद्ध भएर समस्याहरूलाई उठान गर्ने र निदान गर्ने कुराहरूमा पनि समस्या देखिन्छ । तर गर्दाखेरि त राम्रो छ । मुख्य कुरा त फेरि राम्रो सम्भावनाको पाटो नै मुख्य देख्छौँ हामी ।
- अहिले हरेक नेपालीको भान्सामा तरकारीमार्फत विष भित्रिरहेको छ । यसका कारण आजको पुस्ता क्यान्सर लगायत दीर्घकालीन घातक रोगको जोखिममा देखिन्छ । यसबाट बच्न वा निराकरण गर्नेबारे के नीति बनाउनुभएको छ ?
हाम्रो अधिकतम जोड विषादीमुक्त कसरी गर्दै जाने र बिस्तारै रासायनिक मललाई कम कसरी गर्ने भन्नेमा छ । प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजाने योजना हाम्रो छ । हाम्रा खेतहरूमा रासायनिक मलको प्रयोग हामीले बिस्तारै घटाउँदै लगेका छौँ । प्राङ्गारिक मल पनि राख्दै गएका छौँ । यसलाई विभिन्न विधिहरूद्वारा हल गर्नेछौँ । अहिले त्यसैगरी कोसिस गरिराखेका छौँ ।

मुख्यतः हाम्रो केन्द्रीय कम्युनमा अहिले गाई पनि छन् र प्राङ्गारिक मल बनाउने ज्ञान पनि साथीहरूले सिकिराखेका हुनाले मलाई लाग्छ, दुई–तीन वर्षभित्र यो राम्रो हुन्छ ।
- सबैले बुझ्ने भाषामा विप्लवको भिजन, कृषि क्रान्तिमा नेकपाको आगामी योजना के हो ? कति बिघामा खेतीपाती गरिरहनुभएको छ ? हिउँद र बर्खामा के गर्नुहुन्छ ?
मुख्यतः अहिले हाम्रो उत्पादन अभियान यो वर्षे बालीमै हुन्छ । यो वर्ष ५० प्रतिशतले वृद्धि हुने हामीले आशा गरेका छौँ । न्यूनतम पनि ५० प्रतिशत । पोहोर साल हाम्रो १७ सय क्वीन्टल फलेको हो । यसमा अहिले ५० प्रतिशत वृद्धि भएर २५ सय वरिपरि, २३ सय, २४ सय वरिपरि पुग्ला भन्ने छ किनकि जमिनहरूको मात्रा पनि देशैभरि पोहोर १२० बिघा थियो । अहिले त्यो बढेर मोटामोटी १४०–५० बिघा पुग्ला भन्ने अनुमान गरिएको छ । पहिलो कुरा यो भयो ।
दोस्रो कुरा, देशलाई समृद्धिमा लैजाने कुरा छ । समृद्धिभन्दा मुख्य जोड दिनुपर्ने भनेको आत्मनिर्भरता हो । आत्मनिर्भरताको निम्ति एउटा कृषि अर्थतन्त्र हो, अर्को औद्योगिक अर्थतन्त्र हो । हामीले दुइटै खुट्टाले हिँड्ने नीतिलाई पक्रनुपर्छ । त्यसैले हामीले कृषिबाट आत्मनिर्भरता, औद्योगीकरण र बजार वा व्यापारबाट चाहिँ समृद्धि । यो तरिकालाई हामीले आत्मसात् गर्यौँ, प्रयोग गर्यौँ भने नेपाललाई ८–१० वर्षमा एउटा नयाँ चित्र दिन सकिन्छ भन्ने हाम्रो आत्मविश्वास छ ।
यो कुरा हामीले कुनै बोलेर, सिद्धान्तको कुरा, समाजवादको रटान लगाएर मात्रै हुने देखिँदैन । यसलाई आफ्नो जीवन व्यवहारमा कसरी बदल्ने, अनि दैनिक जीवन व्यवहारमा पार्टीलाई, समाजलाई कसरी आत्मनिर्भर बनाउने भन्नेतिर नै जोड गर्नुपर्छ भनेर नै हामी उत्पादनमा सहभागी बनेको हो । यो कुनै नीतिगत कुरा होइन । नीतिगत ढंगले कम्युनिस्टहरूले भनिराखेको कुरा हो । ठुलो कुरा भएन । तर यस नीतिलाई व्यवहारमा, सिद्धान्तलाई व्यवहारमा कसरी रूपान्तरण गर्ने भन्ने आजको मुख्य विषय हो । त्यसमा हाम्रो पार्टी, हाम्रो नेता–कार्यकर्ताले कठोर मेहनत गरिराख्नुभएको छ । हामीले भनेका छौँ– कडा मेहनत र सरल जीवन । अध्ययन–अनुसन्धानमा जोड दिऔँ । यो कुरालाई हामीले पक्रियौँ भने ५–७ वर्षमा नेपालमा ठुलै परिवर्तन देखिन्छ ।
अहिले नेता–कार्यकर्ता लागिराख्नुभएको छ । हामीले नेपाली जनतालाई पनि अपिल गरेका छौँ– एकचोटि देशको सेवा गर्ने मौका दिनुभयो भने जसरी हामीले डेढ–दुई वर्षमा पार्टीलाई आत्मनिर्भर बनाउनतिर गइराखेका छौँ । सफल भएका छौँ । ५–७ वर्षमा नेपाललाई आत्मनिर्भरताको एउटा राम्रो बाटो, मार्ग देखाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
- उत्पादनको बाँडफाँट केन्द्रीय कमिटी, स्थानीय कमिटी बिचमा कसरी हुन्छ ?
उत्पादनमा आर्थिक एउटा सिद्धान्त पनि छ हाम्रो, एकीकृत स्वामित्व भन्ने । पहिलो कुरा, संस्था र निजी, दुइटै क्षेत्र यसमा सहभागी बन्छन् । हामीमा सामूहिक स्वामित्व मात्रै हुँदैन, यहाँ निजी स्वामित्व पनि अथवा निजी सहभागिता पनि हुन्छ । त्यसलाई हामीले एकीकृत स्वामित्व भनेका छौँ ।
सामूहिक स्वामित्वअन्तर्गत कसरी जान्छ भन्दाखेरि, सबै केन्द्रमा मात्रै आउँदैन । एउटा भाग केन्द्रमा, पार्टीमा आउँछ । एउटा भाग संस्थामा रहन्छ, सहकारीहरूमा या उत्पादन केन्द्रहरूमा । एउटा भागचाहिँ उत्पादन गर्ने श्रम शक्ति या हामी उत्पादक आफैँले पाउँछौँ । यसरी तीन खण्डमा जान्छ । केन्द्रमा सामान्यतया संस्थागत उत्पादनको ६० प्रतिशत आउँछ । ४० प्रतिशत सहकारी संस्था र लोकल कमिटीहरूमा रहन्छ । अनि त्यसबाहेक निजीले जति लगानी गरेको हुन्छ, त्यो निजीले लगानीअनुसार त्यसको मुनाफा अथवा उत्पादन पाउँछ ।
- पछिल्लो समय देशका युवा शक्ति खाडीमा पितापुर्खाले आर्जन गरेर राखिदिएको जमिनचाहिँ झाडीमा परिणत भयो भन्ने छ । अब सत्तामा गएको खण्डमा वा नगएको खण्डमा कस्तो नीति बनाउनुभएको छ ?
पहिलो कम्तीमा पनि २०–३० बिघा झाडीलाई हामीले खेत बनाइसक्यौँ । यो त लेखिदिनुहोला । खाडीतिर गएका झाडीलाई अहिले हामीले एउटा बारीमा बदलिसक्यौँ । यति त हामीले गरेका छौँ । बाँकी १४०–५० बिघामा पनि कुनै न कुनै ढंगले बाँझा जमिनहरू नै हुन् । त्यो सबैलाई हामीले सदुपयोग गरेका छौँ । त्यति भए पनि राष्ट्रप्रतिको हाम्रो योगदान नै हो भन्ने लाग्छ ।
अर्को तपाईंले भनेजस्तो देशलाई अगाडि बढाउने अथवा जमिन खाली भइराखेको बेलामा कसरी सोच्नुपर्छ भन्दाखेरि राज्यले युवा शक्ति पलायन गर्ने नीतिलाई पूरै करेक्सन गर्नुपर्छ । युवा शक्तिलाई बेचेर खाने, भाषणमा सबैले विदेश पलायन हुनेको विरोध गर्ने, तर व्यवहारमा लखेट्ने अथवा पलायन गराउने जुन नीतिहरू आइरहेको छ, अहिले गाउँघरमा पनि सरकारका संस्थाहरू नै खुलेको देखियो । श्रम मन्त्रालयअन्तर्गत युवाहरूलाई वैदेशिक रोजगारमा पठाउनको लागि विभिन्न संस्थाहरू खोलेर सहजीकरण गर्ने नाममा वा सहजकर्ताको काम गरिराखेको देखियो । त्यसैले राज्य नै एक प्रकारले माफियाकरण या बिचौलियामा बदलिन खोजेको देखिन्छ, त्यसलाई रोक्नुपर्छ ।
हामीले लगातार ५–७ वर्ष मेहनत गर्यौँ र नेपाली जनताले विश्वास गर्यो भने, युवाहरूले मद्दत गरेको खण्डमा एउटा अग्रगामी, प्रगतिशील शक्तिहरूलाई पनि साथमा लिएर राज्य निर्माण गर्न सक्छौँ । हामी एक्लै गर्छौं भन्ने होइन, देशभक्त, अग्रगामी, त्यसपछि गएर प्रगतिशील, कम्युनिस्ट, समाजवादी शक्तिहरूलाई लिएर राज्य निर्माण गर्न सक्छौँ भन्ने हामीसँग पूरा आत्मविश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण