वैदेशिक रोजगारीमा जानेलाई विना धितो ऋण, स्वास्थ्य परीक्षण पूर्ण डिजिटल : श्रम मन्त्री
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई बिना धितो ऋणको व्यवस्था गर्न लागेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई मिटरब्याजीको पासोबाट मुक्त गर्न बिना धितो ऋणको व्यवस्था गर्न लागिएको बताएका हुन् ।
श्रमिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य परीक्षण प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउन लागेको समेत बताए ।
प्रतिनिधिसभा बैठकमा सांसद् प्रेम सुवालले राखेको प्रश्नमा जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा रहेका विकृतिलाई अन्त्य गर्न सरकारले नीतिगत सुधारका लागि महत्त्वपूर्ण कदम चालेको बताए ।
मन्त्रीले वैदेशिक रोजगारीमा जाने युवाहरू चर्को ब्याजदरमा ऋण लिन बाध्य हुँदा ठगीमा पर्ने गरेको स्विकार्दै यस समस्याको समाधानका लागि नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा बिना धितो ऋण उपलब्ध गराइने बताए ।
‘अब श्रमिकहरूले बैंकबाटै सहज किस्तामा तिर्न सक्ने गरी ऋण पाउनेछन्, जसले उनीहरूलाई मिटरब्याजीको चङ्गुलबाट जोगाउनेछ,’ मन्त्री भण्डारीले भने ।
डिजिटल स्वास्थ्य प्रणाली र ‘टेलिमेडिसिन’
वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा बढी नेपालीको शव विदेशबाट ल्याउनुपरेको बताउँदै मन्त्री भण्डारीले स्वास्थ्य परीक्षणमा हुने लापरबाही अन्त्य गर्न सरकारले विज्ञहरूको सिफारिसमा स्वास्थ्य परीक्षणलाई पूर्ण डिजिटल प्रणालीमा लैजान लागेको बताए ।
‘अब प्रत्येक श्रमिकको स्वास्थ्य परीक्षणको पूर्ण विवरण अनलाइन प्रणालीमा रहनेछ। उनीहरूले विदेशबाटै पनि ’टेलिमेडिसिन’ मार्फत स्वास्थ्य परामर्श लिन सक्नेछन् र नेपाल फर्किँदा पनि उनीहरूको स्वास्थ्य परीक्षण गरिनेछ,’ उनले भने ।
मलेसियासँग नयाँ श्रम सम्झौता र कानुनी सुधार
मन्त्रीले मलेसियासँगको पुरानो श्रम सम्झौता नवीकरणको प्रक्रिया अघि बढेको र त्यहाँ कार्यरत नेपालीका लागि न्यूनतम तलब १७ सय रिङ्गिट, २४ घण्टे बीमा र सामाजिक सुरक्षा कोषमा आबद्धता जस्ता सकारात्मक व्यवस्थाहरू भएको जानकारी दिए ।
२०६४ सालको पुरानो ऐनका कारण ३६ हजारभन्दा बढी ठगीका मुद्दा विभागमा थन्किएको स्विकार्दै उनले मुद्दाको अनुसन्धान र अभियोजनको अधिकार जिल्लास्तरमा पठाउने गरी कानुन संशोधनको तयारी भइरहेको बताए ।
‘विभागका सीमित कर्मचारीले हजारौँ मुद्दा हेर्नुपर्ने अवस्था अन्त्य गर्दै पीडितलाई छिटो न्याय दिन यो कदम आवश्यक छ,’ मन्त्री भण्डारीले भने ।
यसबाहेक, विदेशी जेलमा रहेका नेपालीहरूलाई कानुनी सहायताको अभाव हुन नदिन सम्बन्धित देशका नियोगहरू मार्फत कानुनी व्यवसायी नियुक्त गरी सहयोग प्रदान गर्ने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण