सुर्खेतमा हरित अभियान: ७८ हजार बिरुवा उत्पादनदेखि ‘सीएम’ पार्क निर्माणसम्म
सारांश
- सुर्खेत डिभिजन वन कार्यालयले जिल्लाभर हरित अभियान चलाइरहेको छ, जसमा बिरुवा उत्पादन, रोपण र पार्क निर्माण भइरहेका छन्।
- कार्यालयले चार स्थानमा नर्सरी स्थापना गरी ७८ हजारभन्दा बढी बिरुवा उत्पादन गरेको छ, जसले वन क्षेत्र र सहरी हरियाली प्रवर्द्धन गर्नेछ।
- वन कार्यालयले पर्यटकीय पूर्वाधार निर्माणमा पनि लगानी गरेको छ, जसमा सीएम पार्क र गंगामाला देउती बजै मन्दिरको विकास समावेश छ।
सुर्खेत । डिभिजन वन कार्यालय सुर्खेतले जिल्लाभर हरित अभियान सञ्चालन गरिरहेको छ । जस अन्तर्गत यो वर्ष वातावरणीय र पर्यटकीय विकासका क्षेत्रमा बिरुवा उत्पादन, रोप्ने र पार्क निर्माणका काम भएका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरलाई हरियाली बनाउनेदेखि नाङ्गा डाँडाहरूमा वृक्षारोपण गर्नेसम्मका महत्त्वाकाङ्क्षी योजनाहरूलाई कार्यालयले यो वर्ष अघि बढाएको छ ।
डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठका अनुसार, जिल्लाका चार स्थानमा स्थायी नर्सरी स्थापना गरिएका छन् । ती नर्सरीमा विभिन्न प्रजातिका ७८ हजार ४ सयभन्दा बढी बिरुवा उत्पादन गरिएको छ । वीरेन्द्रनगर, भेरीगंगाको छिन्चु, लेकवेशीको दशरथपुर र सिम्तामा स्थापित नर्सरीहरूमा काष्ठ, गैरकाष्ठ तथा सौन्दर्यमूलक बिरुवाहरू हुर्काइएका छन् । ‘यी बिरुवाहरू वन क्षेत्रको खाली जमिन र सहरी क्षेत्रको हरियाली प्रवर्द्धनका लागि प्रयोग गरिनेछ,’श्रेष्ठले रातोपाटीसँग भने ।
उनका अनुसार बिरुवा उत्पादनको मुख्य उद्देश्य दोहोरो रहेको छ । एकातिर रिठा, खयर, सिसौ, हर्रो, बर्रो जस्ता प्रजातिहरू नाङ्गा डाँडामा रोपेर वन विकास गर्ने लक्ष्य छ भने अर्कोतिर गुलमोहर, वीरेन्द्रफुल, कल्किफुल जस्ता सौन्दर्यमूलक बिरुवाहरू सडक किनारा, पार्क र सार्वजनिक स्थलमा रोपेर सहरको सौन्दर्य बढाउने योजना छ । बिरुवा उत्पादनमा मात्रै प्रदेश सरकारबाट विनियोजित १७ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।
यसका साथै, डिभिजन वन कार्यालयले पर्यटकीय पूर्वाधार निर्माणमा पनि लगानी गरेको छ । मुख्यमन्त्री निवासको दक्षिणतर्फ २९ लाख ११ हजारको लागतमा ‘सीएम पार्क’ निर्माण गरी उत्पादन गरिएका बिरुवा रोपिएको छ ।
यस्तै, प्रसिद्ध गंगामाला देउती बजै मन्दिरको पूर्वाधार विकासमा पर्खाल, मार्बल बिछ्याउने जस्ता काममा ३६ लाख ८५ हजार रुपैयाँ खर्च गरिएको छ ।
समग्रमा, कार्यालयले पर्यटन पूर्वाधार प्रवर्द्धनअन्तर्गत यो वर्ष १५ वटा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी सुर्खेतको हरित विकास र पर्यटकीय आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण