मन्टुको ‘आतङ्क’विरुद्ध मिटरब्याज पीडित २० जनाले दिए उजुरी
सारांश
- विराटनगरका मिटरब्याजी सञ्जय प्रसाद रौनियार (मन्टु) विरुद्ध २० वटा उजुरी परेको छ।
- मन्टुले जेलबाट छुटेपछि पुरानै शैलीमा मानिसहरूलाई ऋण दिएर ठगी गरेको आरोप छ।
- पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन्।
विराटनगर । विराटनगरका चर्चित मिटरब्याजी सञ्जय प्रसाद रौनियार अर्थात् ‘मन्टु’, विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा २० वटा उजुरी परेका छन् । गरिब र असहायलाई ऋणको पासोमा पारेर करोडौँ असुली गरेको आरोपमा उनी यसअघि १६ महिना जेल बसेका थिए ।
२०७९ जेठमा उनले अदालतबाट सफाइ पाएका हुन् । १६ महिना जेल बसेपछि धेरैले उनको आतङ्क बन्द हुने अपेक्षा गरेका थिए, तर जेलबाट छुटेको दुई वर्षपछि मन्टु पुरानै धन्दामा फर्किएका छन् । जसको उदाहरण उनका विरुद्धमा परेका २० वटा उजुरी हुन् ।
विराटनगर–२ निवासी ५२ वर्षीया मन्जु शर्माको भोगाइले मन्टुको कार्यशैलीको पर्दाफास गर्छ । घरखर्च चलाउन मुस्किल परेपछि मन्जुले २०७१ सालमा मन्टुसँग ५० हजार रुपैयाँ ऋण लिइन् । तर, चलाख मन्टुले उनलाई ५० हजार दिएर २ लाख रुपैयाँको ‘कपाली तमसुक’मा सही गराए ।
त्यसपछि सुरु भयो मिटरब्याजको अनन्त चक्र । मन्जुले २०७७ सालसम्ममा सावाँ र ब्याज गरी कुल ३ लाख ५० हजार रुपैयाँ बुझाइन् । यो रकम जुटाउन उनले विराटनगर–२ स्थित आफ्नो ११ धुर जग्गासमेत बिक्री गरिन् । घरबारविहीन हुने अवस्थामा पुगेर ऋण चुक्ता गरेपछि उनले राहतको सास फेरेकी थिइन् । उनले आफ्नो तमसुक फिर्ता मागिन्, तर मन्टुले ‘३–४ महिनापछि दिन्छु’ भन्दै टार्दै गए । केही समयमै मन्टु ठगी र आपराधिक लाभको मुद्दामा जेल परे ।
‘जेल गएपछि पनि मैले उनको श्रीमतीलाई भेटेर कागज माग्न कारागारसम्म पुगेँ,’ मन्जुले भनिन् । उनीहरूले ‘पैसा तिरिसक्नुभयो, अब कागज चाहिँदैन, केही हुँदैन’ भनेपछि आफू ढुक्क भएको उनको भनाइ छ ।
तर, जेलबाट छुटेको दुई वर्षपछि २०८१ फागुन १३ मा मोरङ अदालतबाट उनलाई एउटा पत्र आयो । मन्टुले उनै मन्जुविरुद्ध ‘लेनदेन’ मुद्दा हालेका रहेछन्, जसमा २ लाखको सावाँ र ब्याज गरी ३ लाख ९९ हजार रुपैयाँ भराइपाउन माग गरिएको थियो ।
‘म त छाँगाबाट खसेजस्तै भएँ । तिरिसकेको पैसाको कागज देखाएर उल्टै मुद्दा हाल्दा कहाँ जाने ? के गर्ने ?’ मन्जुले भनिन् । उनी अहिले अदालतमा तारेख धाइरहेकी छन् र श्रीमान् तथा दुई नातिनीसँग भाडाको कोठामा बस्न बाध्य छिन् ।
मन्टु जेलबाट छुटेको कथा पनि फिल्मी शैलीकै छ । पीडितहरूले ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग’लाई दिएको उजुरीअनुसार, २०७७ सालमा १७ जना पीडितले मन्टुविरुद्ध ठगी र आपराधिक लाभको मुद्दामा जाहेरी दिएका थिए । सोही आधारमा उनी पक्राउ परी पुर्पक्षका लागि थुनामा गए ।
कारागारमा रहँदा मन्टुले आफ्नो महाजालको अर्को चरण सुरु गरे । उनकी श्रीमती ज्योति रौनियारले पीडितहरूलाई भेटेर एक–एक गरी फकाइन् । उनले भनिन्, ‘एकचोटिलाई माफ गरिदिनुस्, मुद्दा मिलाइदिनुस् । तपाईंहरूको ऋण लिएको तमसुक र पास गरिएको जग्गा सबै फिर्ता गरिदिन्छौँ ।’
_A6YioPpFic.jpg)
यो प्रस्तावमा सहमत गराउन मन्टुले कारागारबाटै मालपोत कार्यालयको डोर खटाएर पीडितको नाममा जग्गा फिर्ता पास गर्ने प्रक्रियासमेत अघि बढाए ।
आफ्नो जग्गा फिर्ता आउने भएपछि पीडितहरूले विश्वास गरे । उनीहरू अदालतमा गएर ‘हामीले आवेशमा आएर जाहेरी दिएका हौँ । यो ठगी होइन, लेनदेन नै हो’ भनी बकपत्र गरिदिए । यही बकपत्रलाई आधार मानेर २०७९ जेठ ९ गते तत्कालीन न्यायाधीश कपिलमणि गौतमको इजलासले मन्टुलाई सफाइ दियो ।
पीडितहरूले सोचे– न्याय पाइयो, तर यो मन्टुको सबैभन्दा ठुलो धोका थियो ।
जेलबाट छुटेपछि मन्टुले आफ्नो वास्तविक रूप देखाउन थाले । उनले पुरानै पीडितहरूलाई सम्पर्क गर्दै भने, ‘मैले जेलबाट फिर्ता गरिदिएको जग्गाको पैसा खोइ ? त्यो पैसा नतिरे म मुद्दा हाल्छु ।’
पीडित परमेश्वर कामतविरुद्ध मन्टुले मुद्दा हालेर फैसला आफ्नो पक्षमा पार्न सफलसमेत भए । यही फैसलालाई नजिरको रूपमा देखाउँदै उनले अन्य १७ जनालाई हुलाकमार्फत पत्र पठाएर धम्क्याउन थाले ।
पीडितहरू न्याय माग्न जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय पुगे । तर, त्यहाँ उल्टै हप्कीदप्की खेप्नुपरेको उनीहरूको गुनासो छ । पीडितहरूले प्रशासनमा दिएको उजुरीमा लेखिएको छ– जिल्ला सरकारी वकिल कार्यालयमा जाँदा तपाईंहरूले १० लाखभन्दा बढीको कारोबार नगदमै गर्नुभएको रहेछ, त्यो आफैँमा गैरकानुनी हो । खुरुक्क मन्टुको पैसा तिर्नुहोस्, नत्र तपाईंहरूलाई नै ठगी मुद्दा लाग्छ भनेर थर्काइयो ।’
प्रहरी कार्यालयमा पनि उस्तै व्यवहार भयो । पीडितहरूका अनुसार प्रहरीले भन्यो, ‘जाहेरी सरकारी वकिलले पठाएको हो । प्रमाण हेर्दा तपाईंहरूले पैसा तिरेको देखिँदैन, मुद्दा चल्छ, पैसा तिर्नुस् ।’
पीडितहरूको संख्या १२ बाट बढेर २० पुगेपछि उनीहरूले प्रशासनमा उजुरी दिए । प्रशासनले छलफलका लागि दुवै पक्षलाई बोलायो । तर, छलफलका क्रममा मन्टुले एक्कासी बेहोस भएको नाटक गरे र उनका मानिसहरूले उनलाई ‘उपचार गर्न’ भन्दै उठाएर लगे ।
प्रमुख जिल्ला अधिकारीले समेत ‘यो अदालतमा गएर मिलेको कुरा हो । लेनदेनको लिखतअनुसार अदालतले पैसा तिराउँछ नै । म केही गर्न सक्दिनँ’ भनेको पीडितहरू बताउँछन् ।
अहिले मन्टुबाट पीडित २० जना (पहिलेका १२ र नयाँ ८) एकजुट भएका छन् । गुलजार मिया, दिलीप कुमार मण्डल, संगीता कामत, सावित्रा प्रसाई, बेबी खातुन, मीना शाक्य, गणेश राय, अमित यादवजस्ता दर्जनौँ पीडितले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो पीडा सार्वजनिक गरेका छन् । उनीहरूले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा संयुक्त उजुरी दर्ता गराएका छन् ।
उनीहरुले मन्टुलाई तुरुन्त पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) बमोजिम अनुचित लेनदेनको कसुरमा कारबाही गर्नुपर्ने, मन्टुले गैरकानुनी रूपमा लिएको अतिरिक्त ब्याज र रकम फिर्ता गर्नुपर्ने, झुक्याएर बनाइएका सबै ‘कपाली तमसुक’ र लिखतहरू बदर गर्नुपर्ने, ऋण दिँदा नै धरौटी र सुरक्षणका नाममा हक हस्तान्तरण गरिएका जग्गाहरू फिर्ता दिनुपर्ने र राजनीतिक दलका प्रतिनिधि, पत्रकार र मानवअधिकारकर्मीको रोहवरमा निष्पक्ष छानबिन र छलफल गरिनुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण