मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने

मङ्गलबार, २४ असार २०८२, १७ : ४९
मङ्गलबार, २४ असार २०८२

सारांश

  • नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपमा यु-१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छिन्।
  • शिभालीले फ्रान्स, जर्मनी र बेल्जियममा प्रतिस्पर्धा गर्नेछिन्, जसमा फ्रान्समा २ वटा प्रतियोगिताहरू छन्।
  • शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दैछिन्, उनलाई नेपाल टेनिस संघले बिदाइ गरेको छ।

काठमाडौँ । नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम/आईटीएफ/एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत ४ प्रतियोगिता खेल्ने भएकी छन् । शिभालीले फ्रान्समा २ तथा जर्मनी र बेल्जियममा समान १–१ प्रतियोगिता खेल्ने छिन् ।

प्रतियोगिता खेल्नुअघि शिभाली जुलाई ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुने छिन् । त्यसपछि शिभालीले जुलाई १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्ने  छिन् ।

जुलाई २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुने छिन् । जुलाई २८ देखि अगस्ट ३ तारिखसम्म जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । अगस्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुने छिन् । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्दै छिन् ।

उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुन् । एसियामा चौथो वरीयता प्राप्त गरेपछि शिभाली छनोट भएको नेपाल टेनिस सङ्घले जनाएको छ । एसियाबाट समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए ।

शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मूल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबिच बिदाइ गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप