बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महालक्ष्मी मन्दिरलाई ललितपुर महानगरको ३४ किलो चाँदी सहयोग

शुक्रबार, २० असार २०८२, १९ : २८
शुक्रबार, २० असार २०८२

ललितपुर । ललितपुर महानगरले महालक्ष्मीथानस्थित महालक्ष्मी मन्दिरमा चाँदीको अलङ्कार राख्नको लागि ३४ केजी ३०० ग्राम चाँदी सहयोग गरेको छ । 

महानगरले शुक्रबार काठमाडौँमा एक कार्यक्रमकाबिच महालक्ष्मीथान व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । व्यवस्थापन समितिले मन्दिरमा पित्तलको ठाउँमा चाँदी अलङ्कार बनाउन  लागेको हो । 

महानगरले हस्तान्तरण गरेको उक्त चाँदी जीटुजी मार्फत राष्ट्र बैंकसँग खरिद गरेर  हस्तान्तरण गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए । महानगरले बिहीबारको बजार भाउअनुसार चाँदी खरिद गरेको हो । 

बिहीबारको बजारमूल्य अनुसार चाँदी प्रतितोला २१ सय ७० रुपैयाँ रहेको छ । चाँदी तोलामा रूपान्तरण गर्दा २९ सय ३१ तोला हुन आउँछ ।यसरी हिसाब गर्दा महानगरले महालक्ष्मी मन्दिरलाई ६३ लाख ८१ हजार ९७० रुपैयाँ बराबरको चाँदी हस्तान्तरण गरेको हो ।व्यवस्थापन समितिले मन्दिरमा चाँदी अलङ्कार राख्न गरेको प्रयासलाई सहयोग गर्न पाउँदा प्रमुख महर्जनले बताए । 

प्रमुख महर्जनका अनुसार यसरी महानगरले चाँदी नै हस्तान्तरण गरेको पहिलो पटक हो । प्रमुख महर्जनले पैसा दिनुको साटोमा चाँदी नै उपयुक्त हुने भन्दै चाँदी सहयोग गरेको जानकारी दिए । 

प्रमुख महर्जनले चाँदी अलङ्कार राख्ने काममा कुनै पनि किसिमको कमीकमजोरी नदेखिने गरेर काम गर्न व्यवस्थापन समितिलाई अनुरोध गरे । 

‘काममा कसैले आलोचना नआउनेगरी काम गर्नुहोस्, छिटोभन्दा छिटो सम्पन्न गर्नुहोस्,’ प्रमुख महर्जनले भने । त्यस्तै प्रमुख महर्जनले जे काम गरिन्छ, त्यसमा पारदर्शी भएर काम गर्दा कसैले औँला नउठाउने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दासले महानगरले सम्पदा र संस्कृतिमा उदाहरणीय काम गर्दै आएको बताइन् । ‘हामीले सम्पदा र संस्कृतिमा गरेको उदाहरणीय काम देखेर अन्य पालिकाहरू हामीसँग सिक्न आउनुहुन्छ । तपाईँहरूले कसरी काम गरिरहनु भएको छ भनेर भन्नु हुन्छ , यसले हामीलाई थप उत्साह मिल्छ,’ उनले भनिन् । 

प्रमुख प्रशासकीय अधिकृत दासले महालक्ष्मी मन्दिरको लागि सहयोग गरेर इँटा थप्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।

ललितपुर महानगर वडा नम्बर ५ का वडाध्यक्ष विकासमान श्रेष्ठले महालक्ष्मी मन्दिरलाई चाँदीले अलङ्कार गर्नको लागि भक्तजनबाट मात्रै एक/डेढ करोड भक्तजनबाट उठिसकेको बताए । महानगरले पनि त्यस कार्यक्रममा सहयोग गरेको उनले धन्यवाद व्यक्त गरे ।

चाँदी अलङ्कार व्यवस्थापन समितिका संयोजक द्वारिका नाथ खनालका अनुसार अहिलेसम्म विभिन्न उद्योग व्यवसायी, संस्था, भक्तजनबाट सहयोग जुटिरहेको छ । चाँदी अलङ्कारमा कुनै पनि अपारदर्शिता नहुने बताउँदै उनले हरेक कुरा पारदर्शितामा हुने प्रतिबद्धता जनाए । 

ज्यापू समाजका अध्यक्ष एव समितिका सल्लाहकार सन्तमान महर्जनले महालक्ष्मी मन्दिर विगतका दिनमा भन्दा धेरै नै व्यवस्थित बन्दै गएको र यसमा सबैको ठुलो योगदान रहेको जानकारी दिए ।

मन्दिरलाई थप सुन्दरता बढाउन चाँदीको अलङ्कार राख्न लागेको र त्यसमा सबैको सहयोगको अपेक्षा राखेका छन् । यसमा ज्यापू समाजको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप