नेपाल–भारत सीमामा बस्ने नागरिकलाई विशेष सुविधा दिन माग
सारांश
- नेपाल-भारत सीमाका बासिन्दालाई विशेष सुविधा दिन सरोकारवालाहरूले जोड दिएका छन्।
- खुला सीमा संवाद कार्यक्रममा वक्ताहरूले सीमालाई दुई देशबीचको सम्बन्धको सेतुको रूपमा व्याख्या गरे।
- वक्ताहरूले शिक्षा, स्वास्थ्य, व्यवसाय र पूर्वाधार विकासमा दुवै देशका सरकारले प्राथमिकता दिनुपर्ने बताए।
काठमाडौँ । नेपाल–भारतको सीमा बस्ने बासिन्दालाई लक्षित गरी दुवै देशका सरकारले विशेष सुविधाको व्यवस्था गर्नुपर्ने कुरामा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल–भारतबिचको सीमा केबल सीमा मात्र नभएर दुई देश बिचको सम्बन्धको सेतु रहेको कुरा उनीहरूले दर्साएका छन् ।
नेपाल भारत खुला सीमा संवाद समूहले रुपन्देहीमा शनिबार आयोजना गरेको ‘खुला सीमा: परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था’ विषयक जनसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरा दर्साएका हुन् । कार्यक्रममा समूहका अध्यक्ष डा. राजीव झाले नेपाल–भारतको खुला सीमा केवल भौगोलिक विशेषता नभई सांस्कृतिक, पारिवारिक र ऐतिहासिक सम्बन्धको जीवित प्रतीक भएको धारणा राखे ।
भाषा, धर्म, रीतिरिवाज तथा पारिवारिक नातागोता यति घनिष्ठ भएकाले यो सम्बन्धलाई कृत्रिम रूपमा छुट्टाउन नसकिने बताउँदै उनले खुला सीमाले सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको र सीमा क्षेत्रमा व्यापार, रोजगारी, स्वास्थ्य उपचार तथा पारिवारिक आवत जावतलाई समेत सहज बनाउने बताए । उनले सीमा क्षेत्रमा दुवै देशका सरकारहरूले विशेष व्यवस्था गरी त्यहाँका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यवसाय र पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा राखे।
संविधानसभा सदस्य तथा पूर्व मन्त्री ओमप्रकाश गुलजारीले नेपाल–भारत सम्बन्धलाई राम–सीताको सम्बन्धको संज्ञा दिँदै कसैले चाहेर पनि यो सम्बन्ध तोड्न नसक्ने बताए। उनले नेपाल सरकारले कतिपय अवस्थामा सीमा प्रशासनलाई प्रयोग गरी भारतसँगको सम्बन्ध बिगार्ने प्रयास गरेको र यस्ता प्रयास सफल नहुने बताए ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले ऐतिहासिक दृष्टिले अङ्ग्रेजहरूले नेपाल–भारतको सीमालाई कृत्रिम रूपमा बाँडेको स्मरण गराउँदै युरोपले युरोपियन युनियनमार्फत २६ देशको सीमा खुला राखेर प्रगति गरेको उदाहरण प्रस्तुत गरे। रामायणकालीन समयमा जातीय व्यवस्था नरहेको र पश्चिमाहरूले ग्रन्थ चोरेर त्यसमा हस्तक्षेप गरी जातीय व्यवस्था लादेको टिप्पणी समेत उनले गरे । लुम्बिनी प्रदेशका प्रदेश सांसद कन्हैया बानियाँले केही युवाहरूले तारबारको कुरा गरे पनि बहुसङ्ख्यक जनताको भावना खुला सीमाप्रति नै रहेको बताए ।
उनले पनि नेपाल र भारतका दुवै सरकारले सीमा क्षेत्रको समग्र विकास र बासिन्दालाई लक्षित विशेष सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । साथै सीमामा बसोबास गर्ने समुदायलाई दुवै देशका सरकारले विशेष सुरक्षा, परिचयपत्र प्रणाली, शिक्षा र रोजगारीका अवसर, आपत्कालीन राहत जस्ता विशेष व्यवस्था गर्नुपर्ने धारणा राखे ।
नेपाल भारत खुला सीमा संवाद समूह, बाँकेका अध्यक्ष प्रशान्त गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनमत पार्टीका नेता भूपेन्द्र यादवले मधेसी समुदायले अपेक्षाकृत भारतीय सहयोग नपाएको गुनासो गरे भने नेपाल भारत दलित मैत्री सङ्घका अध्यक्ष ओमप्रकाश विश्वकर्माले भारतले नेपालका लागि सधैँ असल मित्रको भूमिका निर्वाह गर्दै सहयोग जारी राखेको उल्लेख गरे। नेपाल भारत मैत्री सङ्घका पूर्वअध्यक्ष मुरारीलाल अग्रवालले भारतले नेपालका लागि आफ्नै बजेटबाट समेत सहयोग रकम छुट्याएको प्रसङ्ग स्मरण गराए ।
गोपाल सेवा समितिका अध्यक्ष भरथरी यादवले खुला सीमाबाट त्यहाँका बासिन्दालाई हुने फाइदाका रूपमा उनीहरूले सहज रोजगारी, व्यावसायिक गतिविधि, सस्तो बजार पहुँच, आपत्कालीन अवस्थामा स्वास्थ्य उपचार र पारिवारिक भेटघाटलाई सहज बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण