बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यातायात व्यवसायीको गुनासो : भारतीयलाई संरक्षण, नेपालीलाई उपेक्षा

शनिबार, २१ असार २०८२, २१ : ४७
शनिबार, २१ असार २०८२

सारांश

  • नेपाली यातायात व्यवसायीहरूले क्षमताभन्दा बढी तौलका भारतीय सवारी साधन निर्बाध सञ्चालन हुँदा राज्य बेखबर भएको गुनासो गरे।
  • यातायात व्यवसायी र मजदुर नेताहरूले राजमार्गका पुलहरू भत्किएको र सरकार तथा सञ्चार माध्यमले यातायात क्षेत्रलाई नबुझेको गुनासो गरे।
  • व्यवसायीहरूले ट्रक पार्किङको समस्या, युरो ६ मापदण्डको विरोध, र यातायात क्षेत्रलाई राज्यले उपेक्षा गरेको कुरा उठाए।

काठमाडौँ ।  क्षमता भन्दा बढी तौलका भारतीय मालवाहक सवारी साधन निर्बाध सञ्चालन हुँदा पनि राज्य बेखबर बनेको नेपाली यातायात व्यवसायीले गुनासो गरेका छन् ।

आमसञ्चार र यातायातको सवाल विषयमा शनिवार राष्ट्रिय यातायात पत्रकार मञ्चले पाटनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायी तथा मजदुर नेताहरूले सो गुनासो गरेका हुन् । आमसञ्चार माध्यमले पनि यातायातका समस्याबारे समेट्न नसकेको गुनासो उनीहरुले गरे ।

निर्धारित क्षमता भन्दा बढी तौलका भारतीय सवारी साधन सञ्चालन भएकै कारण राजमार्गका ठुला ठुला पुलहरू भत्किएको समेत उनीहरूको भनाई छ । जुनसुकै महामारी र सङ्कटको बेलमा समेत जोखिम मोलेर काम गर्ने यातायात क्षेत्रलाई सरकारले मात्र नभई सञ्चार माध्यमले समेत बुझ्न नसकेको उनीहरुले गुनासो गरे । यातायात सम्बन्ध विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले राज्यबाट आफूहरू उपेक्षित भएको साझा गुनासो राखेका हुन् । 

ट्रक व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बढी तौलका भारतीय सवारीकै कारण विभिन्न ठाउँमा पुल भाँच्चिएको बताए । बढी तौलका भारतीय गाडीलाई रोक्न आफूहरूले पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरिएको उनको भनाई छ ।

‘तौल कार्यविधि २०७४’ मा पनि यस्ता गाडी सञ्चालन गर्न नदिने र तौल बढी भएमा भन्सारमै पल्ट्री गर्ने व्यवस्था हुने कार्यविधिमै रहेको पोखरेलले स्मरण गराए । 

ढुवानी व्यवसायी सङ्घ नेपालका उपाध्यक्ष अरुणकुमार श्रेष्ठले सडक पूर्वाधार विपरीतका भारतीय गाडीको भारवहनबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको बताए । उत्पादनदेखि उपभोक्तासम्म पुर्याउन भूमिका खेल्ने ढुवानी क्षेत्रलाई ब्यवस्थागित गर्नुपर्नेमा उनले जोड दिएका छन् । 

ट्रक पार्किङको व्यवस्था गर्न माग 

व्यवसायीहरूले अत्यावश्यक सामानहरू ढुवानी गर्ने ट्रकको सहरी क्षेत्रमा पार्किङको व्यवस्था नगरिँदा समस्या भएको बताएका छन् । ट्रक पार्किङको व्यवस्था नभएका कारण सडकमै राख्नुपर्दा दुर्घटनाहरू हुने गरेको पनि उनीहरूको भनाई छ ।

ट्रक पार्किङको जटिल समस्या हल गर्न ट्रक व्यवसायी महासङ्घ वरिष्ठ उपाध्यक्ष पोखरेलले माग गरे । ढुवानी व्यवसायी सङ्घका उपाध्यक्ष श्रेष्ठले पनि ट्रक व्यवसाय राज्यबाट उपेक्षित रहेको बताए । 

पर्यटन बस पनि उस्तै मारमा  

कार्यक्रममा पर्यटन बस व्यवसायीले पनि आफूहरू उस्तै मारमा रहेको बताए । विभिन्न राजनीतिक गतिविधि हुँदा यातायात क्षेत्र नै मुख्य रूपमा प्रभावित हुने गरेको टुरिस्ट बस एसोसिएसन नेपालका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे ।

आफूहरूले मुलुकको सङ्कट बेहोरेको उल्लेख गर्दै उनले पर्यटक बसलाई आन्दोलनका बेला निर्बाध सञ्चालन गर्न दिने भनिए पनि विभिन्न अवरोध आउने गरेको बताए । बन्द हडतालका बेला यात्रुलाई सेवा दिन खोज्दा प्रहरीको स्कर्टिङमा यात्रुको उद्धार गरिएको भन्ने समाचार सम्प्रेषण गर्ने गरिएको पनि आचार्यले गुनासो गरे । 

युरो ६ मापदण्डको विरोध 

यातायात व्यवसायीहरूले युरो ६ प्रदूषण मापदण्ड लागू गरिएकोमा पनि आपत्ति जनाएका छन् । युरो ४ को मापदण्ड अनुसार सञ्चालन हुन नसक्ने अवस्थामा युरो ६ को मापदण्ड कार्यान्वयन हुनेमा उनीहरुले आशङ्का गरेका छन् ।

विना पूर्वाधार युरो ६ मापदण्ड लागू गरिएको टुरिस्ट बस एसोसिएसन नेपालका अध्यक्ष कृष्ण आचार्यले बताए । नेपालमा युरो ६ मापदण्ड लागू भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले नयाँ मापदण्ड राजपत्रमा प्रकाशित गरिसकेको छ । यस मापदण्डअनुसार चार पाङ्ग्रे सवारी साधनको हकमा युरो–६ मापदण्ड बमोजिमको परीक्षण विधि मान्य हुनेछ । 

व्यवसायीहरूले मात्र होइन, यातायात मजदुरहरूले पनि यातायात क्षेत्रलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् । एकीकृत यातायात मजदुर सङ्गठनका अध्यक्ष रवि केसीले राज्यले यातायात क्षेत्रलाई सरकारले ध्यान नदिएको बताए ।

उनले ट्राफिक प्रहरीको ज्यादतीको पनि विरोध गरेका छन् । ट्राफिक उभिएको ठाउँमा कुनै पनि गाडी रोक्नै नपाइने अवस्था रहेको उनले बताए । ट्राफिक उभिएपछि कानुन बन्ने अवस्था रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप