‘चुरे जोगाउन नसकिए मधेसको जीवन धरापमा पर्नेछ’
सारांश
- मधेस प्रदेशको जीवन चुरेको संरक्षण नभए धरापमा पर्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरे।
- वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको दोहन र वन फडानीले वातावरणमा प्रतिकूल असर परेको बताए।
- मन्त्री यादवले वन संरक्षणका लागि आम नागरिक समाज र जनताको संयुक्त पहलकदमी आवश्यक रहेको बताए।
महोत्तरी । सरोकार भएकाहरूले चुरेको संरक्षण गर्न नसकिए मधेस प्रदेशको जीवन धरापमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रदेशको वन तथा वातावरण मन्त्रालयले आज यहाँ लालगढमा आयोजना गरेको पत्रकार र नागरिक समाजसँगको अन्तरक्रियामा सरोकार भएकाहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले चुरे क्षेत्रको निरन्तर दोहन, वन फडानी र जलवायु परिवर्तनले वन तथा वातावरणमा प्रतिकूल प्रभाव परेको उल्लेख गरे । उनले चुरे र मधेसमा वनको अवस्था ‘रेडजोन’ मा पुगेको भन्दै यसलाई संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री यादवले भने, ‘यहाँको वन र चुरे क्षेत्र सङ्कटमा छ । यसलाई बचाउन सकिएन भने मधेसको जीवन नै धरापमा पर्नेछ । अब सरकारले मात्र यसको संरक्षण गर्न सक्ने अवस्था छैन, त्यसकारण आम नागरिक समाज र जनताको संयुक्त पहलकदमी आवश्यक छ ।’
उनले वनको संरक्षणलाई जीवनको मुद्दा बनाएर कलम चलाउन पत्रकारहरूसँग अपिल गरे । पछिल्ला केही दशकयता विकास पूर्वाधारलगायत विभिन्न नाममा यहाँको वन कटान हुँदै गएकामा सहभागीले चिन्ता व्यक्त गरेका छन् । अभिलेखमा तीन लाख ३९ हजार ३४४ हेक्टरमा वन भए पनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष केन्द्रबाहेकका अन्य वन क्षेत्र सबै अतिक्रमणको चपेटामा परेको कतिपयको भनाइ थियो ।
कार्यक्रममा प्रदेशका आठ वटै जिल्लाका चुरे, नदी र वन क्षेत्र संरक्षणकर्मी, वातावरणविद्, स्थानीय तहका प्रतिनिधि, वन सम्बद्ध अधिकारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो । वन तथा वातावरण मन्त्रालयको भू तथा जलाधार शाखाका अधिकृत नवोनारायण मिश्रले कार्यक्रममा वन संरक्षणका लागि सरोकार भएका सबै निकायले संयुक्त पहलकदमी बढाउने प्रतिबद्धता जनाएको बताए ।
मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण