बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैंकको सेयर मूल्य ४० रुपैयाँमा झर्दा पनि खरिदकर्ता छैनन् : विनोद चौधरी

बिहीबार, १९ असार २०८२, १४ : ०४
बिहीबार, १९ असार २०८२

सारांश

  • सांसद विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य घट्दा पनि खरिदकर्ता नभएको बताए।
  • उनले बाफिया संशोधन विधेयकले लगानीकर्ताको घट्दो विश्वासलाई सम्बोधन गर्नुपर्ने र नयाँ दृष्टिकोणबाट पुनर्लेखन गर्नुपर्ने बताए।
  • चौधरीले बैंक व्यवस्थापनमा व्यावसायिक व्यक्ति र दीर्घकालीन लगानीका लागि पुँजीको अभावलाई जोड दिए।

काठमाडौँ। नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले बैंक तथा वित्तीय संस्थाका सेयरको मूल्य अङ्कित मूल्यभन्दा तल झर्दा समेत खरिदकर्ता पाउन मुस्किल भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमाथिको छलफलमा बोल्दै उनले लगानीकर्ताको मनोबल धराशायी भएकोतर्फ ध्यानाकर्षण गराए। 

‘हिजो मात्रै एक साथीले एउटा बैंकको १०० रुपैयाँको सेयर ४० रुपैयाँमा दिन्छु, कोही छ किनिदिने मान्छे भनिदिनुस् भन्दै हुनुहुन्थ्यो,’ चौधरीले भने, ‘यसले बैंक र समग्र वित्तीय क्षेत्रप्रतिको लगानीकर्ताको घट्दो विश्वासलाई देखाउँछ।’ 

उनले देशको वर्तमान अर्थतन्त्र, लगानीको अवस्था र बैंकहरुमा तरलता भएर पनि लगानीको माग नभएको निराशाजनक स्थितिको पृष्ठभूमिमा बाफिया संशोधनलाई हेर्नुपर्ने बताए । चौधरीले बैंकका सञ्चालक समितिमा व्यवसायी वा लगानीकर्ता हुँदैमा स्वार्थको द्वन्द्व हुने र उसले आफ्नो स्वार्थका लागि बैंकको पैसा झिक्छ भन्ने भाष्य गलत भएको तर्क गरे । ‘बैंकमा लगानी हुने बित्तिकै उसले आफूखुसी पैसा झिक्ने होइन, त्यसका लागि राष्ट्र बैंकका नियम र प्रक्रिया छन्,’ उनले भने, ‘वास्तविक समस्या लगानीकर्ता र व्यवस्थापनको भूमिकालाई सही रूपमा परिभाषित गर्न नसक्नु हो।’ 

सांसद चौधरीले बैंकको बोर्ड र व्यवस्थापनमा व्यावसायिक व्यक्तिहरू (प्रोफेसनल्स) हुनुपर्नेमा जोड दिँदै राम्रो व्यवस्थापनले नै लगानीकर्ताको हित स्वतः संरक्षण गर्ने धारणा राखे। करिब दुई वर्षदेखि अल्झिएको बाफिया संशोधनको मस्यौदाले वर्तमान वित्तीय क्षेत्रका चुनौती र अवसरलाई समेट्न नसक्ने भन्दै उनले यसलाई फिर्ता गरेर नयाँ दृष्टिकोणबाट पुनर्लेखन गर्न आग्रह गरे। 

‘यो ऐनले नेपाली बैंकलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउँछ कि बनाउँदैन ? डिजिटल बैंकिङको युगमा यसले के बाटो दिन्छ ? ठुलो सङ्ख्यामा नेपालीहरू रहेका अस्ट्रेलिया, मलेसिया जस्ता देशमा नेपाली बैंकले शाखा खोल्न पाउने व्यवस्था गर्छ कि गर्दैन ?’ उनले प्रश्न गरे। 

दीर्घकालीन लगानीका लागि पुँजीको अभाव देशको ठुलो चुनौती भएको औँल्याउँदै उनले पूर्वाधार बैंक (निफ्रा) समेत अन्य वाणिज्य बैंकजस्तै महँगो ब्याज र छोटो अवधिको ऋण दिने संस्थामा सीमित भएको टिप्पणी गरे। उनले भने, ‘१० वर्ष लाग्ने जलविद्युत आयोजनालाई छोटो अवधिको ऋण दिइन्छ, जसले गर्दा त्यो परियोजना पहिलो दिनबाटै समस्याग्रस्त हुन्छ।’  

चौधरीले अब आउने बाफियाले वृद्धि र लगानी उन्मुख वातावरण बनाउनुपर्ने, सक्षम र राम्रो काम गर्ने बैंकलाई पुरस्कृत गर्नुपर्ने तथा नियमन र स्वतन्त्रताबिच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए। उनले आगामी मौद्रिक नीति र बाफिया संशोधनले बजेटले लिएको लक्ष्यलाई सघाउने गरी एक अर्काको परिपूरक भएर आउनुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप