शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समितिका प्रतिवेदनमाथिको छेडखानीः खसीको टाउको देखाएर कुकुरको मासु बेचिरहेका छन्

‘अहिले समाजवादको मुख्य तगारो दलाल पुँजीवाद नै हो’
बिहीबार, १९ असार २०८२, २० : १६
बिहीबार, १९ असार २०८२

सारांश

  • लेखकले समाजवादको दार्शनिक पक्ष, प्रयोग र अनुभवबारे चर्चा गर्दै यसको महत्वबारे प्रकाश पारेका छन्।
  • लेखकले पुँजीवाद र समाजवादबीचको भिन्नतालाई औंल्याउँदै व्यवहारमा व्यक्तिवाद हावी भएकोमा चिन्ता व्यक्त गरे।
  • नेपालमा समाजवादउन्मुख राज्यको परिकल्पना, मौलिक अधिकार, तीनखम्बे अर्थनीति र संघीयताको माध्यमबाट समाजवादको आधार निर्माणको प्रयासबारे उल्लेख गरिएको छ।

समाजवादको विषय निकै ठुलो विषय हो । जतिवेला द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रूपमा एउटा वर्गको विश्व दृष्टिकोण भन्दै मार्क्सवादको एउटा अनुसन्धान भयो ।

त्यसको दर्शनिक पक्षको प्रयोग गर्दै जानेक्रममा संसारमा धेरै ठुला वर्ग संघर्ष, उथलपुथल भए । प्रयोगका विभिन्न मोडेलहरू देखा परे । फ्रान्सको पेरिस कम्युन, रुसी समाजवादी क्रान्ति हुँदै चिनिया जनवादी क्रान्ति र अन्य विभिन्न क्रान्तिका आ–आफ्नै किसिमका मोडेलहरू देखा परे । त्यसमा सकारात्मक र नकारात्मक ठुल्ठुला अनुभवबाट समाजवादको यात्रा अगाडि बढ्यो । ठुल्ठुला महान क्रान्तिहरू प्रतिक्रान्तिमा बदलियो । सर्वहारा वर्गका सपनाहरू नयाँ ढंगले अगाडि देखा पर्न थाले । त्यसकारण समाजवादको विषय एकातिर दार्शनिक रूपमा पनि गहन, विश्लेषण र नयाँ संश्लेषणको ठाउँमा आइपुग्यो । यसको प्रयोगको सन्दर्भमा प्राप्त भएको अनुभव, नयाँ विश्लेषण, नयाँ समीक्षा आवश्यकता भएको छ । 

यहाँ समीक्षकले भनेको जस्तै यो विषय निकै गम्भीर छ । पुँजीवाद र समाजवादको एउटा आधारभूत अन्तर छन् ।  पुँजीवाद व्यक्तिवादमा आधारित छ । समाजवाद सामूहितकतामा आधारित दर्शन हो । आजभोलि भन्दा चाहिँ समाजवाद, मार्क्सवाद भन्ने तर व्यवहारमा व्यक्तिवाद प्रयोग गर्ने प्रचलन वा प्रवृत्ति निकै प्रभावी र हाबी भएको अवस्था छ ।

हामीले भन्दा समाजवादी नाम सबैले राख्ने तर समाजवादको आधारभूत सिद्धान्त र मान्यताभन्दा बाहिर गएर आफ्नो जीवन, दर्शन या आफ्नो राजनीतिक दिशा र सांस्कृतिक आचरण गर्ने प्रवृत्ति बढी हाबी छ । त्यसकारण समाजवाद भन्ने कुरा र प्रयोग गर्ने कुराको बिचमा निकै ठुलो अन्तरविरोध अहिले देखिएको छ । आज सामन्तवादी, दलाल, नोकरशाह, पुँजीवादीले पनि समाजवाद शब्दको प्रयोग गर्छन् । किनकि यो शब्द लोकप्रिय छ ।

समाजवादी शब्द प्रयोग गरेर मात्रै आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न सजिलो हुन्छ भन्ठानेर शब्दको प्रयोग गर्ने तर व्यवहारमा आफ्नो व्यक्तिवादी स्वार्थपूर्ति गर्ने एउटा प्रवृत्ति प्रचलन वा फेसन जस्तो देखिएको छ । हामीले साच्चै समाजवाद जेलाई भनेका छौँ, इतिहासमा गएर हेर्दा वैज्ञानिक समाजवाद मार्क्वादमा आधारित समाजवादको कुरा गर्दा अरूभन्दा फरक छ । जसले वर्ग संघर्षलाई, उत्पादनको निम्ति र वैज्ञानिक प्रयोगको प्रक्रियालाई समुचित रूपमा अगाडि बढाउन चाहन्छ । त्यसलाई वैज्ञानिक समाजवाद भनियो । आजभोलि वैज्ञानिक समाजवाद पनि सबैखाले अवसरवादी पुँजीवादीहरूले गर्ने चलन आउन थालेको छ । सक्कली समाजवाद कुन हो ? नक्कली समाजवाद कुन हो ? कुरा छुट्याउन निकै जटिल र चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ । 

हामीले नेपालमा पुँजीवादी जनवादी क्रान्ति अगाडि बढाउने सन्दर्भमा मुख्यतः सामन्तवादको सन्दर्भमा संघर्ष गर्ने, सामन्ति निरंकुशतन्त्रलाई परास्त गर्ने, पुँजीको विकासका निम्ति आधार तयार पार्ने भनेर पुँजीवादी जनवादी क्रान्ति भन्यौँ । यसलाई चिनिया अनुभवको आधारमा नयाँ जनवादी क्रान्ति पनि भनियो । यहाँसम्म आउँदा मौलिक तरिकाले नेपालमा पुँजीवादी जनक्रान्तिको एउटा प्रमुख कार्यभार पुरा भयो ।

नेपालका कम्युनिस्ट तथा वामपन्थी पार्टीहरू सबैले भन्ने गरेका छन्, एकाधलाई छोडेर । धेरैजसो अब पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पुरा भयो । अब समाजवादी क्रान्तिको चरणमा नेपाल प्रवेश गर्यो । कम्युनिस्ट पार्टीले अब समाजवादको आधार तयार पार्ने कुरामा ध्यान दिनुपर्छ । कसैले पनि समाजवाद आइहाल्छ वा गरिहाल्नुपर्छ भनेर अहिलेसम्म भनेको सुनेको छैन । समाजवादको चरणमा प्रवेश गर्यौँ भनिएको छ । र, समाजवादको आधार तयार पार्ने कुरामा अब ध्यान केन्द्रित गर्नुपर्छ भन्ने गरिएको छ ।

हामीले संविधान निर्माण गर्दाखेरि पनि यही मान्यतामा टेकेर नै अबको समाज, अवको राज्य समाजवादउन्मुख राज्य हुनेछ भन्ने परिकल्पना गरिएको छ । समाजवाद नै भनेको छैन संविधानमा । समाजवादउन्मुख भन्ने शब्द प्रयोग गर्नुको तात्पर्य तत्काल समाजवाद कार्यान्वयन हुने स्थिति छैन । तर राज्य चाहिँ सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादतिर फर्किनुपर्छ भन्ने त्यसको मुख्य विशेषता हो । मलाई लाग्छ, यसमा तपाईंहरू सबैले विचार गरेकै हुनुपर्छ ।

संविधानमा समाजवादउन्मुख राज्य हुनेछ भनेर मात्रै परिकल्पना गरिएको छैन । मौलिक अधिकारको कुरा गरिएको छ । जो समाजवादमा अभ्यास गर्ने विकसित गरिने मान्यतालाई नेपालमा हामीले कमसेकम त्यो बाटो निर्दिष्ट हुनुपर्छ भनेर नै हामीले शिक्षा, स्वास्थ्य, रोजगारी प्राप्त गर्ने कुरालाई जनताको मौलिक अधिकार हो भनिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुरालाई राज्यले आफ्नो जिम्मेवारी ठानेर कोही पनि नागरिक शिक्षाबाट वञ्चित हुन नपरोस् । कोही पनि नागरिक औषधि उपचार गर्न नपाएर अकालमा मृत्युवरण गर्न नपरोस् । र, कोही पनि बेरोजगार नरहोस् भन्ने मान्यता संविधानमा हामीले मौलिक ढंगले नै त्यसलाई प्रस्तुत गरिएको छ । त्यो पनि समाजवादको आधार निर्माणको उद्देश्यबाट प्रेरित भएरै गरिएको हो ।

हामीले नेपाली अर्थतन्त्रको विकास कसरी गर्नेभन्दा निजी, सार्वजनिक र सहकारीको साझेदारी अर्थात् तीनखम्बे अर्थनीतिको कुरा गरिएको छ । त्यसकारण अहिले सम्पूर्ण रूपमा समाजवादी अर्थतन्त्र अहिले सम्भव छैन । सम्पूर्ण रुपले प्राइभेट क्यापिटललाई प्रोत्साहन गरेर पनि हुँदैन । सहकारीमार्फत विस्तारै समाजवादको आधार निर्माण गर्नुपर्छ भनेर नै तीनखम्बे अर्थनीतिको कुरा गरिएको हो । हामीले सबै आदिवासी, महिला, दलित, श्रमिक  सबैको राज्यसञ्चालनमा समोचित प्रतिनिधित्व होस्, तिनीहरूको समावेशी मात्र होइन, समानुपातिकलाई पनि ध्यान दिइयोस् । राज्य कसैप्रति सकार र कसैप्रति नकार राख्ने भाव नबनोस् । त्यो पनि समाजवादतिर फर्काउनकै लागि गरिएको हो ।

हामीले संघीयता भनेर जेलाई भनिएको छ, समुदायमा आधारित भएर समाजवादका भ्रुणहरू तलैबाट विकास गर्नुपर्छ भनेर मान्यतामा आधारित भएरै प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार दिएर जनतालाई समाजवादतर्फ फर्काउन खोजिएको हो । मैले यो कुरामा किन जोड दिएको छ भने जनवादी क्रान्तिलाई हाम्रो धरातलमा, हाम्रो मौलिकतामा, हामीले प्रयोग गर्ने जाने क्रममा समाजवादको निर्माण हुने प्रक्रिया हो । यो आकासबाट खस्ने कुरा होइन । जमिनबाट उम्रने कुरा पनि होइन । हाम्रै समाज भित्रबाट विकास प्रक्रिया र क्रान्तिको प्रक्रियाबाट खोज्नुपर्छ भन्ने मान्यता यसभित्र अन्तरनिहित छ । तर अहिले जे देखिराखेका छौँ, एउटा ठुलो अन्तरविरोध, वैचारिक संघर्ष र वर्गसंघर्ष चलेको छ ।

मैले जे कुरा संक्षिप्तमा राख्न खोजेँ– संविधानमा निर्दिष्ट गरेको मूलभूत मान्यतालाई इमान्दारिताका साथ पालना गर्ने एउटा विचार, अर्को संविधानमा भएका उपलब्धिमा सकारात्मक, प्रगतिशिल र लोकप्रिय चिजहरूलाई उल्ट्याउने र त्यसलाई फेरि प्रतिक्रियावादी अनुकुल बनाउने कसरत वा लडाइँ चलिराखेको छ । हामीले जनवादी क्रान्तिको कालमा प्रचार गर्दा संसदीय व्यवस्था भनेको खसीको टाउको झुण्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिन्थ्यो । अहिले जे भइराखेको त्यही देखिन्छ ।

समितिका प्रतिवेदनमाथि भएका छेडखानी त्यस्तै हो । देखाउँदा खसीको टाउको देखाइएको छ ‘लोकतन्त्र’, बेच्दा कुकुरको मासु बेचिएको छ । मेरो नेतृत्वमा सरकार हुँदा प्रत्येकपटक समाजवादतिरै लान खोजिएको दाबी छ । हाम्रो बुद्धिजीवीले यसलाई अझै राम्रोसँग बुझ सकेका छैनन् भन्ने मेरो आरोप पनि छ । पहिलोपटक सरकारको नेतृत्व गर्दा गरिब किसानको ऋण एकैसाथ मिनाह गरिएको थियो । पूर्व–पश्चिम लोकमार्गदेखि उत्तर–दक्षिण कोरिडोर भौतिक पूर्वाद्वारा राष्ट्रिय एकतालाई सुदृढ गर्नेकुरा देशलाई समाजवादतिर लैजाने प्रयास थियो । अहिले त्यो व्यवहारत कार्यान्वयनको चरणमा छ । तर हाम्रा बुद्धिजिवी विद्वान्हरूले न त्यसलाई अन्तरनिहित रूपमा बुझ्न चाहन्छन् न इमानदारिताका साथ जनतालाई भन्न चाहन्छन् ।

दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकतालाई सुदृढ गर्न गरिएका मेहनतहरू संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित भएर मधेस, पहाड, हिमाल सबैलाई जोडेर लोकतान्त्रिक निर्वाचन प्रक्रिया अगाडि बढाउन गरिएको पहल होस् या देशको ऊर्जा क्षेत्रमा नयाँ आधार बनाउनका निम्ति लोडसेडिङ अन्त्य गर्न गरिएको पहल होस् । यसलाई अरुले जस्तै गरेको हो भनेर जो भाष्य बनाउन खोजिएको छ, विल्कुल गलत छ ।

अहिले पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिबाट राष्ट्रिय पुँजीको बाटोमा छ । भर्खरै सर्वहारा वर्गको अधिनायकत्व या सर्वहारा वर्गको नेतृत्वमा समाजवाद तत्काल सम्भव छैन । अहिले गर्नुपर्ने मध्यम वर्गलाई अगाडि ल्याउने, राष्ट्रिय पुँजीको विकास गर्ने र दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरूले जुन हैकम कायम त्यसलाई नियन्त्रण र नियमन गर्ने प्रयास थियो त्यो । तर हाम्रा वामपन्थी बुद्धिजीवीहरूले गहिरोसँग यसलाई बुझ्न या त्यो कुरालाई जनतामा स्थापित चाहँदैनन् । यो फरक चिज थियो ।

अहिले  जुन लडाइँ चलिराखेको छ । भ्रष्टाचार, दलाल पुँजीवाद विरुद्ध चलिराखेको छ । अहिले समाजवादको मुख्य तगारो दलाल पुँजीवाद नै हो । नोकरशाही पुँजीवाद नै हो । विचौलीयाहरूले  नेपाली अर्थतन्त्रलाई जसरी कब्जा गर्ने प्रक्रिया चलिराखेको छ । कार्ल मार्क्सले भने जस्तो व्याख्या धेरै भयो । तर मुख्य कुरा बदल्ने नै हो । बदल्ने कुरामा को कति इमानदारितासाथ लागेका छ कि छैन भन्ने कुरा प्रमुख कुरा हो ।

अहिले भ्रष्टाचार गर्ने, भ्रष्टाचारीलाई संरक्षण गर्ने विकृत नोकरशाही दलाल पुँजीवादको पक्षपोषकलाई पनि कम्युनिस्ट नै भनिएको छ । त्यसका विरुद्ध लड्नेलाई नै वामपन्थी नै भनिएको छ । दुवै उस्तै हो भनेर जुन भाष्य बनाउन खोजिएको छ, यो नै गलत छ ।

(बिहीबार नेपाल  प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित दुर्गा नारायण ढकालको कृति ‘समाजवादी दर्शनको रूपरेखा’ लोकर्पण सभामा व्यक्त गरिएको विचारको सम्पादित अंशः) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’
पुष्पकमल दाहाल ‘प्रचण्ड’
लेखकबाट थप