बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विपद् व्यवस्थापनः सेती नदी तटीय क्षेत्रमा साइरन जडान

शनिबार, २१ असार २०८२, १२ : ५४
शनिबार, २१ असार २०८२

सारांश

  • तनहुँ जलविद्युत् आयोजनाले सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई बाढीसम्बन्धी पूर्वसूचना दिन साइरन जडान गरेको छ।
  • आयोजनाले बाढीबाट जोगाउन साइरन जडान गर्नुका साथै नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत सचेतना कार्यक्रम पनि गरेको छ।
  • आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ, जसमा एडीबी, जाइका, र नेपाल सरकारको लगानी छ।

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । 

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजनाको बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउनसक्ने उतारचढावका विषयमा अग्रीम सूचना दिन साइरन जडान गरिएको हो । 

नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत सेती नदीमा निर्माणाधीन बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्र सेतीनदी क्षेत्रका बासिन्दालाई बाढीजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए ।

उनले भने, ‘बाँध सुरक्षा, मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा निर्माण गरिएको अस्थायी बाँध, त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने नदीको बहावमा हुनसक्ने फेरबदलका बारेमा नदी सुरक्षा विज्ञबाट प्रशिक्षण प्रदान गरिएको छ ।’ वर्षायाम सुरु भएसँगै सेती नदी वरपरका बासिन्दालाई साइरन बज्दाको समयमा नदीभित्र वा नदी किनारबाट टाढा बस्न र किनार नजिक नजान सचेत गराइएको आयोजना प्रमुख भण्डारीले बताए । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । 

जसका लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र सेतीनदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको जनाएको छ । 

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप