यो हुम्लाको नयाँ इतिहास हो
- विषय प्रवेश
नेकपा माओवादी केन्द्रले केन्द्रीयस्तरमा तराई–मधेसमा हुलाकी मार्ग र पहाडमा मध्यपहाडी लोकमार्गमा जनजागरण अभियान सञ्चालन गर्यो । कर्नाली (कर्णाली) प्रदेश समितिले मध्यपहाडी लोकमार्गमा सहभागिता जनायो ।
आफ्नो भौगोलिक विशेषतालाई ध्यानमा राखी हुम्ला जिल्ला पार्टीले ‘हुम्ला जागरण तथा समाजवादका लागि कर्नाली करिडोर अभियान, २०८२’ सञ्चालन गर्ने निर्णय गर्यो । कर्नाली करिडोर तीन देश (भारत, नेपाल र चीन), तीन प्रदेश (लुम्बिनी, कर्नाली र सुदूरपश्चिम) र सात जिल्ला (बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, बाजुरा र हुम्ला)लाई जोड्ने ऐतिहासिक शिल्क मार्गको शाखा हो । यो करिडोर बाँके जमुनाहबाट गणना गर्दा ६८२ किलोमिटर र सुर्खेत सुब्बाकुनाबाट ४०३ किलोमिटर लामो छ ।
अभियानको उद्देश्य
अभियानको मुख्य उद्देश्य मूल सडकमा टेकेर राजनीतिक चेतना फैलाउनु हो । सामाजिक न्याय र आर्थिक उन्नतिको आधार तयार गर्नु हो । सांस्कृतिक विरासतलाई संरक्षण गर्दै विद्यमान भ्रष्टाचार, कमिशनखोरीजस्ता विकृतिविरुद्ध र सुशासनको पक्षमा जनचेतना फैलाउनु हो । कृषि, पर्यटन र व्यापारिक सम्भावनाका लागि कर्नाली करिडोरको दिगो विकासमा जोड दिनु हो ।
यस क्रममा ताँजाकोटको कुवाडी, अदानचुलीको गल्बागाड, चंखेलीको पिप्लाङ, सर्केगाडको सर्केगाड बजार र तुम्च, खार्पुनाथको याङ्चुकुना, सिमकोटको सिमकोट बजार, नाम्खाको याल्बाङ र हिल्सामा औपचारिक कार्यक्रम गर्यौँ । कार्यक्रममा अहिलेको राजनीतिक अवस्था, सत्ताधारीको गैरजिम्मेवार व्यवहारको भण्डाफोर र पालिकापिच्छे गर्नुपर्ने विकासको खाका कोर्दै अगाडि बढ्यौँ ।
- अन्तर प्रदेशको सहकार्य
हाम्रो पहिलो कार्यक्रम कुवाडीमा अन्तर प्रदेशको सहकार्यमा सुरु भयो । ताँजाकोट गाउँपालिकाले व्यवस्थापन गरेको कार्यक्रम मेरै अध्यक्षतामा भएको थियो । यस अभियानबाट बाजुराका कमरेडहरूसँग औपचारिक सम्बन्ध स्थापित भयो । चौध टहरामा व्यापार व्यावसाय गरिरहेका कुवाडीवासीलाई यस्ता कार्यक्रमको निरन्तरताले व्यापार व्यवसाय बढाउन सहयोग मिल्नेछ ।
यहाँ मासपुर भन्ने गाउँ बहुदल आएपछि पत्ता लागेको हो । त्यहाँसम्म सडक पुर्याउनुपर्ने छ । कुवाडीबाट मासपुर, गुम्बाको बाटो भएर सांख्या लेक हुँदै रानीसैन, चाला, सैपाल, मुचु पुग्न सकिन्छ । यसलाई पर्यटन पदमार्ग बनाउनुपर्ने छ । विगतमा कुवाडीदेखि मैला उक्लँदा कम्ता हैरान हुँदैनथ्यो । यो पङ्क्तिकार योजना आयोगमा हुँदा अन्तर प्रदेश सडकको रूपमा प्रदेशबाट कुवाडी–ताँजाकोट–अदानचुली–सर्केगाड सडक प्रस्ताव गरेकाले ताँजाकोटको विकासको मेरुदण्ड फेला परेको छ । अब कुवाडी–छप्रेला–मदनाखौला सडकको स्तरोन्नतिमा लाग्नु पर्छ ।
जिमाना काँडाको बेलखारामा लिफ्ट सिँचाइ गर्न सकेमा ताँजाकोट पालिकाभरका जनतालाई पाल्न सक्ने गरी उत्पादन हुन सक्छ । हाल त्यहाँ सिँचाइको अभावमा जमिन बाँझो छ । यसको अध्ययन पञ्चायतकालमा भएको थियो । इन्जिनियर जीवन बोहराका अनुसार अध्ययन भए पनि असम्भव भनेर छोडिएको थियो । यसलाई कुवाडीबाटै लिफ्टिङ गरेर सिँचाइको व्यवस्था गर्न सम्भाव्यता अध्ययन गर्नुपर्ने देखिन्छ ।
यस्तै छहरादेखि घटमाना, कुवाडीसम्म खानेपानीको व्यवस्था गर्नुपर्ने छ । कुवाडी जलविद्युत् आयोजना (३० मेगावाट) अगाडि बढाउन सक्दा यस क्षेत्रमा आर्थिक उन्नति ह्वात्तै बढ्ने छ । यसका लागि निजी क्षेत्रलाई आकर्षित गर्नुपर्छ ।
ताँजाकोटमा जे जति विकास भएको छ, त्यो हाम्रै पहलमा भएको हो । २०७७ साउन ३१ गते ताँजाकोटमा बाढी पहिरो गयो । त्यो समयमा कर्नाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही हुनुहुन्थ्यो । तत्कालीन प्रदेश अर्थमन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र म ताँजाकोट पुग्दा अवस्था निकै भयावह थियो । यसैले प्रदेशबाट बस्ती विकासका लागि १० करोड रुपैयाँ एकैचोटी लगानी गरेपछि ताँजाकोटले रूप फेर्न थालेको हो । रामाको भूमिगत तीन तले दरबारको पुरातात्त्विक महत्त्व भएकाले संरक्षण गर्न आवश्यक छ ।
ताँजाकोटको मुकाम अहिले छप्रेलामा छ । पहिले ‘तँ जा कोट’ भन्न्ने अवस्थामा स्थापित नाम हो ताँजाकोट । उतिबेला कोटमा जान चुनौती थियो रे !
- किराती सभ्यताको डोब
अदानचुली गाउँपालिकाको गल्बा गाडमा हाम्रो दोस्रो कार्यक्रम भयो । गल्बाको गौडोमा अहिले बेलिब्रिज बनेको छ । अदानचुलीको गल्वा दरामा किराती सभ्यताका चिह्न छन् । राई ढुङ्गो र देवान ढुङ्गाले ६००० वर्षअघिको सूचना दिएको देखिन्छ । राई ढुङ्गालाई गल्बावाशी श्री राखेको हुनाले श्रीनगर भन्न मन पराउँछन् । कपिल ऋषिको तपस्या भूमि कल्ख्या गाउँ जस्ताको तस्तै छ ।
यही वर्षको वैशाख ४ गते विहान श्रीनगरमा गएको बाढीले ११ घर तथा पसलमा क्षति पुगेको थियो । पीडितलाई राहत दिन आवश्यक छ । हामीले जिल्ला विपद् व्यवस्थापन समितिमा कुरा उठायौँ । अहिलेसम्म राहत प्राप्त भएको देखिएन ।
यहाँ गल्वादेखि पाल्स सडकको स्तरोन्नति गर्नैपर्छ । पाल्सबाट सर्केगाड जोड्नु पर्छ । कर्गैदेखि श्रीनगर कल्ख्यासम्म सिँचाइ गर्न सकेको खण्डमा गल्बा दरामा अनिकाल पर्ने छैन । पानीको अभाव भएको यहाँ कपास खेती गरेमा मनग्ये फाइदा लिन सकिन्छ । अदानचुली, नौमुली र मुन्या लेकको पर्यटकीय महत्त्व छ । यहाँ भेटिएको बाउवीर्या अर्थात् पुट्क्या रुखको कथाले वनस्पति विज्ञानमा नयाँ आयाम थप्न सक्छ ।
कतिपयलाई थाहा छैन होला, मुन्या लेकको नामकरणको कथा । मुन्या मेरो नौ पुस्ता अघिको सहोदर बाजे हुनुहुन्छ । संक्षेपमा रादेउका मुन्या रोकायाले रिप गाउँमाथिको घनघोर जङ्गल र लेक काटेर पहिलो पटक एक्लै पाल्स पुगी मुखियाको घरबाट छोरी ल्याएकाले त्यो बहादुर मान्छेको नामबाट मुन्या लेक नामकरण भएको हो ।
- अंग्रेजले लुटेको प्रमाण
तेस्रो कार्यक्रम अदानचुली र सर्केगाडको सीमा क्षेत्रमा रहेको सर्केगाड–१ बाहुनवाडा तुम्चमा गर्यौँ । हाम्रो गाउँघरमा चुटकिला खेल्दा ‘देशीले द्यार (देवदार) बगाई लैगो’ भन्ने गर्दथ्यौँ । त्यो इष्ट इण्डिया कम्पनी सरकार हुँदाको समयको कुरा हो । अंग्रेजले हुम्लाका विभिन्न ठाउँबाट देवदारको रुख काटेर लिएका थिए । देवदारको रुख बगाएर लिने बेला धनसिंह मालदारले कर्नालीमा बगी सक्यो होला भन्ने मान्छे भेटेपछि ‘तुम् छ ?’ भनी सोधेको ठाउँको नाम अचेल तुम्च नामकरण भएको छ ।
तुम्चको फाँटलाई हुम्लाको तराईभन्दा हुन्छ । तुम्च जिउलाको उत्पादकत्व देखेर यसै पंक्तिकारको निर्णयबाट लिफ्ट सिँचाइको व्यवस्था भयो । यो लिफ्ट सिँचाइका लागि अध्ययन गर्ने क्रममा कल्ख्याका काल्या धामीले सुल्पा खाँदै मेरा कुरा सुनेपछि भन्नुभएको थियो– ‘उँभो हुम्लाका मान्छे कहिले आएर फित्ता नाप्छन् र एअरपोर्ट बनाउने भन्छन् । टोट्याउछन् । कहिले उँदो बग्ने कर्नालीको पानी माथि ल्याएर सिँचाइ गर्ने भन्छन् । यो त हुँदै नहुने कुरा भयो । यदि यो गर्यौ भने मेरो माथाको देउताभन्दा तुमी न मानुँला... !’
यो चुनौतीपूर्ण शब्द कानमा गुञ्जिरहेका छन्, तर खुसीको कुरा, यो वर्षदेखि लिफ्ट सिँचाइ प्रयोगमा आएको छ । यो कर्नाली करिडोरबाट उँधो–उँभो गर्नेहरूले देखेकै छन् । दार्म र रोडिकोट शेराको जिउलामा पनि यस्तै गर्नुपर्ने देखिएको छ । यसो त सबै पाखामा लिफ्टिङ सिँचाइको आवश्यकता देखिएकाले सबै नाङ्गा पहाडमा हराभरा ल्याउन कर्नाली (नदी)लाई पहाड चढाउने अभियान चलाउनुपर्ने भइसकेको छ ।
तुम्चमा प्रसारण लाइनको सवस्टेशन बन्दैछ । संघीयताको मर्मअनुसार तुम्चवासीका लागि वडा छुट्ट्याउनै पर्ने देखिएको छ । एउटा सिफारिसका लागि तीन घण्टा उकालो चढी जैर जानु परेको छ । यहाँका महिलाहरूले स्याउला, दाउरा र घाँस गर्न तुम्च–सुकाटाङ पदमार्ग आवश्यक भएको बताएका छन् । पारी मुगुमा कुटानी पिसानी गर्न जाँदा धेरै अप्ठ्यारो बेहोरेको सुनिएको छ । यहाँको विद्युत् छिटै सञ्चालनमा ल्याउनु पर्ने र यसका लागि सहजीकरण गर्नुपर्ने देखियो ।
- काठमाडौँ जाने छोटो बाटो
कर्नाली करिडोरभन्दा करिब ५ किलोमिटर पर गएर चंखेली गाउँपालिकाको पिप्लाङमा हामीले चौथो कार्यक्रम सञ्चालन गर्यौँ ।
चंखेली गाउँपालिकामा कर्नाली करिडोरले सल्लीसल्लामा मात्र छोएको छ, तर यहाँ मुगु जोड्ने चंखेली सडक बनेको छ । यस सडकलाई सबैभन्दा महँगो भएकोमा आपति जनाउने विकास साझेदारसँग मैले यस सडकलाई हिमाली पर्या–पर्यटकीय सडक नामकरण गरेको र यस सडकबाट केन्द्रीय राजधानी काठमाडौँ छिटो पुग्न सकिने तथ्य र तर्क दिएको कुरा स्मरण गराएँ ।
यस सडकबाट हुम्ला, मुगु, जुम्ला, डोल्पा, बाग्लुङ हुँदै पोखरा भएर काठमाडौँ जान सकिन्छ । यो पुरानो राजको बाटो पनि हो ।
पिप्लाङ–नेप्का, पिप्लाङ–पाली, पिप्लाङ–मेल्छाम–चरिगाउँ–पुमा हुँदै कल्लाँस र पिप्लाङ–मेखाल जोड्ने सडक बन्ने क्रममा छन् । नेप्का सडकले टाँक्या नाकाबाट फाइदा उठाउन सक्छ । पत्याउनु हुन्छ ? नेप्कामा एकै दिनमा सात पटक घाम लाग्छ । कसरी भन्ने कुरा त्यहाँ पुगेर मणिलेकसँग साक्षात्कार गरेपछि थाहा हुन्छ । यहाँको अतिथि सत्कारबाट सबै जना प्रभावित हुन्छन् ।
लोती नदीमा सडक पुल बन्दैछ । प्रथम सहिद बक्त बुढाको पुमा गाउँमाथिको ह्याप्स्यामा सहिद पार्क बन्दैछ । हामी पुमालाई पहिलो सहिद गाउँका रूपमा चिन्छौँ ।
खार खोला र खापर खोलाको विद्युत् उत्पादन भइ सञ्चालनमा छ । यी सबै हाम्रै पहलमा भएका हुन् । पिप्लाङ एकीकृत बस्ती विकासको अध्ययन भइसकेको छ । पिप्लाङमा बृहत् खानेपानी आवश्यक छ । जडीबुटी प्रशोधन केन्द्र रिमीलाई मर्मत गरी सञ्चालनमा ल्याउन सके फाइदा उठाउन सकिन्छ ।
लोती खोला ४९.५ मेगावाट जलविद्युत् आयोजनालाई निर्माण गर्न सके यो क्षेत्रले आर्थिक उन्नति गर्न सक्छ । दार्म जिउलो हेर्दै राम्रो छ । यहाँ चंखेलीको छायाले भनेजस्तो उत्पादन हुँदैन । त्यसका साथै विगतमा तामे कुलाको कथा बनाउनेहरूले अहिले दार्म जिउला सिँचाइलाई विषयान्तर गर्न हुँदैन ।
दार्मको देउली कोट धेरै लामो समय शक्तिकेन्द्र थियो । अहिले यहाँको मुकाम पिप्लाङमा झरेको छ । स्थानीय तहमा स्थानीय अन्तरविरोधका कारण पराजय बेहोर्न पुगेको हाम्रो पार्टी अहिले एकताबद्ध भएर लागेको छ ।
- जिल्लाको केन्द्रविन्दु
समुद्र सतहबाट एक हजार ६६८ मिटर अग्लो स्थानमा रहेको सर्केगाड गाउँपालिकाको केन्द्र सर्केगाड बजारमा हाम्रो पाँचौँ कार्यक्रम भयो ।
‘सर्क’ भनेको आकाश हो । आकाशसँग जोडिएको पहाडबाट आमाको दश धारा दुधजस्तै बगेर आएका पंखा, लेप्च्या, द्यार्या र नुन्यापानी खोलाको गारलाई गाड लेख्ने चलन भएकाले सर्केगाड नामकरण भएको छ । यस्तै सात सर्की र पुल नहुँदा बावियाको लरोमा तर्ने कार्यलाई घाट भनिन्थ्यो । यसलाई जोडेर सर्कीघाट भएको र यसलाई पछि सर्केगाड भनिएको हो भन्ने पनि छ ।
यसो त पहिले यहाँ औलो लाग्ने भएकाले र यहाँ बसेको कल्याललाई सोरु ‘सर्क्या’ अर्थात् सरेर बस भनेको आधारमा सरेकाले सर्क्या भनिएको तथा यहाँको गाडलाई जोडेर सर्क्यागाड भन्न थालिएको तर्कसमेत सुन्नमा आएको छ ।
यसैगरी एक पटक सिमाली र रादेउको बिचमा पर्ने कालढुङ्गीको ढुङ्गोसमेत बगेर आइपुग्दाको विपतले यहाँ जता पनि सर्केजस्तो गाड भएकाले सर्केगाड नामकरण भएको हो भन्ने पनि सुनिएको छ ।
यहाँ अनेक कहानी भेटिन्छन् । महादेवले सबभन्दा पहिले जौ उमारेको, जोत्दै गरेको किसान बाढी पहिरोमा परी हलाजु डुबेको र डब्टीमा उत्रेको स्थानले लोकधर्मको खोजी गराइरहेको छ । बाह्र भाई मैठा र बाह्रदेउको चौतारो तथा गाउँ पुग्नु अघि देखिने गुम्बाहरूले पुराना सभ्यता बोध गराइरहेका छन् ।
यहाँ १५ शय्याको रणनैतिक अस्पताल बन्दैछ । यो पंक्तिकारको विशेष पहलमा सर्केगाड–मारघोर–खार्पुनाथ सडक थुम्चासम्म पुगेको छ । यस सडकलाई प्रदेश सरकारले निर्माण व्यवसायीलाई देखाएर ५० लाखमात्र बजेट विनियोजन गरेको देखिन्छ । यसरी लक्ष्यमा पुग्न सकिने देखिँदैन । झाँपुकुना–कुती–भुवा सडक फुचा पुगेको छ । खच्चा–जैर, गुसा–उनापानी–रिप–वीउबारा, सर्केगाड–साँया–बराइ, घिउसी–छ्यागी–बराइ र फुचा–रादेउ–सिमाली–बराइ सडक बन्ने क्रममा छन् ।
यहाँ सबैभन्दा समस्या मोबाइल टावरको छ । माइक्रो वेभ रेडियो ट्रान्समिसनबाट मात्र हुम्ला बाहिरी विश्वसँग जोडिएको छ । हुम्लामा अझै अप्टिकल फाइबर बिछ्याउने काम सुरु भएको छैन । फोरजी टावर बनेका छन् । यसमा पालिकाले पनि लगानी गरेको छ, तर निर्माण व्यवसायीका कारण सेवा प्रभावकारी हुन सकेको छैन ।
यो पृष्ठभूमिमा सर्केगाड गाउँपालिकामा मात्र होइन, सिङ्गो हुम्ला जिल्लालाई सूचना तथा सञ्चारको हकबाट बञ्चित नहुने आधार बनाउन नेपाल सरकारले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरेर यहाँको दुर्गमता हल गर्नुपर्छ । यसका लागि नेपाल दूरसञ्चार प्राधिकरण, निजी इन्टरनेट सेवा प्रदायक र स्थानीय सरकारको समन्वयमा हुम्लाका सबै गाउँ ठाउँमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्नुपर्छ ।
भौगर्भिक हिसाबले जिल्लाकै केन्द्र भागमा सर्केगाड छ । यहाँ दक्ष जनशक्ति निर्माणका लागि हिमज्योति बहुमुखी क्याम्पसलाई आंगिक रूपमा सम्बन्धन गराएर प्राविधिक धारको पढाई सञ्चालन गर्नुपर्ने देखिन्छ । हिमज्योति नमुना मावि सर्केगाडलाई प्रविधि केन्द्र बनाउन जोड दिनुपर्छ ।
हामीले कोट मावि सिमालीलाई आवासीय रूपमा सञ्चालन गर्न चाहेका छौँ । मैले सम्भाव्यता अध्ययन र सिफारिस गरेकोमध्ये यो एउटा विद्यालय हो । यसमा पूर्वमन्त्री दल रावल र प्रदेश मानव संशाधन कार्यालय निर्देशक धर्मजीत शाहीको महत्त्वपूर्ण योगदान छ । समग्र शैक्षिक सुधारका लागि यहाँ विद्यालय एकीकरण, आमा शिक्षा परियोजना र स्मार्ट स्कूल परियोजना लागु गर्नुपर्ने देखिएको छ ।
यतिबेला सर्केगाडमा जिल्ला नेतृत्वको केन्द्रीकरण छ । माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीको जिल्ला अध्यक्ष सर्केगाडकै छौँ । कांग्रेसको जिल्ला सभापति सर्केगाडसँग जोडिएको अदानचुलीको हुनुहुन्छ, तर हरेक हिसाबले यो क्षेत्र पछि परेको महसुस भयो ।
गोलागाड, नेपालगञ्ज र सुर्खेतको हाट सडकसँगै सर्केगाड पुग्न ढिला भयो । भोटको हाट पनि याल्बाङ, सिमकोट, खार्पुनाथ हुँदै आउन ढिला भयो । यसैले एकीकृत शहर विकास परियोजना अगाडि बढाएर सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सामाजिक समावेशीताको व्यवस्थापन गर्नु पर्नेछ ।
उपनिर्वाचन लगतै सर्केगाड बजार क्षेत्रमा कर्नाली करिडोरको सडक १२ मिटर चौडा बनाएर विस्तार भएको छ । सर्केगाड बृहत् खानेपानी आयोजनाबाट एक घर–एक धारो व्यवस्थापन गर्नुपर्नेछ । यो योजना कार्यान्वयनको क्रममा छ ।
न्यारी एकीकृत बस्ती विकास आयोजनाको पूरै अध्ययन भएको छ । आवश्यक बजेट व्यवस्था हुन सकेको छैन । नेपाल सरकार वन मन्त्रालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँग स्थानीय पालिकाको सहकार्यमा कथुर्याकोट कस्तुरी संरक्षण क्षेत्रको अध्ययन गर्ने वातावरण बनाइरहेका छौँ । चीनमा कस्तुरी पालन हुन्छ । यस्तै यहाँ कस्तुरी पालन गरेर भोलि एउटा भाले कस्तुरीबाट १६ पटक बीना निकाल्न सकियो भने सर्केगाडको आम्दानी बढाउन कसो नसकिएला ?
यहाँ पर्यटन पदमार्ग निर्माणको पनि खाँचो छ । यसबाट समग्रमा पर्या–पर्यटनको विकास हुनेछ भने हरेक गाउँलाई होम स्टे बनाउँदा सफा हुने वातावरण सिर्जना हुनेछ । सर्केगाड र खार्पुनाथको सीमा क्षेत्रमा रहेको भ्यू दुलादेखि दुद्यादह क्षेत्रलाई जिओपार्क बनाउँदा अर्को प्राकृतिक रमाइलो अवलोकन गर्न सकिन्छ ।
हुम्ला कर्नाली कास्काड (शृङ्खलाबद्ध) जलविद्युत् परियोजना हो । सर्केगाडको था, न्यासीदेखि तुम्च क्षेत्रमा कास्काड परियोजनाको सम्भाव्यता अध्ययन भएको छ । यसैगरी तल्छरी छहरा र रिपगाडमा जलविद्युतको सम्भाव्यता अध्ययन गर्नुपर्ने देखिएको छ । अहिले पंखा कोसाने, पुन्यारी, तल्छरी, रिप, उनापानी र नेरघाटमा लघु जलविद्युत् आयोजना उत्पादन गरेर सञ्चालनमा आएको छ भने छ्यागी र तुम्चमा निर्माणाधीन अवस्थामा छ ।
- खार्पुनाथको महिमा
खार्पुनाथ धार्मिक, पुरातात्त्विक र सांस्कृतिक महत्त्व बोकेको स्थान हो । हाम्रो छैटौँ कार्यक्रम खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु कुनामा भयो । कुना भनेपनि पालिका केन्द्रको बजार हो । हामीले सडककै बिचमा कार्यक्रम सुरु गर्यौँ ।
खार्पुनाथ–चुवाखोला सडक हपल्लो साँघुसम्म ट्रयाक खुलेको छ । यसै वर्षको नयाँ वर्षकै दिन पारेर यो सडकको उदघाटन पूर्वमुख्यमन्त्री जीवन बहादुर शाहीले गर्नुभयो । उहाँसँगै हामी दोजाम हुँदै माथिल्लो साँघुसम्म पुगेर सडकको अनुगमन गर्यौँ ।
यसै पंक्तिकार र खगालगाउँका इन्जिनियर अंग बहादुर लामाको पहलमा संसदको विकास समितिका तत्कालीन सभापति रविन्द्र अधिकारीलाई अनुरोध गर्दा कर्नाली विकास उपसमिति बनाएको र त्यसको संयोजक अहिलेका प्रदेश माननीय जीवन बहादुर शाहीलाई मनोनीत गरेपछि कर्नाली करिडोरको बाटो हुम्लातिर छिर्ने वातावरण बनेको स्मरण पनि गरियो । वैचारिक पक्ष एउटा हो, तर समग्र विकासका लागि सकारात्मक पहल र समन्वयले कति महत्त्व राख्दछ भन्ने कुरा बुझ्न सक्नु पर्दछ ।
कर्नाली करिडोरको बोक्च्या गौडा र भी गौडाको भिर मिलाउने काम भइरहेको छ । बोक्च्या गौडा–पिउस–लाली–गोप्का सडक बन्दैछ । लाली औलदेखि गोप्का सडक जोडिँदैछ । लेकदेखि माझा–छिप्रा–कारंग–राया–थाली सडक पनि बन्दैछ । याङ्चु कुनाबाट दुर्पा हुँदै मारघोर जोड्ने सडक बन्ने क्रममा छ । खर्पेलगाउँसम्म पुगिसकेको सडक स्तरोन्नति गर्नुपर्ने छ । याङ्चुकुना र थाली औलमा सडक पुल ठेक्का लागिसकेको छ ।
खार्पुनाथ मन्दिर हिन्दु धर्मालम्बीहरूको प्रमुख गन्तव्य बन्दैछ । मान्छेले शक्ति र भक्तिमा विश्वास गरिरहेको देखिन्छ । यो पशुपतिनाथ, मुक्तिनाथ, केदारनाथ, बद्रीनाथ जस्तै लोकप्रिय तर ओझेल परेको क्षेत्र हो । योसँगै छायानाथको प्रख्याति बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् विकास विभागले नाम्खाको २, ३ र ४ वडा, सिमकोटको ३, ४, ५, ७ र ८ वडा तथा खार्पुनाथको ४ र ५ वडाबाट हुम्ला कास्काड जलविद्युत् आयोजना (६८१.२ मेगावाट) उत्पादन गर्ने गरी हालै वातावरणीय प्रभाव मूल्याङ्कन गरेको छ । यो भयो भने हुम्लामा आर्थिक उन्नति हुने पक्का छ ।
यहाँ लुड्प्या पाटन, घट्या पातल, देउल मारु माथिको पाटन, भ्यू दुलो, मारघोर लाग्ना आकर्षक पर्यटन क्षेत्र छन् । प्राकृतिक स्रोत भएको, धार्मिक जक्सन बनेको र अन्तर्राष्ट्रिय नाका पनि भएकाले खार्पुनाथ ट्रान्जिट प्वाइन्ट बन्न सक्ने सम्भावना छ ।
- कैलाश मानसरोवरको गेट
हाम्रो सातौँ कार्यक्रम सिमकोट गाउँपालिकाको केन्द्र सिमकोट बजारमा भयो । सधैँ जिल्ला समन्वय, पार्टी कार्यालय, मानसरोवर बहुमुखी क्याम्पस वा होटलमा कार्यक्रम गर्ने माओवादी सडकको चोकमा जमेर कार्यक्रम गरेको देख्दा सिमकोटवासीले समेत अचम्म माने ।
हामी सिमकोटलाई पर्वतीय शहरका रूपमा विकास गर्न चाहन्छौँ । यसलाई कैलाश मानसरोवरको मूल गेट बनाउन चाहन्छौँ । सिमकोट–बरगाउ–ठेहे–दोजाम, सिमकोट–लिमाटाङ–त्वाग्रा, सिमकोट–स्याप्न्या, याङ्गु–स्याँडा–खोल्सी–खगालगाँउ, सिमकोट लाग्ना–फया सडक हामीले पहल गरे अनुसार बनेका छन् ।
स्याँडा जोड्ने सडक पुलको ठेक्का लागिसकेको छ । यसै वर्ष निजी क्षेत्रबाट फुटसल, स्केटिङ र ब्याडमिन्टन हल बनेका छन् । अब खेल मैदानको अधुरो काम पूरा गरी सिम क्षेत्रलाई गल्फ खेल मैदानको सम्भावना अध्ययन गर्न आवश्यक छ । मानसरोवर बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउन पहल गर्नुपर्ने छ ।
यो जिल्ला सदरमुकाम समेत भएकाले कर्नाली करिडोरको हिमाली ट्रान्जिट सिमकोट बनाउनु पर्छ । यहाँ सधैँ लोडसेडिङको मार खेप्नु परिरहेको छ । यसको विकल्प हेप्का खोलाबाट १ मेगावाट निकालौँ भनेर स्रोत खोजेको बेला वास्ता गरिएन, तर अहिले सौर्य ऊर्जा निकाल्न खोजिएको पाइयो ।
- आकाश मुनिको स्वर्ग
हाम्रो आठौँ कार्यक्रम नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा भयो । नाम्खा भनेको भोट्या भाषामा आकाश मुनिको स्वर्ग भन्ने हुन्छ । उच्च हिमाली क्षेत्र हो नाम्खा ।
नाम्खा एकै जाति र भेषभुषा भएको पालिका हो । यहाँका जनसमुदाय याल्वाङ गुम्बाका पेमा रिक्साल लामाले जे भन्यो, त्यही मान्छन् । यो गुम्बाको गतिविधि हेर्दा सबै जनताले पढ्ने बौद्धधर्म विश्वविद्यालयजस्तै लाग्दछ । हाम्रो पार्टीका सल्लाहकार सोनाम ग्याल्जन लामा (औ) कमरेड पनि गुफा पस्नुभएको धेरै भइसकेको छ ।
सिमकोट–हिल्सा सडक खण्डको ९५ किलोमिटर स्तरोन्नतिका लागि पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०८० असोज ८ गते चीन सरकारसँग सम्झौता गर्नुभएको थियो । सम्बन्धित क्षेत्रका जानकारहरूका अनुसार नेपालकै कारण यसमा कुनै प्रगति हुन सकेको छैन । हामी यस सडकको यथाशीघ्र स्तरोन्नति हुनपर्नेमा जोड दिइरहेका छौँ ।
यस्तै सल्ली–लिमी–लाप्चा सडकको पनि स्तरोन्नति गर्नुपर्छ । लोलुङजोङ क्षेत्रमा कैलाश मानसरोवर दृश्यावलोकन स्टेशन बनाउन आवश्यक छ । सबैले मानसरोवर जाने भिसा पाउँदैनन् । यहाँबाट सजिलोसँग कैलाश मानसरोवरलाई प्रत्यक्ष देख्ने अनि पृष्ठभूमिमा राखेर तस्बिर लिन सकिन्छ ।
लिमी चौरीपालनका लागि उपयुक्त स्थान हो । प्रदेश सरकारको अनुदानमा करिब ५०० चौरी पालिएका छन् । घरपालुवा चौरीसँगै वन चौरी, वन घोडा देखिन्छन् । लिमी यात्रामा टाक्चीको एउटा थुक्कोलाई बहुपति प्रथाको सुरुवात कसरी भएको थियो भन्ने जानकारी दिने स्टेशन बनाउन सकिन्छ ।
हिल्साको मितेरी पुल बनिसकेको छ । म प्रदेश योजना आयोगमा हुँदा हिल्सा गेटलाई नेपालीपन र कर्नाली तथा हुम्लाको कला संस्कृतियुक्त बनोस् भनेर बजेट विनियोजन गरेको सम्झना ताजै छ । तर ठेक्का लगाउने, निर्माण गर्ने र पास गर्नेप्रति मेरो पूरै असहमति छ । यो केवल गेटमात्र होइन, यहाँ चिनियाँहरू पनि आएर तस्बिर खिचेर जाउन् भन्ने सोच राखिएको थियो । यसबाट नेपालको कला, संस्कृतिको प्रचार चीन र बाँकी विश्वमा गराउनु पर्छ भन्ने मान्यता हो मेरो ।
हिल्सामा बजार व्यवस्थापन, पहिरो नियन्त्रण र नौमुल्याको मूल संरक्षण गर्न पर्नेछ । यहाँ क्वारेन्टाइन कार्यालय स्थापना गर्नुपर्छ । यारीमा सुक्खा बन्दरगाह स्थापना र सञ्चालन गर्न ढिलाइ गर्नु हुँदैन । सञ्चार टावर प्रभावकारी रूपमा सञ्चालन गर्नैपर्छ । झोलुङ्गे पुल यथाशीघ्र मर्मत गर्नु पर्नेछ ।
कास्काडका साथै तुम्कोट जलविद्युत आयोजनाबाट ६१ मेगावाट विद्युत निकाल्न सकियो भने यहाँको आर्थिक उन्नतिमा ठुलै फट्को मार्नेवाला छ । यहाँ पाइने खमु र चुलीको जुस उद्योग, धुपी उद्योग, शे फूलको चिया उद्योग सञ्चालन गर्न सके मनग्ये फाइदा उठाउन सकिने अवस्था छ ।
यसैले यसपटक नारा लाग्ना पुग्दा नेपाल र चीन दुवै देशतिर हेर्यौँ । नारद ऋषिले सबभन्दा पहिले ‘नारायण नारायण’ भन्दै सारा लोकलाई रैवार दिन थालेकाले नारा र लेक लाग्ने भएकाले ‘लाग्ना’ भनिएको ठाउँबाट हामीले दुवैतिर सुनिने गरी हुम्ला जागरण अभियानको नारा लगायौँ । नेपाली झण्डा र कम्युनिस्ट पार्टीको झण्डा फहरायौँ ।
- अभियानको समापन
जिल्ला पार्टीको निम्तामा ताक्लाकोटका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा प्रशासनिक अधिकारीहरू हिल्सामा आउनुभयो । उहाँहरूलाई हामीले हिल्सा गेटमा स्वागत गर्यौँ । यसको समन्वय र भाषा अनुवाद नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले गर्नुभयो ।
चिनियाँ अधिकारीहरूका अनुसार यो वर्ष हुम्लाका करिब २००० युवा कामका लागि ताक्लाकोट पुगेको थाहा भयो । हुम्ला जिल्ला प्रशासनका अनुसार २०८१ साउनदेखि २०८२ असार १५ सम्ममा चार हजार १३१ जनाले पास लिएका छन्, जसमा एक हजार ४१६ जनाले सीमा पास नवीकरण गरेका छन् भने दुई हजार ७१५ जनाले नयाँ पास बनाएका छन् ।
हामीले हुम्ली बेरोजगार युवाको कामको विषयमा सकेको सहयोग गर्न अनुरोध गर्यौँ । उहाँहरूले ‘ठिक छ, सकेको सहयोग गर्छौं तर तपाईंहरूका ३५ जनाले मागेर बसेको र दुई दिन अघि रेष्टुरेन्टमा काम गर्ने चार युवतीले मादकपदार्थ खाएर हल्ला गरेका कारण नेपाल पठाएका छौँ । तिनले नाक कटाउने काम गरे’ भन्नुभयो ।
यो टिप्पणी अबदेखि सुन्न नपरोस् भनेर हामीले ताक्लाकोट जाने युवाहरूलाई सीमा पास दिँदा प्रशिक्षणसहित पठाउनु पर्नेमा जोड दिएका छौँ । हुम्लामा जग्गा किनेको आधारमा पास बनाएर ताक्लाकोट जानेहरूको संख्या बढेकोप्रति पनि चिन्ता गर्नेहरू बढेका छन् । नाम्खा गाउँपालिकासँग लिमी नाकामा व्यापार गर्ने समय निर्धारण गर्ने र सांस्कृतिक कार्यक्रम आदान प्रदान गर्ने विषयमा छलफल भयो ।
हुम्ला जिल्ला र चीनको तिब्बत स्वशासित क्षेत्रको ङरी प्रिफेक्चर (ङरी प्रशासनिक इकाई) अन्तर्गत पुराङ काउन्टी अर्थात् ताक्लाकोट बिचको सम्बन्ध सिमानामा मात्र बाँधिएको छैन । ताक्लाकोट बजारले हुम्लाको जनमानसमा, विशेषगरी कम्युनिस्ट आन्दोलनको प्रेरणा र उदाहरण बनेको छ ।
हामीहरूको बिचमा सांस्कृतिक र धार्मिक सम्बन्ध युगौँ पुरानो छ । तिब्बती संस्कृतिको प्रभाव, साझा जातीय र भाषिक संरचना, धार्मिक विश्वास यी सबैले हामीलाई आपसमा अझ नजिक ल्याएका छन् । मानिसहरूको जीवनशैली, पर्वहरू, परम्पराहरू, र आपसी विश्वासको गहिरो भावना आज पनि दुवै क्षेत्रमा समान छन् ।
हुम्ला र ताक्लाकोटबिचको सीमापार व्यापारले जनजीवनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नुन, ऊन, जडीबुटी, लत्ताकपडा, खाद्यान्न यी सबै वस्तुको आदान प्रदानले सीमा क्षेत्रको जीवन चलायमान बनाएको थियो र छ । यो व्यापार संगठित, नियमित र पारस्परिक हितमा आधारित होस् । समय समयमा अनुभवको आदान प्रदान, अध्ययन भ्रमण, स्थानीय सीमा पासबाट मानसरोवर कैलाशको दर्शनमा सहजीकरण, सीमा क्षेत्रमा संयुक्त विकास पहलजस्ता कार्यक्रमहरू अघि बढाउन सकियोस् ।
यसै अवसरमा चिनियाँ अधिकारीहरूले अदानचुली गाउँपालिकालाई सञ्चार उपकरणहरू हस्तान्तरण गर्नु भयो । चिनियाँ मित्रहरूलाई नेपाली टोपी लगाएर बिदाइ गर्यौँ । हामीले हाम्रो अभियानको व्यानर झोलुङ्गे पुलमा टाँग्यौँ । कम्युनिस्ट झण्डा गाडेर फहरायौँ । जिल्ला संयोजकका नाताले मैले अभियानको उद्देश्य र औचित्य पुष्टि भएको बताउँदै अभियान ऐतिहासिक रूपमा सम्पन्न भएको घोषणा गरेँ ।
- अभियानको सन्देश
कर्नाली करिडोरलाई अभियानको आधार बनाउनुको खास कारण विकासको आधार स्तम्भमा उभिएर अघि बढ्न खोजेका हौँ । यही सडक भएर तराई र भोटबाट मालगाडी आउँछन् । रित्ता गाडी फर्कन थालेका छन् । यसो नहोस् भनेर सबैलाई एउटा पेसा व्यवसायमा लाग्न अभिप्रेरित गर्यौँ । यसो नगरी आत्मनिर्भर हुन सकिँदैन ।
सबैलाई उत्पादनमा लाग्न प्रेरणा नदिइ काम गर्ने संस्कार बस्दैन । यसका लागि कृषिजन्य, पशुजन्य, जडीबुटीजन्य, खानीजन्य र पानीजन्य उद्यमको व्यावसायिक पैरवी गरियो ।
२०८१ चैत महिनामा पार्टीको पालिका सम्मेलन सम्पन्न भएका थिए । पालिका समितिहरूलाई परिचालन गर्ने तिनको कार्य क्षमता निकै परीक्षण भएको छ । सबै पालिका समितिलाई जनतासँग जोड्न खोजेका हौँ । कार्यक्रममा सहभागी हुने र नहुने नागरिकको स्वतन्त्रतालाई सम्मान गर्यौँ । यसबाट बाह्य समाजमा पार्टीलाई परीक्षण गर्ने कोसिस गर्यौँ ।
जिल्ला पार्टीको तर्फबाट सबै पालिका समिति र जनतासँग हुम्लाको विकास र पहुँच स्थापित गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गरेको विषय खुला रूपमा सम्प्रेषण गर्यौँ । पार्टीबाट भए गरेका कमजोरी सच्याउँदै जाने प्रतिवद्धता सुनाउँदै विद्यमान सामाजिक विकृति विसंगतिको भण्डाफोर पनि गर्यौँ ।
हुम्ला जिल्लामा माओवादी केन्द्र पहिलो पार्टी हो । सोही साख जोगाइरहन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई समाजवादी कार्यक्रम ल्याउन अनुरोध गर्यौँ । सामाजिक न्यायमा आधारित स्थानीय समाजवाद लागु गर्न स्थानीय सरकारहरूलाई प्रोत्साहित गर्यौँ । साथै, पार्टीले लिएको समाजवादी कार्यदिशाको पक्षमा जनमत निर्माण गर्ने प्रयास गर्यौँ ।
अभियानकै क्रममा अन्तर जिल्ला, अन्तर प्रदेश हुँदै अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित भयो । हामीले यो सम्बन्धलाई पार्टी निर्माणको आधार बनाउन खोजेका छौँ । आम नागरिकले क्रान्तिकारी पार्टी र सही नेताको खोजी गरिरहेका छन् भन्ने अनुभूतिसमेत भयो ।
अभियानका क्रममा भेटिएका जनसमुदायलाई यो बाटो भएर विश्वभरका मान्छे हिँड्ने भएकाले गलत सूचना प्रवाह हुने गरी कार्य व्यवहार नगर्न र नगराउन हात जोडेर अनुरोध गर्यौँ । माटो रुखो होला, मान्छे कालो होला तर मनको सफा खोज्ने हो भने कर्नालीमा आऊ भन्ने सन्देश प्रवाह गरी ‘विश्वको गन्तव्य नेपाल’ र ‘नेपालको गन्तव्य कर्नाली’ हुँदै ‘कर्नालीको गन्तव्य हुम्ला’ बनाउने संकल्प सुनायौँ ।
हामीले जिल्ला, पालिका र वडास्तरमा पार्टी सचिवको नेतृत्वमा परिचालन गर्ने गरी विपद् व्यवस्थापन समिति गठन गरेर स्वयंसेवकका साथ तयारीमा रहन लगाएका छौँ । खरिखेत, श्रीनगर र थालीको बाढी पहिरो र उनापानीको आगजनीबारे विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गर्नुका साथै जिल्ला विपदको बैठकबाटै मुचुल्का उठाएर राहत र पुनर्स्थापनाका लागि पहल गरेका छौँ ।
सबै कार्यक्रमस्थलमा पाइएका प्रतिक्रिया अनुसार भावी कार्यक्रम बनाएर स्थानीय तह, जिल्ला, प्रदेश र संघमा बहस गर्ने विषयवस्तु संकलन भएको छ । आवश्यकतामा कार्यक्रम बनाएर अन्तक्र्रिया सञ्चालन गर्नुपर्ने देखिएको छ ।
कर्नाली करिडोर हुम्लाको मात्र नभएर सिङ्गो नेपालको आत्मनिर्भर बन्ने बाटो हो । यसलाई साकार पार्न सबै स्तरबाट ठोस प्रतिबद्धताको आवश्यक छ ।
हामी कर्नाली करिडोरसँग हुम्लाका सबै गाउँ ठाउँ जोड्न चाहन्छौँ । सोही अनुसार कुवाडी–ताँजाकोट–अदानचुली–सर्केगाड सडक, पुइमा–मदना खौला सडक, तीर्थासैन–कल्प्या सडक, गल्बा–श्रीनगर–पाल्स सडक, खच्चा–जैर–न्हात्ता सडक, सल्लीसल्ला–पिप्लाङ–नेप्का सडक, झाँपुकुना–भुवा कल्लास–फुचा सडक, सर्केगाड–मारघोर–खार्पुनाथ सडक, सर्केगाड–साँया–बराइ सडक, सर्केगाड–मुन्डी–गुसा सडक, घिउसी–छ्यागी–बराइ सडक जोडिन थालेका छन् ।
यस्तै लालीबगर–गोप्का सडक, बोक्च्या गौडा–लाली सडक, थाली औल–थाली–राया सडक, याङ्चु–दुर्पा सडक, खार्पु–खप्र्यालगाउँ सडक, खार्पु–चुवाखोला सडक, सिमकोट–बुराउस्या–बरगाउ–ठेहे सडक, फया–स्याँडा सडक र पुल, हेक्पा खोला–हेक्पा–तांगिन सडक, खगालगाउँ जोड्ने सडक पुल, च्याछरा गाउँ जाने सडक, सल्ली–लिमी सडक, याङ्गार सडक, तुम्कोट–मुचु सडक, तुम्कोट–तिल सडक, यारी–न्याम सडक र हिल्सा–तिल सडक जोडिन पाएका छन् वा पाउने क्रममा छन् ।
सडक हुनुमात्र विकास होइन । यससँगै विद्युतको राजमार्ग चाहिन्छ । त्यो भनेको विद्युत प्रसारण लाइन हो । अहिले उत्पादित जलविद्युत् आयोजनाहरू टुकीमारा तथा सल्लाका रुख जोगाउन मात्र पर्याप्त छन् । यसले हुम्ली अनुहारमा केही उज्यालो ल्याएको छ । हामी हरेक घरलाई उद्यमी बनाउन चाहन्छौँ । केही गर्ने हो भने प्रसारण लाइन विस्तार हुनै पर्दछ । निरन्तर आवाज उठाएपछि अहिले ठेक्का लागेको छ । अबको एक वर्षभित्र पोल गाड्ने र तार तान्ने काम सम्पन्न हुने कार्ययोजना सम्बन्धित निर्माण व्यवसायीले बताएका छन् ।
एवं प्रकारले अप्टिल फाइवर हिल्सासम्मै पुर्याउनु पर्छ । सरकारले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी हुम्लाका सार्वजनिक संस्थामा मात्र होइन, सबै गाउँमा इन्टरनेट सेवा विस्तार गर्न आवश्यक छ । हुम्ला र हुम्लीलाई महेन्द्रकालीन प्रतिबन्धित ईलाकाको रूपमा राख्न पाइँदैन ।
यो अभियानले हुम्लाको समग्र विकास र समृद्धिका लागि अहिले पैरवी र भविष्यको रणनीति निर्माण गर्न प्रेरित गराएको छ । हुम्लाको उत्पादनलाई बजारसँग जोडेर औषधिको मूल्यमा जाने गरी उत्पादन, स्तरीयकरण, ब्राण्डिङ्ग र बजारीकरण गर्नपर्ने देखिएको छ । अभियानले विद्यमान सामाजिक विकृति र विसंगतिको भण्डाफोर गर्नुका साथै सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा जागरण ल्याएको छ ।
यो अभियान हुम्ला जिल्लाको भएपनि यसले अन्तर जिल्ला, अन्तर प्रदेश हुँदै अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न सफल भएको छ । यो ऐतिहासिक अभियानमा सहभागी, सहयोगी र शुभचिन्तक सबै जना धन्यवादका पात्र हुनुहुन्छ ।
(लेखक रोकाया नेकपा माओवादी केन्द्रका हुम्ला जिल्ला संयोजक तथा कर्नाली प्रदेश योजना आयोगका पूर्वसदस्य हुनुहुन्छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण