चार प्रतिष्ठानमा राजनीतिक भागबण्डा : हाम्रालाई होइन, राम्रालाई छान्न जोड
सारांश
- स्वास्थ्य मन्त्रालयले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि आवेदन माग गर्दा ५५ वटा आवेदन परेको छ, तर वास्तविक आवेदकको संख्या ४५ छ।
- पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि उपकुलपतिविहीन थिए, जसमा पूर्वस्वास्थ्य सचिव र वरिष्ठ चिकित्सकहरूले आवेदन दिएका छन्।
- उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाइएको छ, र छनोट समितिले योग्यता, अनुभव र कार्ययोजनाको आधारमा उम्मेदवार छनोट गर्नेछ।
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदका लागि आवेदन माग गरेकोमा कुल ५५ वटा आवेदन परेका छन् ।
यद्यपि, दोहोरो आवेदन पनि परेकाले वास्तविक आवेदकको सङ्ख्या भने ४५ छ । दुई जनाले चार वटै प्रतिष्ठानमा र अन्य चार जनाले दुई–दुई वटा प्रतिष्ठानमा आवेदन दिएका हुन् । फरक–फरक प्रतिष्ठानमा दोहोर्याएर आवेदन दिनेहरूमा पूर्वस्वास्थ्य सचिवदेखि वरिष्ठ चिकित्सकहरूसम्म छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि उपकुलपतिविहीन थिए । पाटनका उपकुलपति प्राडा राजेशनाथ डंगोलको चार वर्षे कार्यकाल गत चैत्र २७ गते सकिएको थियो ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको कार्यकाल वैशाख २० गते र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल वैशाख २५ गते समाप्त भएको थियो ।
पद रिक्त भएको करिब दुई महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति नियुक्तिका लागि प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले गत जेठ १४ गते मन्त्रीस्तरीय निर्णयबाट उपकुलपति सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले असार ४ गते चार दिनको समयसीमा तोकेर आवेदन माग गरेको थियो ।
आवेदनको सङ्ख्या हेर्दा सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७, कर्णालीमा १५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वटा आवेदन परेका छन् ।
- दोहोरो आवेदन दिनेहरू
चारवटै प्रतिष्ठान अर्थात् पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा विष्णुप्रसाद अधिकारी र डा. लक्ष्मीनारायण सिंहले आवेदन दिएका छन् ।
यसैगरी डा. कालु शर्मा सुवेदीले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवेदन दिएका छन् भने प्राडा संगीता सिंह भण्डारी र प्राडा प्रह्लाद कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवेदन दिएका छन् ।
- योग्यतामा भिन्नता
मन्त्रालयले चारवटै प्रतिष्ठानका लागि फरक–फरक योग्यता र अनुभव तोकेको छ । कार्यविधिअनुसार कर्णालीबाहेक अन्य तीन प्रतिष्ठानका लागि योग्यता र अनुभव समान छ ।
पाटन, पोखरा र बीपी प्रतिष्ठानका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्रमा स्नातकोत्तर गरी प्राध्यापक पद वा मन्त्रालय सम्बद्ध निकायमा एघारौँ तह वा सोसरहको पदमा काम गरेको हुनुपर्नेछ ।
तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भने चिकित्साशास्त्रमा स्नातकोत्तर गरी कम्तीमा सहप्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा दशौँ तह वा सोसरहको पदमा काम गरेको अनुभव भए पुग्ने व्यवस्था छ ।
- क–कसले दिए आवेदन ?
चार प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन दिनेमा स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेका अनुभवी प्रशासकदेखि चिकित्सा क्षेत्रका चर्चित र विवादित व्यक्तिसमेत छन् । कुल ४५ आवेदकमा ४२ पुरुष र ३ महिला रहेका छन् ।
पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन दिएका छन् । उनीसँग लामो स्वास्थ्य प्रशासनको अनुभव छ ।
यस्तै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवेदन दिएका छन् । उनले आयोगमा रहँदा चिकित्सा शिक्षा सुधारमा उल्लेखनीय काम गरेका थिए । स्वास्थ्य सेवा विभाग र मन्त्रालयमा लामो समय काम गरेका पूर्वअतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवेदन दिएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति प्राडा संगीता भण्डारी सिंहले दुई प्रतिष्ठानमा आवेदन दिएकी छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले पनि दोहोरो आवेदन दिएका छन् । उनको अघिल्लो कार्यकालमा प्रतिष्ठान लामो समयसम्म आन्दोलित बनेको थियो ।
यसैगरी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रमेश कोइराला पनि आवेदक छन् । महिला आवेदकहरूमा डा. एलिजा श्रेष्ठ र सिर्जना श्रेष्ठको नाम छ ।
- ‘हाम्रा होइन राम्रालाई’
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. जीवन क्षत्री उपकुलपति नियुक्तिमा योग्य र अनुभवी व्यक्तिले प्राथमिकता पाउनुपर्नेमा जोड दिन्छन् । ‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि प्रतिष्ठानमा उपकुलपति छनोट गर्दा हाम्रा नभएर राम्रा र योग्यलाई छनोट गर्नुपर्छ,’ उनले भने । उनको भनाइमा प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिमा राजनीतिक हस्तक्षेप कदापि हुनु हुँदैन ।
यसैबिच चार प्रतिष्ठानमा राजनीतिक भागबण्डाअनुसार धरान र कर्णाली कांग्रेस तथा पाटन र पोखरा एमालेको भागमा परेको हल्ला बाहिरिएपछि चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य प्रतिष्ठानको शैक्षिक संरचना सुधारका लागि योग्य र अनुभवी व्यक्तिको विकल्प नभएको उनको भनाइ छ । उनले पहुँचका आधारमा नियुक्ति गर्दा प्रतिष्ठान कसरी व्यवस्थापकीय रूपमा भताभुङ्ग हुन्छ भन्ने उदाहरण बीपी प्रतिष्ठान रहेको भन्दै त्यसबाट सिक्न सुझाव दिएका छन् ।
- छनोट समिति
छनोट समितिका सदस्य तथा स्वास्थ्य सचिव विकास देवकोटाले आवेदन आइसकेकाले थप प्रक्रिया अघि बढ्ने बताएका छन् । उम्मेदवारहरूको योग्यता, अनुभव, अनुसन्धान र कार्ययोजनाको आधारमा छनोट गरिने उनको भनाइ छ ।
‘समितिले मापदण्ड र नियमावलीअनुसार उम्मेदवारहरूको प्रारम्भिक छनोट गर्नेछ,’ उनले भने, ‘सर्टलिस्टिङका आधारमा योग्यता पुगेकाहरूको सूची बनाउँछौँ ।’
छनोट समितिले योग्यताका आधारमा प्रक्रियागत रूपमा प्रत्येक प्रतिष्ठानका लागि तीन जनाको नाम कुलपतिसमक्ष पेस गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण