बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आषाढ शुक्ल एकादशी : घरका मठमा तुलसी रोपियो

आइतबार, २२ असार २०८२, १२ : १७
आइतबार, २२ असार २०८२

सारांश

  • तुलसीको महत्वबारे चर्चा गर्दै, यसको औषधीय गुण र धार्मिक परम्पराको बारेमा जानकारी गराइयो।
  • आजदेखि चार महिनासम्म तुलसीको विशेष पूजा आराधना सुरु भएको छ, जसलाई चतुर्मास पनि भनिन्छ।
  • हरिशयनी एकादशीको अवसरमा देशभरका विष्णु मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ।

काठमाडौँ । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ ।

आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आएका डा.वंशदीप शर्मा खरेलले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले हाम्रा पुर्खाले घर घरमा यसको मठ बनाएर पूजा आराधनाको परम्परा बसालेकाे बताए । औषधीय गुणले युक्त तुलसीबाट आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला चिया उत्पादनलाई निरन्तरता दिएको समेत उनले जानकारी दिए । 

‘तुलसीको चियाले मानव शरीरभित्रका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ । कोरोना महामारी तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउँदा कोरोना ठीक भएको छ, कीटनाशक भएकाले नै वैदिककालदेखि तुलसीको महत्त्व बढेको हो’, डा खरेलले भने ।

हाम्रा वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित रहेका भन्दै उनले अमृतासमेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको बताए । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ । 

‘एक वर्षमा २४ एकादशी पर्छन् । अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चर्तुमासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्’, उनले भने । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरि बोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन पनि व्यवहारमा चलेको छ ।

 हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । चर्तुमासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ । 
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधीका रूपमा समेत प्रयोग गरिन्छ । 

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।  तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट पूजा आराधनासहित चर्तुमासा व्रतको उद्यापन गरिन्छ ।

उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्नि स्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गर्ने परम्परा रहेको धर्मशास्त्रविद् प्राडा भट्टराईले उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप