बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

बुधबार, २५ असार २०८२, २१ : २६
बुधबार, २५ असार २०८२

सारांश

  • रसुवामा आएको बाढीमा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको शव काठमाडौं ल्याइयो।
  • बाढीमा बेपत्ता भएकामध्ये एक प्रहरी सहायक निरीक्षकको शव त्रिशूली नदीमा फेला परेको छ, र उनको अन्त्येष्टि गरियो।
  • अझै १९ जना बेपत्ता रहेका छन्, जसमा दुई प्रहरी, ६ चिनियाँ नागरिक र ११ सर्वसाधारण छन्।

काठमाडौँ । रसुवामा मङ्गलवार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । 

एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । एक जनाको भने सनाखत भएसँगै आजै अन्त्येष्टि गरिएको पनि उनले जानकारी दिए ।

उक्त बाढीमा परेर रसुवाबाट बेपत्ता एक जना प्रहरी प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । उनको आज परिवारले शव बुझेर आजै अन्त्येष्टि गरिएको हो । 

रसुवा बाढीमा अझै १९ जना बेपत्ता रहेका छन् । अहिले भेटिएको शव त्यही बेपत्तामध्येको हो की होइन भनेर पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । 

भेटिएका शवमध्ये पाँच शव मात्रै सनाखत गर्न सकिने खालका रहेको छ । चार वटा मानव अङ्गहरूमात्रै फेला परेको हो । ती शवको डिएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ । 

उक्त बाढीमा अझै दुई प्रहरी, ६ चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । उक्त बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । 

धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । अहिले बेपत्ताहरूको विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा खोजी जारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । 

यस्तै रसुवाका विभिन्न क्षेत्रमा अलपत्र रहेका नागरिकहरूको उद्धार कार्य पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप