पाल्पाको रैथाने बाली सङ्कटमा
सारांश
- पाल्पाका किसानहरू उन्नत जातका बीउप्रति आकर्षित हुँदा रैथाने बाली सङ्कटमा परेको छ।
- उत्पादन बढी हुने र छिटो फल्ने भएकाले किसानले रैथाने बीउ छोडेर हाइब्रिड बीउ प्रयोग गर्न थालेका छन्।
- बजारमा हाइब्रिडको माग बढेपछि स्थानीय जातका बीउ लोप हुँदै गएको र किसानहरूलाई आर्थिक नोक्सानी भएको छ।
पाल्पा। यहाँका किसानहरु पछिल्लो समय खेती लगाउने सयममा उन्नत जातका बीउप्रति आकर्षित भएपछि रैथाने बाली सङ्कटमा पर्दै गएका छन् । उत्पादन बढी हुने र छिटो फल्ने हुँदा यहाँका किसान परम्परागत रैथाने बीउ छोडेर उन्नत जातका बीउ (हाइब्रिड) प्रति आकर्षित भएका हुन् ।
तानसेनको दमकडाकी सीतादेवी गौतमले पहिले–पहिले धान, मकै, प्याज, मूलाजस्ता कृषि उपजको रैथाने बीउ घरमै उत्पादन गर्ने गर्थिन्। उनकोमा बीउ लिन जिल्लाका विभिन्न ठाउँबाट किसान त्यहाँ पुग्ने गर्ने तर हिजो आज भने बजारमा नै पाइने बीउ ल्याएर किसानले लगाउन थालेपछि भने गौतम कहाँ बीउ लिन कोही पनि आउँदैनन् । किसानले उन्नत जातका बीउ ल्याएर लगाउन थालेपछि आफूले अहिले बीउ घरमा राख्न छोडेको उनी बताउँछिन् ।
बर्खामा धान खेतीले भरिभराउ देखिने माथागढीका देउगीर, झडेवा, चिदीपानी, पूर्वखोलाका जल्पा, रिङ्नेरहजस्ता ठाउँमा मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुला, व्याजका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले भने यहाँका खेत किसानका लागि बिरानो जस्तै बनेका छन् । रैथाने बीउ बेचेरै किसानको गुजारा चलेको थियो । पछिल्लो समय हाइब्रिडले बजार ओगटेपछि यहाँको स्थानीय जातको बीउ उत्पादन हुन छाडेको छ । बीउ किन्न किसानको घरदैलोमै पुग्ने व्यापारी हाइब्रिडमा आकर्षित हुन थालेपछि उत्पादन गर्न छाडेको किसान बताउँछन् । स्थानीय जातभन्दा हाइब्रिड सस्तो भएपछि खेती छाडेको देउगीरका किसान जीवन रायमाझी बताउँछन् ।
पाँच वर्ष अघिसम्म लाखौँको मुला, प्याजको बीउ उत्पादन हुने यहाँका खेत आजभोलि किसानका लागि बिरानो बनेको उनी सुनाउँछन् ।
निस्दी गाउँपालिका मित्यालका धनबहादुर ठाडा भन्छन् “पहिले–पहिले बारीमा पाइने सानो तितोकरेलाको बीउ नै पाइन छाड्यो । बीउ हराएसँगै सानो डल्ले प्रकृतिको करेलो नै हरायो । जब बजारमा लामा लामा बीउ आउन लागेपछि करेला मात्र होइन टमाटरको बीउ पाइन छाड्यो ।” वैशाखमा बारीमा मकैसँग छरिने काँक्रो पनि हरायो । बीउ राख्ने चलन नै हरायो । बजारमा धेरै फल्ने हाइब्रिड जातको बीउ आउन लागेपछि स्थानीय रैथाने जातको बीउ नै हरायो । यो अत्यन्त दुःखद कुरा भएको स्थानीय लालबहादुर सोती बताउँछन् । “टमाटर, खुर्सानी, भिण्डी, भाण्टा, मुलाजस्ता स्थानीय जातका बीउ गाउँमा राख्न छाडेपछि बाली नै हरायो”, उनले भने ।
पहिलापहिला घरायसी प्रयोजनका लागि लगाइने अकबरे खुर्सानीको बीउसमेत हराउँदै गयो । पुरानो बीउ हराएपछि पनि बजारका बीउका कारणले पनि मूल्यमा ह्रास आएको रैनादेवी छहरा गाउँपालिका मुझुङका रमेश कार्कीले बताए।
कालानमक, झिनुवा, कृष्णभोग, अनदी, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनोजस्ता रैथाने बास्नादार र स्वादिलो चामल अचेल सितिमिति भेटिंदैन । बोडी–सिमीका स्थानीय जात, मसिना चुच्चे करेला, रैथाने काँक्रो, रायो, ठूल्ठूला झाल हुने स–साना गोलभेँडा, कुभिण्डो, पाटे घिरौंलो, घैया धान, रातो चामल हुने सिम्ठारो धान, सेतो मकै, रैथाने मास–मस्याङ–गुराँस–भटमास पनि भेट्न मुश्किल पर्छ । यस्तो किन भइरहेको छ त ? बुझन गाह्रो छैन । खाने मुख र बजारको माग बढेपछि धेरै अनाज र तरकारी फलाउनुपर्ने बाध्यताले किसानलाई ‘विकासे’ बीउ लगाउन हौस्याएको हो । कृषि प्राविधिक आरसी चौधरीभने किसानले कम उत्पादन हुने रैथाने छाडेर धेरै फल्ने वर्णसंकर बीउ लगाउनुलाई स्वाभाविक नै ठान्दछन् । “रैथाने जातको संरक्षण गरिदिने काम किसानको होइन, सरकारको हो”, उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण