बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अबिचुरी

आशा र प्रेरणाका प्रतीक, डियोगो जोटा !

शनिबार, २१ असार २०८२, ०८ : २५
शनिबार, २१ असार २०८२

सारांश

  • डिएगो जोटाको स्पेनमा भएको कार दुर्घटनामा निधन, पोर्चुगल र फुटबल जगत शोकमा डुबेको छ।
  • जोटाले सामान्य सुरुवातबाट विश्व फुटबलमा यात्रा तय गरे, वुल्भ्स र लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरे।
  • उनले लिभरपुलका लागि ५५ खेलमा २१ गोल गरे र टोलीलाई च्याम्पियनसिप जिताए, उनको खेल शैली प्रशंसनीय थियो।

‘हामी कहाँबाट आएका हौँ भन्ने होइन, हामी कहाँ जाँदैछौँ भन्ने कुरा महत्त्वपूर्ण हो।’ गोंडोमार स्पोर्टिङ क्लबको एकेडेमीको प्रवेशद्वारमा लेखिएको भनाइ हो यो ।

क्लबका गौरवशाली सन्तान डियोगो जोटाको तस्बिर त्यो भनाईसँगै राखिएको छ जहाँ उनले ९ वर्षदेखि १७ वर्षसम्म खेलेका थिए।  यो भनाइ, जोटाले सन् २०२० मा नेसन्स लिग अन्तर्गत स्विडेनविरुद्ध दुई गोल गरेपछि भनेका थिए । उनले जीवन र फुटबललाई कसरी हेर्थे भन्ने कुराको ज्वलन्त प्रमाण हो।

त्यसको छेउमै अर्को तस्बिर छ, जहाँ उनी पोर्चुगलको राष्ट्रिय टोलीको जर्सीमा छन्। यही हो जोटाको यात्रा — सामान्य सुरुवातबाट विश्व फुटबलसम्मको यात्रा।

सन् २०२२ पछि क्लबको एकेडेमीको नाम परिवर्तन गरेर ‘डियोगो जोटा एकेडेमी’ राखियो।

२८ वर्षीय जोटा र उनका भाइ आन्द्रे सिल्भाको स्पेनमा भएको कार दुर्घटनामा निधन भएपछि गोंडोमार, पोर्चुगल र सम्पूर्ण फुटबल जगत शोकमा डुबेको छ।

जोटाको प्रारम्भिक यात्रा सहज थिएन। उनी तेस्रो श्रेणीको सानो टिममा हुर्किए, जहाँ खेल्नका लागि उनले मासिक २० युरो तिर्नुपर्थ्यो। ठुला क्लबहरूले उनलाई आकारका कारण बेवास्ता गरे। तर उनले कहिल्यै हार मानेनन्।

Jota 1

१६ वर्षको उमेरमा उनी पाकोस दे फेरेइरा गए। तर १७ वर्ष पुग्दा उनीमाथि हृदयसम्बन्धी समस्या देखियो, जुन करियरमै खतरा हुन सक्थ्यो। तर उनी भयभीत भएनन्।

‘मलाई थाहा थियो कि यसले फुटबल छोड्नुपर्ने हुन सक्छ । तर मैले कहिल्यै विश्वास गरिनँ कि त्यो हुन्छ भनेर,’ उनले सन् २०२१ मा भनेका थिए।

त्यसपछि उनले खेलमा पुनरागमन गरे। युवा टोलीका को-ओर्डिनेटर गिलबर्टो अन्द्राडेसँग उनले विदेशी भाषा सिक्न सहयोग मागे। उनले भने, ‘म भविष्यमा विदेशमा खेल्न सक्छु, त्यसका लागि तयार हुनुपर्छ।’ यो उनको आत्मविश्वास र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण थियो।

jota 3

सन् २०१६ मा एट्लेटिको म्याड्रिड गए पनि तुरुन्तै पोर्टोमा लोनमा पठाइए। पोर्टोमा उनका भाइ आन्द्रे सिल्भा पनि युवा टोलीमा थिए।

त्यसपछि सन् २०१७ मा जोटा इंग्ल्याण्ड आए, वुल्भ्समा । त्यहाँ उनले १३१ खेलमा ४४ गोल गरे र टोलीलाई च्याम्पियनसिप जिताउँदै प्रिमियर लिगमा पुर्‍याए।

लिभरपुलमा पुगेर उनी थप चम्किए। सन् २०२१-२२ सिजनमा ५५ खेलमा २१ गोल गरे । उनले टोलीका कुल १८२ खेलमा ६५ गोल गरे । जोटाको लिभरपुल यात्राको आँकडा प्रभावशाली रह्यो।

उनी आफ्ना टिमका साथी र समर्थकहरूका मनपर्ने खेलाडी थिए। योर्गन क्लपको आक्रामक शैलीमा उनी सजिलै मिसिए । पछिल्लो प्रशिक्षक स्लटले महँगो स्ट्राइकर डार्विन नुनेजको सट्टा जोटालाई केन्द्रमा रोज्न थाले।

अन्तर्राष्ट्रिय स्तरमा पनि जोटा प्रभावशाली थिए। पोर्चुगलका लागि नेसन्स लिग जित्दा उनले निर्णायक योगदान दिएका थिए। यो यात्रा कुनै सिधा बाटो भने थिएन। तर त्यसमा आँट, श्रम र स्वप्नको सम्मिश्रण थियो।

जोटा पोर्चुगलका ती दुर्लभ खेलाडीहरूमध्ये एक थिए, जसले बेनफिका, स्पोर्टिङ वा पोर्टो जस्ता ‘ठुला तीन’ क्लबको एकेडेमीबाट यात्रा सुरु गरेनन्। तर उनको मानसिक दृढता, अनुशासन, होसियारी र नम्रताका कारण उनले छुट्टै पहिचान बनाएका थिए।

उनका पूर्व प्रशिक्षक गिलबर्टो भन्छन्, ‘जोटालाई सुरुमा नै थाहा थियो, व्यावसायिक खेलाडी हुनु भनेको के हो। उनी कहिल्यै भ्रममा परेनन्, कहिल्यै फुर्किएनन्। त्यो नै उनको विशेषता थियो।’

jota 2

सन् २०१४-१५ को सिजनअघि स्वास्थ्य परीक्षणका क्रममा हृदयसम्बन्धी समस्या देखिएपछि करिब एक महिना मैदान बाहिर रहनुपरेको कठिन घडीमा पनि उनी ढुक्क थिए । उनी भन्थे, ‘गाडालाई घोडाभन्दा अगाडि राख्नु हुँदैन ।’ उनले जीवनलाई बिस्तारै बुझेका थिए।

जोटाले कहिल्यै आफ्नो मूलभूत मूल्यहरू छोडेनन्। जब उनी पहिलो टोलीका खेलाडी भइसकेका थिए, तब पनि उनी नयाँ खेलाडी र ट्रायलिस्टहरूसँगै क्लबको डोर्ममा नै बसिरहे ।

‘उनी आफ्नो कोठाबाट बाहिरै ननिस्कने। उनको लागि ध्यान केन्द्रित गर्नु नै सबैभन्दा ठुलो कुरा थियो,’ अन्द्रादे सम्झन्छन्।

लिभरपुलमा स्टार बने

वुल्भ्सलाई प्रिमियर लिगमा फर्काउन सहयोग गरेपछि उनले विश्व फुटबलको एउटा ठुलो मञ्चमा पाइला टेके। सन् २०२० को सेप्टेम्बरमा ४.५ करोड पाउन्डमा जोटा वुल्भ्सबाट लिभरपुल आए ।

jota

योर्गन क्लप र पछिल्लो प्रशिक्षक आर्ने स्लट दुवैको रणनीतिमा जोटा एक ‘म्याच-विनर’ को रूपमा उभिए। कतिपय विशेषज्ञहरूका अनुसार, मोहम्मद सलाहजस्ता महान् खेलाडीको उपस्थितिमा पनि जोटा नै क्लबका सबैभन्दा स्वाभाविक फिनिसर थिए।

क्लपले जोटाबारे भनेका थिए, ‘उनी यस्तो खेलाडी हुन् जसले हामीलाई धेरै विकल्प दिन्छन्। उनी २३ वर्षका छन्, अझै पनि पूर्ण रूपमा परिपक्व भइसकेका छैनन्, तर अपार सम्भावना छ। उनीसँग गति छ, समन्वय गर्न सक्छन्, डिफेन्ड गर्न सक्छन्, प्रेस गर्न सक्छन् । यो सबै हामीलाई विभिन्न प्रणालीमा प्रयोग गर्न मिल्ने विकल्प दिन्छ।’

यिनै गुणहरूसँगै जोटा लिभरपुल आइपुगेका थिए। सन् २०२२ मा एफए कप र लिग कप जित्दा उनी टोलीका हिस्सा थिए । चोटले केही समय सीमित गरे तापनि उनले पछिल्लो सिजन समेत महत्त्वपूर्ण योगदान दिन भ्याए।

जनवरीमा नटिङ्घम फरेस्टविरुद्ध खेलमा मैदान प्रवेश गरेको केही सेकेन्डमै हेडरमार्फत बराबरी गोल गर्नु, अनि अप्रिलमा एभरटनविरुद्ध मर्सीसाइड डर्बीमा निर्णायक गोल गर्नु । यस्ता क्षणहरू जोटाको पहिचान बने।

क्लासिक जोटा शैलीमा, उनले एभरटनविरुद्ध भीडभाडपूर्ण पेनाल्टी क्षेत्रभित्र दुई टच लिए, डिफेन्डरहरूलाई झुक्क्याउँदै गोलकिपर जोर्डन पिकफोर्डलाई दायाँ खुट्टाको प्रहारमा हराए। यस्तो चतुर खेलले लिभरपुल समर्थकहरूलाई पुनः गौरव गराएको थियो।

jota 7

मोहम्मद सलाह सम्भवतः मुख्य समाचार बन्थे, तर जोटाका गोलहरूले खेलको दिशा बदल्ने क्षमता राख्थे। विपक्षी रक्षापंक्तिहरूका लागि उनी सधैँ चुनौती थिए।

पोर्चुगलले हालै नेसन्स लिग जित्दा जोटाले महत्त्वपूर्ण भूमिका खेले। स्पेनविरुद्धको फाइनलमा अतिरिक्त समयमा मैदानमा आए । त्यो खेल नै उनको संक्षिप्त तर उज्यालो करियरको अन्तिम अध्याय बन्यो।

jota 8

गोंडोमारबाट लिभरपुलसम्मको डियोगो जोटाको यात्राले हजारौँ युवालाई प्रेरणा दिनेछ । उनले संसारलाई एउटा सन्देश छाडेर गएका छन्– ‘तपाईं कहाँबाट सुरु गर्नुहुन्छ, त्यो मुख्य कुरा होइन । तपाईं कहाँ पुग्नुहुन्छ, त्यो मुख्य कुरा हो ।’

उनको जीवन एउटा यथार्थवादी कथा हो – मेहनत, दृढता र विनम्रताले भरिएको।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप