माधव नेपालविरुद्ध बोल्दा रामकुमारीसँग स्पष्टीकरण माग, कारबाहीको तयारी
सारांश
- नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ।
- झाँक्रीले पार्टी अध्यक्ष माधव नेपाललाई लक्षित गरी 'मरेको सिनो' शब्द प्रयोग गरेकी थिइन्।
- पार्टीमा झाँक्रीको अभिव्यक्तिबारे छलफल हुने र आवश्यक निर्णय लिइने बताइएको छ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेत्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।
झाँक्रीलाई आयोगले स्पष्टीकरण सोधिसकेको र प्राप्त हुने जवाफका आधारमा पार्टीमा छलफल भएर आवश्यक निर्णय हुने सचिव सोमप्रसाद पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार झाँक्रीको अभिव्यक्तिबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ । ‘उहाँको गलत अभिव्यक्तिबारे सचिवालय बैठकमा छलफल हुन्छ । उहाँले किन त्यस्तो शब्द प्रयोग गर्नुभयो यो गम्भीर विषय हो’, पाण्डेले भने, ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको छ । सायद जवाफ पनि आउला, सोहीअनुसार पार्टीमा छलफल र निर्णय हुन्छ ।’
अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने भनेर दिएको अभिव्यक्ति दिएकी थिइन् ।
अध्यक्ष नेपालमाथि मुद्दा दायर भएपछि नैतिकताको आधारमा उनले अध्यक्ष पदबाट समेत राजीनामा दिएर उच्च नैतिकता देखाउन सक्नुपर्ने आवाज पार्टीभित्र र बाहिर समेत उठिरहेका बेला झाँक्रीले सार्वजनिक रूपमा यस्तो बताएकी हुन् ।
झाँक्रीले प्रयोग गरेको ‘सिनो’ शब्द चयनको विषयलाई लिएर धेरै नेताहरूले आपत्ति जनाइरहेका छन् । नेताहरूले झाँक्रीको उक्त अभिव्यक्ति कुनै हालतमा जायज हुन नसक्ने र उनलाई कारबाही हुनुपर्ने मत राख्दै आएका छन् ।
शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै झाँक्रीले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी थिइन् ।
‘पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो, संकट आयो भनेर भाग्ने होइन । पार्टीलाई पुनर्गठन गरौँ । कसरी गर्ने ?,’ झाँक्रीको प्रश्न थियो । त्यसै क्रममा उनले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने उनको भनाइ थियो ।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनको भनाइ थियो ।
‘अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा जारी छ, नेतृ रामकुमारी झाँक्री मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्ने अभिव्यक्ति दिन्छिन् । अनि विद्यार्थी संंगठनमा समानान्तर कमिटी घोषणा हुन्छ भने पार्टी कसरी चलेको छ भन्ने स्वतः देखिएकै छ’, एक पदाधिकारीले भने, ‘हाम्रो पार्टीमा कचिङ्गल थपिँदै गएको छ ।’
ती नेताले भनेजस्तै पार्टीको भ्रातृ संगठन अनेरास्ववियुमा समानान्तर कमिटी गठन भएको छ । सोही अनेरास्ववियुमा झाँक्री इन्चार्ज छिन् ।
नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएसँगै विद्यार्थी संगठनमा पुरानै किचलो व्युँत्याएर भाँडभैलो मच्चिएको हो ।
अनेरास्ववियु अध्यक्ष महेश श्रेष्ठ छन् । श्रेष्ठसँग असन्तुष्ट बनेको समूहले न्यौपानेको अध्यक्षतामा असार १५ गते समानान्तर कमिटी गठन गरेको सार्वजनिक भएको हो ।
अध्यक्ष श्रेष्ठ पार्टी अध्यक्ष माधवकुमार नेपालनिकट मानिन्छन् भने समानान्तर कमिटीका अध्यक्ष न्यौपाने सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट भनेर चिनिन्छन् ।
गत पुसमा अध्यक्ष नेपाल पक्षले अनेरास्ववियू अध्यक्षबाट आरती लामालाई जिम्मेवारीबाट हटाएर श्रेष्ठलाई मनोनीत गरेको थियो ।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बस्ने केन्द्रीय सचिवालय बैठकमा पार्टीभित्र उठेका सबै विषयहरूबारे छलफल हुने रातोपाटीलाई बताए ।
पार्टी अध्यक्ष र संसदीय दलको नेता परिवर्तनबारे सोधिएको प्रश्नमा पाण्डेले भने, ‘माधव नेपाल संसदीय दलको नेताबाट स्वतः हट्नुभयो । किनभने उहाँको संसद पद निलम्बित भैसकेको अवस्था छ । त्यसकारण दलको बैठकमा उहाँ आउने अवस्था छैन’, उनले भने ।
अब पार्टीको वरिष्ठ उपाध्यक्ष र दलको उपनेता नै दलको नेता हुनेबाहेक अरू सम्भावना नरहेको पाण्डेको भनाइ छ । पाण्डे नै वरिष्ठ उपाध्यक्षका साथै दलको उपनेता पनि हुन् ।
‘व्यक्तिगत रूपमा माधव कमरेडले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ? यी सबै कुरा म अहिले बरिष्ठ उपाध्यक्ष भएको नाताले भन्दा मैले आफूले नै त्यो पद खोजेको जस्तो देखिनेगरी बोल्न उचित हुँदैन’, पाण्डेले भने, ‘जहाँसम्म नैतिकताको प्रश्न उठिसकेपछि पनि कसैले प्रश्न नउठाउँदै २०६४ सालमा दुई वटा निर्वाचन क्षेत्रबाट निर्वाचन हारिसकेपछि राजीनामा दिनुभयो ।’
२०६४ मा नेता नेपालले महासचिवबाट राजीनामा गर्दा आफूहरूसहित धेरैले ‘किन राजीनामा दिनुभएको ? नदिएको भए पनि हुन्थ्यो’ भन्दा समेत नमानेको पाण्डेले स्मरण गरे ।
‘नैतिकताको प्रश्न उठेपछि कसरी अघि बढ्नुपर्छ भनेर विवेक पुर्याउने उहाँ आफैले हो’, पाण्डेको भनाइ छ ।
यस्तै उनले नेतृ रामकुमारीको झाँक्रीको अभिव्यक्तिका सवालमा पनि बैठकमा छलफल र आवश्यक निर्णय हुने पाण्डेको भनाइ छ । उनले झाँक्रीमाथि अनुशासनको कारबाही हुने भन्दै एउटा राजनीतिक कार्यकर्ताले बोल्ने भाषा त्यस्तो नहुने बताए ।
‘उहाँ (रामकुमारी झाँक्री) लाई अनुशासनको कारवाही हुन्छ, गर्नुपर्छ’, पाण्डे भन्छन्, ‘एउटा राजनीतिक कार्यकर्ताले बोल्ने गति र भाषा त्यही हो त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण