लोकबहादुरको शव दुई वर्षदेखि साउदीमै
सारांश
- साउदी अरबमा मृत्यु भएका लोकबहादुर सुनुवारको शव दुई वर्षदेखि नेपाल ल्याउन सकिएको छैन, परिवारले क्षतिपूर्ति र सत्यतथ्य छानबिनको माग गरिरहेका छन्।
- मृतकको परिवारले डीएनए परीक्षण, पोस्टमार्टम रिपोर्ट र उपचार विवरण माग गरेको छ, तर साउदीस्थित दूतावासले शव बुझ्न दबाब दिइरहेको छ।
- परिवारले न्यायको खोजी गरिरहेको छ तर वैदेशिक रोजगार बोर्डले कानुनी सहायता दिन नसक्ने बताएपछि उनीहरू निराश छन्।
काठमाडौँ । साउदी अरबमा मृत्यु भएका लोकबहादुर सुनुवारको शव दुई वर्ष बितिसक्दा पनि नेपाल ल्याउन सकिएको छैन । उनको परिवारले मृत्युको कारणबारे निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको छ ।
लोकबहादुरको शव साउदीकै एक अस्पतालको मर्चरीमा छ । पछिल्लो समय साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले छानबिनमा सहयोग गर्नुको सट्टा शव बुझ्नका लागि दबाब दिइरहेको परिवारको आरोप छ ।
मृतकका ससुरा लवकुमार थिङका अनुसार परिवारले मृत्युको वास्तविक कारण पत्ता लगाउन डीएनए टेष्ट, पोष्टमार्टम रिपोर्ट र अस्पतालमा भएको उपचारको विस्तृत विवरण माग गरेको छ । ‘जबसम्म यी रिपोर्ट हामीले पाउँदैनौँ र सत्यतथ्य बाहिर आउँदैन, हामी शव बुझ्दैनौँ,’ उनले भने ।
लोकबहादुरको मृत्यु काम गर्दागर्दै भएको दुर्घटनाका कारण भएको परिवारको दाबी छ । तर, साउदीस्थित अस्पतलाको रिपोर्टले भने नेचुरल डेथ अर्थात् प्राकृतिक मृत्यु भनिएको छ, जसले गर्दा मृतकको परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित भएको छ ।

साउदीको बीमा कानुनअनुसार कामको सिलसिलामा दुर्घटनामा परी कुनै कामदारको मृत्यु भएमा उसले ८४ महिना बराबरको तलब क्षतिपूर्तिस्वरुप पाउँछ, जुन करिब ३ लाख साउदी रियाल (करिब १ करोड नेपाली रुपैयाँ) हुन आउँछ । तर, लोकबहादुरको मृत्युलाई ‘प्राकृतिक’ देखाएर कम्पनी र अन्य निकायले क्षतिपूर्ति छल्न खोजेको परिवारको आशङ्का छ ।
ज्वाइँको न्यायका लागि लवकुमार दुई वर्षदेखि विभिन्न सरकारी निकाय धाइरहेका छन् । साउदीमा कानुनी लडाइँ लड्न वकिल नियुक्त गर्न सक्ने आर्थिक हैसियत परिवारसँग छैन । यस्तो अवस्थामा सहयोग गर्नुपर्ने वैदेशिक रोजगार बोर्डले पनि कानुनी सहायताका लागि आर्थिक सहयोग गर्न नसक्ने बताएपछि परिवार थप निराश बनेको छ ।
मृतक विवाहित हुँदाहुँदै कागजातमा ‘अविवाहित’ लेखिनु, हिन्दु धर्म मान्ने उनको विवरणमा ‘इस्लाम’ उल्लेख गरिनु र क्षतिपूर्तिमा चलखेल गर्न परिवारको सम्पर्क विवरणसमेत गलत राखिनुले यो घटना नियोजित हुन सक्ने परिवारको आरोप छ ।
यो प्रकरणमा हालसम्म चार जना कन्सुलरले कागजातमा हस्ताक्षर गरिसकेका छन्, तर परिवारको माग सम्बोधन हुन सकेको छैन । उल्टै, छानबिनका लागि पहल गर्नुपर्ने दूतावासले नै शव बुझ्न दबाब दिनुले उसको भूमिकामाथि गम्भीर प्रश्न उठेको लवकुमार बताउँछन् ।
‘हामीलाई शवमात्रै चाहिएको होइन, न्याय चाहिएको हो,’ लवकुमार भन्छन्, ‘जबसम्म सत्यतथ्य बाहिर आउँदैन र मेरो ज्वाईँले न्याय पाउँदैन, हाम्रो लडाइँ जारी रहन्छ ।’
- के हो घटना ?
२०८० वैशाख १९ गते साउदी अरेबियामा गाडी धोएर ‘स्विच अफ’ गर्ने क्रममा लोकबहादुरलाई करेन्ट लागेपछि उपचारका लागि साउदीकै जिजान प्रान्तको बेस अस्पतालमा लगियो । अचेत अवस्थामा रहेका उनको घटना भएको तीन महिनापछि साउन २७ गते मृत्यु भयो ।
१०३ दिन अस्पतालमा अचेत अवस्थामा उपचार गराइएको सुनुवारको मृत्युपछि अस्पतालले डेथ सर्टिफिकेट जारी गर्यो, जसमा उनको मृत्युको कारण ‘प्राकृतिक’ अर्थात ‘नेचुरल डेथ’ भनियो । मृत्युको कारण प्राकृतिक भनेपछि मृतकको परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित हुन पुग्यो ।
कम्पनीको तर्फबाट चार हजार ९०० रियाल क्षतिपूर्ति दिने र शव नेपाल पठाउने भनियो । मृतकका परिवारले भने कम्पनीमा काम गर्दै गर्दा करेन्ट लागेर भएको घटनालाई कसरी प्राकृतिक मृत्यु भनियो भनेर प्रश्न गरिरहे । साउदी सरकार तथा कम्पनी उनीहरूको प्रश्नमा मौन देखिएको छ ।

‘दुर्घटना भएकाले साउदीको नियमअनुसार पाउनुपर्ने क्षतिपूर्ति, बीमा, तथा दुर्घटनाको यकिन नहुँदासम्म हामी शव बुझ्दैनौँ भनेका छौँ,’ लवकुमारले भने ।
मृतक लोकबहादुरकी पत्नी पूजाले वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभागमा शव नेपाल झिकाइदिन हारगुहार गरेको लामो समय बिते पनि सफलता हात लाग्न सकेको छैन ।
बरु उल्टै सुनुवारको शव साउदीमै गाडिएको खबर आएपछि परिवार स्तब्ध भयो । कम्पनीका तर्फबाट तीन सातादेखि एक महिनाको बिचमा शव नेपाल पठाइने जानकारी दिए पनि एकाएक साउदीमै गाडिएको खबर आएको थियो । ‘तीन हप्तादेखि एक महिनाभित्र शव नेपाल आउँछ भनेको थियो । शव बुझिपाउँ भनेर बोर्ड र कन्सुलर विभागमा निवेदन दियौँ । निवेदन दिएको केही समयपछि तपाईंको मान्छेको शव गाडिदियो भनेर खबर आयो,’ लवकुमारले भने ।
आफूहरूले मृतकको परिवारको सहमतिविना के कति कारणले शव गाडियो भनेर प्रश्न गरेको तर त्यसको जबाफ कसैले पनि नदिएको लवकुमारको भनाइ छ । लवकुमारले यसबारेमा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद, श्रममन्त्री शरतसिंह भण्डारीलाई समेत भेटेर कुरा गरेका थिए । उनीहरूले तत्काल उक्त विषयमा एक्सन लिने प्रतिबद्धता जनाएका थिए । त्यसपछि सुनुवारको शव उत्खनन गरियो । शव उत्खनन गर्दा समेत मृतकका परिवारसँग कुनै समन्वय गरिएन । उनको शव न अहिलेसम्म नेपाल ल्याउन सकिएको छ, न त परिवारले उचित क्षतिपूर्ति नै पाएका छन् ।
- वैदेशिक रोजगार बोर्डसँग पैसा माग गरेका छौं : महावाणिज्य दूतावास
साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले ११ पेजको पत्र पठाएको थियो । त्यसमा मृत्युको कारण प्राकृतिक भनेर पठाएको थियो । जसले गर्दा मृतकको परिवारलाई क्षतिपूर्ति पाउन निकै गाह्रो परेको हो । दूतावासले नै त्यत्रो प्रमाण हुँदा समेत मृत्युको कारण प्राकृतिक भनेर पठाएपछि मृतक परिवार थप पीडामा परेको हो ।
महावाणिज्य दूतावासका कन्सुलर सुवास यादवका अनुसार मृतकको परिवारले कानुनी लडाइँ लड्न चाहेको छ । त्यसका लागि राज्यसँग आर्थिक सहायता मागिरहेको छ, तर अहिलेसम्म नेपाल सरकारबाट आर्थिक सहायताका लागि कुनै जानकारी नआएको यादवले बताए ।
‘परिवारले केस गर्ने कुरा गर्नुभएको छ । त्यसका लागि लाग्ने खर्चको लागि हामीले वैदेशिक रोजगार बार्डलाई लेखेका थियौँ । अहिलेसम्म रकम आएको छैन,’ यादवले भने ।
वैदेशिक रोजगार बोर्डले भने पैसा दिन नसक्ने जनाएको छ । बोर्डको कल्याण, पुनर्स्थापना तथा सञ्चार शाखाका निर्देशक सुशील प्रसाद आचार्यले कानुनी लडाइँका लागि आर्थिक सहायता प्रदान गर्न नसकिने प्रस्ट पारे ।
‘बोर्डले गम्भीर प्रकृतिका अपराधको घटनामा १५ लाख रुपैयाँसम्म कानुनी उपचारका लागि आर्थिक सहायता प्रदान गर्न सक्ने व्यवस्था छ । तर, त्यो केसमा दिन सकिने व्यवस्था छैन,’ आचार्यले भने ।
राज्यको तर्फबाट आर्थिक सहायता प्रदान गर्न नसकिने अवस्था भएपछि परिवारले साउदीमा रहेका एनआरएन लगायतका संस्थाहरूसँग सहयोग माग गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण