शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नक्कली विद्यालय प्रकरण

एमालेका ‘बदनाम’ नेता नन्दसिंह : नक्कली विद्यालय खडा गरेर भ्रष्टाचार, मन्त्री पदका लागि ‘फ्लोर क्रस’

शुक्रबार, २० असार २०८२, २१ : १०
शुक्रबार, २० असार २०८२

सारांश

  • अख्तियारले डोल्पामा नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ।
  • दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा नन्दसिंह बुढा लगायतलाई मुद्दा लागेको हो।
  • नन्दसिंह बुढाले फर्जी उपभोक्ता समितिको अध्यक्ष बनेर रकम हिनामिना गरेको र उनी एमालेमा फर्किएका छन्।

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘नक्कली विद्यालय’ खडा गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमा नेकपा एमाले कर्णाली प्रदेशका नेता नन्दसिंह बुढाको समेत नाम समावेश छ । 

७ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी उनीसहित तत्कालीन डोल्पा जिल्ला प्राविधिक कार्यालयका प्रमुख रविचन्द्र पजियार, सोही कार्यालयका लेखापाल मनिराम कुर्मी र कोषाध्यक्ष संगीता बुढा विरुद्ध मुद्दा दायर भएको हो । बुढा तत्कालीन उपभोक्ता समितिका अध्यक्ष हुन्, त्यो पनि फर्जी ।

उनीहरुले डोल्पाको ठुलोभरी नगरपालिका—४, तिप्ला (साविक दुनै गाविस—२/३) मा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामक नक्कली विद्यालय भवन निर्माणको योजना बनाएर ७ लाख ६० हजार रुपैयाँ रकम हिनामिना गरेको अख्तियारले जनाएको छ । 

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सबै प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना, कैद सजाय र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष २०६७/०६८ मा जिल्ला डोल्पाको तत्कालीन दुनै गाउँ विकास समितिमा ‘दुर्गा प्राथमिक विद्यालय तिप्ला’ नामक काल्पनिक विद्यालय खडा गरिएको थियो ।’

उक्त विद्यालयको नाममा दुईकोठे भवन निर्माण गर्ने भन्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट ७ लाख ६० हजार रुपैयाँ बजेट निकासा गराउन उनीहरु सफल भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । तर, अनुसन्धानका क्रममा उक्त स्थानमा दुर्गा प्रावि नामक कुनै विद्यालय नरहेको र श्री लालीगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा रहेको पाइएको उनको भनाइ छ । 

जिल्ला प्राविधिक कार्यालयका तत्कालीन प्रमुख र लेखापालको मिलेमतोमा नक्कली विद्यालयको नाममा बजेट उक्त छुट्याइएको पाइएको अख्तियारले जनाएको छ ।  यद्यपि उक्त योजनाको प्रमुख योजनाकार भने नन्दसिंह बुढा नै भएको बताइएको छ । 

उनी हाल नेकपा एमालेका प्रदेश कमिटी सदस्य छन् भने उनै बुढाले आफ्नो सालो नाता पर्नेकी श्रीमती संगिता बुढालाई कोषाध्यक्ष बनाएर नक्कली कागजातका आधारमा रकम भुक्तानी गर्ने वातावरण मिलाएका थिए । 

‘उहाँ (संगिता) त्यो वेला सदरमुकाममा बसेर पढ्दै हुनुहुन्थ्यो, नन्दजीकै जोडबलमा उहाँलाई विद्यालय भवन निर्माण गर्नुपर्ने ठाउँमा जाने नपर्नेगरी कोषाध्यक्ष बनाइयोे,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘उहाँलाई नन्दजीले सबै काम म गरिहाल्छु, पछि चेकमा मात्रै हस्ताक्षर गरे भैजान्छ भनेर भनेका थिए ।’

सोहीअनुसार गाउँमा कहिल्यै नगएर चेकका हस्ताक्षर गरेकी संगिता पछि लोक सेवा आयोग पढ्न काठमाडौँ गइन् । संगिता लोक सेवा पास गरेर अहिले डोल्पाकै त्रिपुरासुन्दरीमा सिअनमी पदमा कार्यरत छिन् ।

एक दशकपछि अहिले आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि संगिता अचम्ममा परेकी छिन् । यो घटना यस्तो भएको छ भन्ने कुरा संगिताले गत वर्ष अख्तियारले बयानमा बोलाउँदा मात्रै थाह पाएकी थिइन् ।

तिप्ला तिनै नन्दसिंह बुढाको घर भएको ठाउँ हो । उनलाई चिन्नेहरुका अनुसार उक्त ठाउँमा बुढा परिवारकै रजगज चल्छ । जसको फाइदा नन्दसिंहहरुले उठाउँछन् । 

राजनीतिका ‘बदनाम’ पात्र 

नन्दसिंह बुढा कर्णालीको राजनीतिमा एक विवादास्पद र बदानाम पात्रका रुपमा चिनिन्छन् । डोल्पा (क) बाट ०७४ मा ४ हजार ८५९ मत ल्याएर कर्णाली प्रदेश सभा सदस्य निर्वाचित भएका उनी एमालेकै कोटाबाट कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भइसकेका व्यक्ति हुन् ।

चुनावपछि एमाले–माओवादी मिलेर नेकपा बन्यो । तर कर्णालीको नेकपाभित्र सँधै भाँडभैलो भइरह्यो । एमालेका नेता यामलाल कँडेलले तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध पटक–पटक अविश्वासको प्रस्ताव ल्याउने प्रयत्न गरे । 

सोही वेला एमालेबाट मन्त्री बनेकाहरुमध्ये केहीले शाहीको काँध थापे । ०७७ चैत्रमा यामलाल कँडेल (एमाले पक्षधरहरु)ले अध्यक्षतामा बसेको बैठकले तत्कालीन मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा बुढाले हस्ताक्षर गरेनन् । उनले भनेका थिए,  ‘माफ गर्नुहोला ! मृत्यु पत्रमा हस्ताक्षर गर्न सकिएन । नेकपा (एमाले) जिन्दावाद । कर्णाली प्रदेश सरकार जिन्दावाद ।’

जुन दलले उनलाई त्यो ठाउँमा पुर्‍याएको थियो, त्यही दलले गरेको निर्णयको पत्रलाई उनले मृत्यू पत्र भनेका थिए । बुढा आफ्नो मन्त्री पद बचाउनकै लागि पार्टीको ह्विप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए ।

०७८ वैशाख ३ गते उनीसँगै एमाले सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाहीले पनि ‘फ्लोर क्रस’ गरे ।जसका कारण माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकार ढलेन । चारै जनालाई ०७८ वैशाख ३ गते नै एमालेले साधारण सदस्य नरहने गरी हटाएको थियो ।

यिनीहरुकै कारण तत्कालीन नेकपा हुँदै एमाले विभाजनको केन्द्र कर्णाली बनेको आरोप लाग्ने गरेको छ । साथै संसदीय इतिहासमै पहिलो पटक पार्टी निर्णय विरुद्ध ‘फ्लोर क्रस’ गरेको भन्दै उनीहरुमाथि बदनामको एउटा ट्याग लागेको छ ।

नन्दसिंह सुरुमा एमालेमा ओली समूहकै नेता भनेर चिनिन्थे । तर पछि मन्त्री पदमा रहिरहन ‘फ्लोर क्रस’ गरे । ६ महिनापछि उनको पदावधि सकियो । एमाले विभाजन हुँदा उनीहरु माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागे । बुढा  एकीकृत समाजवादीको डोल्पा जिल्ला अध्यक्षसमेत बने । तर, ०७९ को चुनावअघि उनी पुनः एमालेमै फर्किए ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालयमा स्वागत गरेका थिए । एमालेमा फर्किएपछि उनलाई कर्णाली प्रदेश कमिटीका सदस्य बनाइएको छ ।  अहिले ज्वाला र थापा भने समाजवादीमै छन् । 

उनले एमाले प्रवेश गर्ने क्रममा भनेका थिए, ‘विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेका थियौं । तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको हुँ ।’

उनी नक्कली विद्यालय खडा गरी उपभोक्ता समिति अध्यक्ष बनेको समयमा एमालेको जिल्ला तहकै नेता थिए । त्यसैको सेरोफेरोमा उनी एमाले डोल्पाको सचिव समेत बनेका थिए । तर उनले राजनीतिलाई पैसा कमाउने माध्यम बनाउने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।  

यस विषयमा बुढाको प्रतिक्रिया लिन रातोपाटीले पटक पटक सम्पर्क गर्‍यो । तर, सम्पर्कमा नआएका उनले शुक्रबार राति भने एउटा मेसेज पठाए । उनले मेसेजमा भने, ‘सरी आई कान्ट टक राइट नाउ’ (माफ गर्नुहोस्, म अहिले कुरा गर्न सक्दिन)।’

  • याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप