अनेक हन्डर खाएर उद्यमी बनेको जोडी : सय रुपैयाँको पुँजीबाट करोडको यात्रा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्षको ‘उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार’ झापा, दमकका रविन पोखरेललाई प्रदान गरेको छ । वैदेशिक रोजगारीमा नौ वर्ष बिताएर स्वदेशमा उद्यम गर्दै आएका ५० वर्षीय पोखरेललाई एक लाख ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर लगायतले पोखरेललाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
मलेसिया र दुबईमा नौ वर्ष बिताएका रविनलाई अन्तिम पटक विदेश जानबाट उनकी श्रीमती भूमिका दाहालले रोकेकी थिइन् । छुट्टीमा घर आएका रविनलाई विदेश फर्किन नदिन भूमिकाले ठुलो सङ्घर्ष गर्नुपरेको थियो ।
रविनलाई यहाँसम्म पुर्याउन श्रीमती भूमिकाको योगदान महत्त्वपूर्ण छ । उनकै अथक प्रयास र सङ्घर्षले रविन नेपालमै बस्न राजी भएका थिए । अहिले उनीहरू दुवै जनाको सङ्घर्षले दमकमा करोडभन्दा बढीको लगानीमा उद्यम गरिरहेका छन् ।
समाजको तिरस्कार, परिवारको असहयोग र शून्य आर्थिक अवस्थाबाट माथि उठेर उनीहरू आज करोडौँको उद्यम खडा गर्न सफल भएका छन् र सयौँलाई रोजगारी दिएका छन् । उनीहरूको सफलताको कथाको जग भूमिकाको एउटा दृढ विश्वासमा अडिएको छ– ‘विदेशबाट फर्केकालाई स्वदेशमा रोक्न पैसाले मात्र होइन, परिवारले वातावरण बनाउनुपर्छ ।’
- ‘वेश्यालय’ खोलेको आरोप
यो दम्पती यहाँसम्म आइपुग्नुमा भूमिकाको सङ्घर्ष र त्याग छ । २०५७ सालतिर ब्युटिसियनको तालिम लिएर काम थाल्दा उनले समाजबाट ताली होइन, गाली पाइन् । उनले समाजबाट मात्र नभई घरपरिवारबाटै अनेकन् लाञ्छना सहनुपर्यो । ‘यो त वेश्यावृत्ति हो’ भन्दै समाजले उनको परिवारलाई नै बहिष्कार गर्ने प्रयास गर्यो । ‘मेरो परिवारलाई समाजबाटै काटिएको थियो,’ उनी ती दिन सम्झिन्छिन्, ‘मैले छोएको पानी मेरो परिवारले दुई वर्षसम्म खाएन ।’
विवाहअघि नै ब्युटिसियनको काम गर्दा उनले माइतीबाट पनि राम्रो साथ र सहयोग पाएकी थिइनन् । त्यसपछि उनले रविनसँग मागी विवाह गरिन् । विवाहअघि रविनको परिवारबाट पार्लर खोल्न दिने र व्यवसायमा सहयोग गर्ने वचन पाएपछि उनी विवाहका लागि राजी भएकी थिइन् ।
विवाह गरेर रविनको घर पुगेपछि उनले झनै ठुलो समस्याको सामना गर्नुपर्यो । घरमै ब्युटीपार्लर खोलेपछि त ठुलै आपत्ति आइलाग्यो । उनको घरमा पार्लर खोल्न नदिन अनेकन् षड्यन्त्र भए ।
‘घरमा आइसकेपछि अब काममा फर्किने कुरा गर्दा ‘बुहारीले घर सम्हाल्नुपर्छ, बाहिर जान पाइँदैन, त्यो ब्युटिसियन पेसा राम्रो होइन, गर्न पाइँदैन’ भन्ने कुरा आयो,’ भूमिकाले भनिन् ।
घरपरिवारबाट यस्तो कुरा आएपछि उनी अन्योलमा परिन् । पहिलेदेखि नै आत्मनिर्भर उनलाई पैसा नहुँदा निकै गाह्रो हुन थाल्यो । श्रीमान् पनि वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका थिए । दुवै जना शून्य अवस्थामा थिए ।
‘त्यतिवेला म आफ्नो व्यक्तिगत खर्चका लागि परिवारबाट लुकेर इँटा र बालुवा बोक्ने काम गर्न समेत पुगेँ,’ भूमिकाले त्यो वेलाको सङ्घर्ष सुनाइन् । त्यसपछि उनले ‘संसारले जेसुकै भनोस्, म सही बाटोमा हिँड्छु, म आफ्नो सीप बेच्छु’ भनेर घरमै व्यवसाय सुरु गरिन् ।
विवाहपछि जब श्रीमान् रविन पहिलो पटक विदेशबाट फर्के, भूमिकाले उनलाई स्वदेशमै रोक्ने योजना बनाइसकेकी थिइन् । ‘उहाँ विदेशबाट फर्किने बित्तिकै मैले मोबाइल पसल खोलिदिएँ,’ भूमिका भन्छिन्, ‘मोबाइल म आफैँ मर्मत गर्थेँ, उहाँले व्यवस्थापन गर्नुहुन्थ्यो ।’
एक वर्षसम्म साथ दिएर व्यवसायमा अभ्यस्त बनाए पनि पारिवारिक र आर्थिक परिस्थितिले रविनलाई फेरि बिदेसिने निर्णयमा पुर्यायो । यो उनीहरूको जीवनको सबैभन्दा कठिन मोड थियो ।
भूमिका सानैदेखि चलाख थिइन् । एसएलसी दिएपछि नै उनी आयआर्जनमा लागिसकेकी थिइन् ।
‘मैले फेसन डिजाइन, डल–कुसन, ब्युटिसियन, सिलाई–कटाइ लगायत सात वटा विषयमा तालिम लिएकी थिएँ,’ भूमिकाले भनिन् । बिहेअघि नै उनको परिवारलाई समाजले बहिष्कार गरेको थियो । ब्युटिसियन पेसा छोरी मान्छेले गर्नु हुँदैन भन्दै समाजले उनको परिवारलाई एक्ल्याउन खोज्थ्यो ।
- पकेटमा २ हजार बोकेर विदेश उडेका रविन
२०६२ सालतिरको कुरा हो । छोरो जन्मेको ११ दिन मात्रै भएको थियो । रातिको २ बजे रविन घरबाट निस्किए । उनको पकेटमा जम्मा २ हजार रुपैयाँ थियो, त्यो पनि कुनै कमाइको होइन, गाउँलेले छोराको मुख हेरेर दिएको दक्षिणा थियो । ‘नानीको मुख हेरेको पैसा हुन्छ नि, गाउँघरबाट ५ रुपैयाँ, १० रुपैयाँ दिएको, त्यही पैसा हातमा राखिदिएर मैले उहाँलाई पठाएँ,’ भूमिका गह्रुँगो हुँदै सुनाउँछिन् ।
त्यतिवेला रविनलाई विदेश पठाउन ६० हजार रुपैयाँ मासिक पाँच प्रतिशत ब्याजमा ऋण लिइएको थियो । श्रीमान् विदेशिएपछि भूमिकाले घर चलाउन इँटा र बालुवा बोक्ने कामसमेत गरिन् ।
रविनले मलेसिया र दुबईमा गरी नौ वर्ष बिताए । सुरुमा मासिक ५०० रिंगिट कमाउने उनको कमाइ फर्किने वेलासम्म ७०० रिंगिट पुगेको थियो । तर, विदेशको कमाइले मात्र घर चल्ने अवस्था थिएन । उनले विदेशमा कमाएको पैसाले एउटा घडेरी किन्नेबाहेक ठुलो लगानी गर्न सकेनन् ।
छुट्टीमा घर आएका उनलाई भूमिकाले विदेश जानबाट रोकिन् । त्यसका लागि उनले सबैभन्दा पहिले ससुरालाई मनाइन् । ससुराले ‘नजा’ भनेपछि रविन विदेश गएनन् ।
- एक सय रुपैयाँबाट करोडको यात्रा
रविन छुट्टीमा घर आएका वेला यसपटक भने भूमिकाले उनलाई फर्कन दिइनन् । उनले ससुरालाई मनाइन् र ससुराले रविनलाई रोके । ‘म त एक महिनाको छुट्टीमा आएको थिएँ, उहाँले नै यहीँ केही गर्नुपर्छ भनेर रोक्नुभयो,’ रविनले भने ।
त्यसपछि सुरु भयो उनीहरूको उद्यमको वास्तविक यात्रा । ‘एउटा थ्रेडिङको धागो, एउटा कैँची र एउटा पाउडरको बट्टा,’ भूमिका भन्छिन्, ‘सुरुवात शून्यबाटै हो, १०० रुपैयाँबाट भन्नुपर्छ ।’

उनले घरको एउटा कुनामा प्लास्टिकको कुर्सीमा राखेर काम थालिन्, तर सङ्घर्ष रोकिएन । घरकै मान्छेले ‘यो वेश्यालय हो’ भन्दै उनको व्यवसायको बोर्ड फ्याँकिदिन्थे ।
‘मैले व्यवसाय घरमै सुरु गर्दा मेरो ब्यानरहरू सबै फ्याँकियो । बोर्ड, ब्यानरहरू परिवारका सदस्यबाटै फालिन्थ्यो । अहिले सम्झिँदा पनि रुन मन लाग्छ । काका ससुरा आएर ‘यो वेश्यालय हो’ भन्दै फ्याँकिदिनुहुन्थ्यो,’ उनले भनिन् ।
त्यही एक सय रुपैयाँको लगानी आज झापाको दमकमा ‘भूमिका सीपमूलक तालिम केन्द्र’ नामक करोडौँको उद्यममा परिणत भएको छ । उनीहरूको उद्योगमा फेसन डिजाइन, सिलाई–कटाई, ब्युटिसियन, कफी सप, अर्गानिक साबुन उत्पादन, ड्राइभिङ, डल–कुसन, बारिस्ता तालिम जस्ता २९२ प्रकारका क्षेत्रहरू छन् ।
हाल त्यहाँ ३५ जनाले स्थायी रोजगारी पाएका छन् भने २६५ जनाभन्दा बढीले अप्रत्यक्ष तथा अस्थायी रोजगारी पाएका छन्, जसमा महिलाको संख्या उल्लेख्य छ ।
‘जुन समाजले मलाई तिरस्कार गर्थ्यो, त्यही समाजले आज ‘छोरी हुनुपर्छ त फलानोको जस्तो’ भन्दा खुसी लाग्छ,’ भूमिका भन्छिन् । उनका ससुराले पनि अन्तिम अवस्थामा ‘घरको जिम्मेवारी तैँले सम्हाल्नू’ भनेर जिम्मा दिएको उनी गर्वसाथ सुनाउँछिन् ।
‘ससुराबुवा बित्ने वेलामा ‘तैँले घरको जिम्मेवारी सम्हाल्नू है, माया छोराछोरीको लाग्छ तर विश्वास तेरो लाग्छ’ भन्नुभयो,’ भूमिकाले सुनाइन् ।
- सफलताको सूत्रः सीप, साथ र निरन्तर सिकाइ
भूमिका र रविनको सफलताको पछाडि एकअर्काप्रतिको अटुट विश्वास र साथ छ । सुरुमा एसएलसी मात्रै पढेकी भूमिकाले श्रीमान् विदेश गएपछि र व्यवसायमा ठक्कर खाएपछि पढाइको महत्त्व बुझिन् । उनले वाणिज्यशास्त्रमा स्नातकोत्तर सकेर अहिले समाजशास्त्रमा फेरि स्नातकोत्तर गर्दैछिन् ।
रविनले विदेशमा कमाएर किनेको जग्गामै आज उनीहरूको तालिम केन्द्र ठडिएको छ । हाल रविन व्यवसायको व्यवस्थापन र लेखा परीक्षणको काम हेर्छन् भने भूमिका फिल्डमा खटिन्छिन् । उनीहरूका २१ वर्षीय जेठा छोरा पनि होटल म्यानेजमेन्ट पढेर अहिले आमाबुबाकै व्यवसायमा प्रशिक्षकका रूपमा काम गरिरहेका छन् ।
उनीहरूको उद्योगले उत्पादन गरेका ढाकाका कपडा, अर्गानिक साबुन र फेसनका सामग्रीहरू युरोपसम्म पुग्छन् । स्थानीय तह र विद्यालयसँग समन्वय गरेर उनीहरूले विद्यार्थीको झोलामा विद्यालयको लोगो राख्ने जस्ता सिर्जनात्मक काम पनि गरेका छन् । त्यसो गर्दा बालबालिकालाई लागुऔषधको जोखिमबाट समेत बचाउन मद्दत पुगेको भूमिकाको विश्वास छ ।
सरकारबाट ‘स्टार्टअप लोन’का लागि २५ लाख मागेकोमा ११ लाख मात्रै पाएको उनीहरूको गुनासो छ, तर पनि उनीहरू निराश छैनन् । ‘सुरुमा २० लाख रुपैयाँमा तालिम केन्द्र सञ्चालनमा ल्याएका थियौँ, तर अहिले यसमा लगानी एक करोडभन्दा बढी पुगेको छ,’ रविनको भनाइ छ ।
‘इच्छाशक्ति हुनुपर्छ, सानो लगानीबाट पनि ठुलो काम गर्न सकिन्छ,’ दुवै जना एकै स्वरमा भन्छन् ।
नेपालमा लगानीको वातावरण कमजोर रहेको उनीहरूको अनुभव छ । राज्य तथा बैंकहरूले समेत लगानीका लागि ऋण पत्याउन गाह्रो मान्ने गरेको उनीहरूले बताए ।
‘सहुलियत कर्जा पाए हामीलाई थप सहयोग हुन्थ्यो । धेरैलाई रोजगारी दिएर काम गर्न सजिलो हुन्थ्यो । तर, अहिले काम गर्न एकदमै असहज भइरहेको छ,’ भूमिकाले भनिन्, ‘महँगो ब्याजमा पैसा लिनुपरेको छ । थोरै पैसाले धानिरहेको छैन । सामान उत्पादन गरेर मात्र हुँदैन, बिक्री नहुने बजारको समस्या पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण