शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आमा बनेपछि बुझेँ आमाको महत्त्व

आइतबार, २२ असार २०८२, २२ : १८
आइतबार, २२ असार २०८२

कानुन कार्की रायमाझी

विश्व शब्दकोष विकिपिडिया भन्छ, आमा वा माता कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुक्राणुसँग मिलेर बच्चाको विकासको लागि अण्डा प्रदान गर्ने महिलालाई भनिन्छ । आमा अनिवार्य होइन, जीवनको एक सुन्दर उपहार हो । आमा शब्द सुन्ने बित्तिकै जन्मदिने हो भनेर हामी सम्झन्छौँ । नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठ कविता मार्फत भन्छन्ः

'आमा तिमी जन्म दिने मलाई
आमा तिमी प्राण दिने मलाई
आमा तिमी बोट, म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो'

हामीमध्ये धेरै कमले मात्र आमालाई संसार देखाउने व्यक्तिका रूपमा बुझेका छौँ । धेरै कमले मात्र आफ्नी आमालाई आवश्यकता, जन्म दिएको भन्दा एक महानतम् नारीको योगदानका रूपमा महसुस गरेका छौँ । आमा के हो ? र आमा हुनुको अर्थ के हो ? यसलाई मैले आफैँ आमा भएपछि केही थोरै मात्रामा बुझेकी छु । जसलाई म शब्दमार्फत पोख्दै छु ।

सङ्खुवासभाको एउटा सानो गाउँ मङ्गलबारेमा जन्मेर बालापन बिताएकी म, अध्ययनको सुविधा देखेर बुवाआमाबाट सयौँ किलोमिटर टाढा, इटहरी आइपुगेँ । इटहरी आउँदा मात्र ११ वर्षकी म मेरा दुई बहिनीको अभिभावक बनेर एक्लै खाना पकाएर उनीहरू सहित आफूलाई तयार पारेर उनीहरूलाई खाना खुवाएर विद्यालय जान्थेँ । आमा शब्दको ठ्याक्कै अर्थ मैले बुझ्नु पर्ने उमेर हुँदा म आमाबाट टाढिएकी थिएँ । हुन त आमाको अर्थ नबुझे पनि आमाको अभावलाई मैले निकै खेपेकी छु । सङ्खुवासभा छँदै म कहीँ बाहिरबाट आउनासाथ आमा खोज्न खुरुरु दौडेर पुग्थेँ । त्यही अभावलाई सम्झेर म धेरै पटक आमा सम्झिएर इटहरीमा रोएकी छु । बिरामी भएको वेला, अल्छी लागेको वेला विशेषतः आमा भएको भए भनेर सोचेकी छु । तर त्यो वेला आमा बोलाएर सुन्ने ठाउँमा हुनुहुन्नथ्यो । न त चाहेको वेला फुत्त आइपुग्ने ठाउँमा हुनुहुन्थ्यो । आमाको याद र न्यास्रो मेटाउन मोबाइल फोनमा बोल्नुको अर्को कुनै विकल्प मसँग थिएन ।

कक्षा ६ मा स्वास्थ्य किताब पढ्दा किशोर अवस्थाको उमेरले कौतूहल बनाउँथ्यो । लाज र डरले स्वास्थ्यका विषयमा पढेका कुरा नबुझे पनि शिक्षकलाई सोध्न धक लाग्थ्यो । बोर्डमा बनाएका र किताबमा भएका मानव यौनाङ्गको आकृतिले लाज लागेर भुतुक्कै हुन्थेँ । त्यो वेला पढ्न निकै असहज हुन्थ्यो । विस्तारै उमेर बढ्दै गयो र यी सबै सहज हुँदै गए । कक्षा १२ को परीक्षा सकेको वेला मात्र १८ वर्षको उमेरमा मैले भागी विवाह गरेकी थिएँ । पछि त्यसलाई पारिवारिक स्वीकृतिले पुनः विवाह गर्यौँ । विवाहपछि मैले सन्तान जन्माउन हतार गरिनँ । उमेरभन्दा पनि मलाई आमा बन्ने भावनाले रोकेको हुनुपर्छ ।

म उमेरमा २१ वर्ष पुगेपछि श्रीमान् र मैले सन्तान पाउने निधो गर्यौँ । म गर्भवती भएँ । गर्भवती भएको थाहा पाउनासाथ एक किसिमको छुट्टै आनन्द र लाज हुँदो रहेछ । भेटेजति सबैलाई म आमा बन्दै छु भनेर सुनाऊँ झैँ लाग्दो रहेछ तर सङ्कोचले त्यो गर्न दिँदैनथ्यो । भित्ताभरि साना नानीहरूका राम्रा राम्रा तस्बिर टाँस्नु, खानपानमा ध्यान दिनु, काम गर्दा होस पुऱ्याउनु र सुत्दा समेत आफैँले आफैँलाई अलिक बढी ख्याल राख्नु पर्दो रहेछ । पेटमा रहेको शिशुलाई पौष्टिक तत्व पुगोस् भनेर खाएको पौष्टिक आहारले शरीर बेढङ्गले बढेको देख्दा उदेक लाग्थ्यो । बस्न, हिँड्न वा बसेको ठाउँबाट उठ्न अटसमटस हुँदो रहेछ । चिसोमा शरीरलाई न्यानो बनाउन, गर्मीमा शीतल बनाउन अलि बढी प्रयास गरिँदो रहेछ । कुनै खानाको गन्ध, कुनैको स्वाद र कुनैको बनावट मन नपरे अमन हुँदो रहेछ । मन परेको कुनै खानाको परिकार एक(दुई पटक दोहोऱ्याएर खाएमा पनि मन भरिदो रहेछ । आफ्नो बाहिर निस्किएको पेटका कारण मानिसले गर्ने व्यवहार समेत फरक लाग्दो रहेछ । तर जन्म दिएर बाहिरी संसारमा ल्याउन लागेको सन्तानको बारेमा सोचेर पलपलमा एक किसिमको अनौठो रोमाञ्चकताले शिशुलाई काखमा राखेर न्यानो मायाको स्पर्शले खेलाउने रहर जाग्दो रहेछ ।

दोस्रो कथा

प्रसवको वेदना निकै कष्टकर हुँदो रहेछ । त्यो वेला प्राण जान्छ झैँ लाग्दो रहेछ । भित्रका हड्डीहरू सरेर भाँचिए झैँ लाग्ने प्रसव पीडाका वेला, पीडा कम हुन्छ कि भनेर आफैँ चिच्याइँदो रहेछ । प्रसव वेदनाका वेलामा औषधि सेवन गर्नुहुँदैन तर त्यो वेला सास फुलेर प्राण जान्छ झैँ हुँदा पीडा कम गर्ने औषधिको सेवन गरौँ झैँ लाग्दो रहेछ । प्रसूति गृहमा रहेका नर्सहरू पीडा सहेर आमा बन्न लागेकाहरूसँग साह्रै कठोर बोली प्रयोग गर्थे । त्यसवेला उनीहरूले बोलेको शब्दले यतिसम्म घोच्थ्यो कि त्यो पीडा भनिसाध्य छैन । मैले पहिलो पटक त्यही पीडाको बीचमा आमालाई सम्झिएँ । आमासँग झगडा गरेको र आमाले सहेको सम्झिएँ । मलाई त्यो वेला आमाको साह्रै माया लागेर आयो । हुन त म हरेक पीडामा आमाको नाम लिन्थेँ तर आज आमा, आमा नभएर ज्यान जोखिममा पारेर मलाई जन्म दिने एक महान नारी देखें । आफैँ आमा हुन लाग्दा मात्र मेरी आमाको योगदान सम्झिएँ । मैले निकै ठूलो कष्टका बीचमा छोरीलाई जन्म दिएँ । केहीबेरमा मलाई नर्सहरूले बाहिर ल्याए ।

बाहिर आउनासाथ आमाले गहभरि आँसु पारेर नातिनीलाई बोक्नुभयो । चोलोको गोजीबाट पैसा निकालेर नातिनीको मुख हेर्नुभयो । मलाई सुम्सुम्याउनुभयो । त्यो वेला हामी दुवैको आँखाबाट आँसु बगिरहेको थियो । उहाँले आफैँले जन्माएकी छोरीलाई आमा बनेको देखेपछि सायद भावविभोर हुनुभएको थियो होला । केही बेरपछि मलाई खाना खुवाउन भनियो । आमाले घरमा बनाएर ल्याएको ओखती, मासु र ज्वानोको झोल खुवाउनुभयो । त्यो एक(एक गाँस तितो थियो तर आमाको प्रेम त्यसमा पोखिएर होला त्यसको स्वाद मुटुसम्म पुगेको थियो । अस्पतालमा हेर्न आउनेहरू पनि सुत्केरीलाई तङ्ग्रिनलाई खुवाउने विभिन्न परिकार लिएर आएका थिए । अरूवेला मलाई हालखबर सोध्नेहरू आज मैले जन्माएकी छोरीलाई बोकेर उसको बारेमा जान्न रुचाउँथे । मलाई ईर्ष्या लाग्यो ।

छोरी लिएर घरमा आएपछि एक(एक छिनमा छोरीको स्याहार गर्नु, उसलाई हेरेर उसैमा भुल्नु, उसलाई मुसार्नु, उसैसँग मुस्काउनु, चल्नु र जिस्किनु नै जीवन हो झैँ लाग्यो । छोरीसँग हुँदा दिन बितेको थाहा नै नहुँदो रहेछ । त्यो आनन्द बयान गरि नसक्नुको अद्भुत हुँदो रहेछ । प्रसूति भएको केही दिनसम्म उठ्न समेत सकस परेको थियो ।

आमा बनेपछि महिलाको करिअर समाप्त हुन्छ भन्ने सोचबाट म ग्रसित थिएँ । हुन त यो सोच मेरो मौलिक थिएन, ममाथि समाजका आमा बनिसकेकाहरू धेरैबाट यो थोपारिएको थियो । तर वास्तवमा त्यसो होइन रहेछ । मैले आमा बनेपछि पनि जीवनमा कुनै बोझ महसुस गरेको छैन । छोरीको स्याहारमा समय खर्चेर बाँकी रहेको समयमा घर बाहिर निस्किएर गर्नु पर्ने कामका लागि पनि पर्याप्त समय मिलेको छ । म आमा बनेपछि मिसेस प्रदेश १ २०१८ को उपविजेता बनेकी थिएँ । हुन त यस कामका लागि मेरा दुई बहिनी, आमाबुवा र मेरो श्रीमान्को धेरै साथ छ तर सबैभन्दा बढी मेरो छोरी कियाको यसमा योगदान छ । मैले सानोमा जसरी आमालाई खोज्थें, उसले पनि त्यसैगरी हर प्रहर मलाई खोज्छे होली भनेरै म उसलाई पर्याप्त समय दिन्छु । मलाई थाहा छ, न्यास्रो लागेको वेला सुम्सुम्याएर बोल्ने आमा नहुँदा कस्तो हुन्छ भनेर, त्यसैले म उसबाट समय कटौती गर्न चाहन्नँ ।

हुन त समाजमा नानी भएपछि घर बाहिरको काम गर्ने आमाहरू नभएका भने होइनन् तर उनीहरू अपवादमा छन् । बिहेपछि लामो समयसम्म श्रीमान् र घरका सदस्यहरूका नाममा आफ्नो इच्छा, आकाङ्क्षा र रहरलाई बलि चढाउँछन् । नानी भएपछि पनि छोराछोरीको हेरचाहका लागि आफ्नो पेशा छाड्नेहरू पनि छन् । तर ती सन्तानहरू जबसम्म आफैँ आमा बन्दैनन्, आमा शब्दको अर्थ बुझ्न सक्दैनन् । नमरी स्वर्ग देखिन्न भन्ने आख्यानलाई यसले पुष्टि गर्छ । मैले चाहिँ आमाकै भूमिकामा आएपछि मात्र आमाको योगदानको उचित मूल्याङ्कन गर्न सकिँदो रहेछ भनेर बुझेकी छु । सन्तानलाई कुनै कष्ट पर्ला कि भनेर हरपल चिन्ताले सताउने, अलिकति आँखामा आँसु टिलपिलाएको देखे पनि मन भरिएर आउने आमालाई मात्र हुँदो रहेछ । आमा त आफू मरेर सन्तानलाई बचाउन, आफू रोएर सन्तान हँसाउन, पछि हटेर सन्तान अघि बढाउन प्रेरणादायी, निस्वार्थी, कोमल हृदयकी खानी, र साक्षात् भगवान्को रूप नै रहिछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप