बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निजामती विधेयक राष्ट्रियसभाबाट गायब पार्न खोजिएको आशङ्का छ : सांसद भुसाल

शुक्रबार, २० असार २०८२, १४ : ११
शुक्रबार, २० असार २०८२

सारांश

  • सांसद डा. वेदुराम भुसालले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन वितरण नगरिएकोमा आपत्ति जनाए।
  • उनले १८ असारमा विधेयक टेबुल भए पनि प्रतिवेदन वितरण नहुनुलाई गम्भीर विषय भने।
  • विधेयक राज्य व्यवस्था समितिको निर्णयअनुसार नबनेकोमा विवाद रहेको उनको भनाइ छ।

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सांसद डा.वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद भुसालले १८ असारमा विधेयक सभामा टेबुल भएको भए पनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनु गम्भीर विषय भएको बताएका हुन् । उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशङ्का थपिएको बताए । उनले विधेयकको प्रतिवेदन वितरण नगर्नुको कारण के हो ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सङ्घीय निजामती सेवा विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो । तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन । यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रूपमा विवाद उठेको र शङ्का भएको यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशङ्का जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शङ्का छ ।’

उनले विधेयकको प्रतिवेदन वितरण नगरिनुले गायब पार्न खोजिएको हो कि भन्ने आशङ्का रहेको बताए । -न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप