शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

किराना पसलको आवरणमा क्रिप्टो कारोबार : चिनियाँ कनेक्सन देखियो

पसलमा कस्तुरीको विना पनि फेला
बिहीबार, २६ असार २०८२, १२ : ५७
बिहीबार, २६ असार २०८२

सारांश

  • ललितपुरको सानेपामा किराना पसल सञ्चालकले १ अर्ब ५० करोडको अवैध क्रिप्टो कारोबार गरेको आरोप लागेको छ।
  • पसलको आवरणमा हुन्डी र क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
  • पसलबाट कस्तुरीको विना फेला परेको र चिनियाँ नागरिकको क्रिप्टो कारोबारमा संलग्नता देखिएको छ।

काठमाडौँ । ललितपुरको सानेपास्थित कालोपुलमा रुपेश कुमार गुप्ताले १५ वर्षदेखि किराना पसल चलाउँदै आएका छन् । ४३ वर्षीय गुप्ता भारतको बिहारस्थित मोतिहारीका स्थानीय हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर–२ सानेपामा उनले सञ्चालन गरेको ‘राजतीर्थ ट्रेडर्स’मा उनले सहयोगी पनि राखेका छन् । भारतको बिहारस्थित पूर्वी चम्पारण घर भएका २२ वर्षीय विपिन कुमार उनका सहयोगी हुन् । किराना पसल सञ्चालक र सहयोगी दुवैजना अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

पसलको आवरणमा उनीहरूले हुन्डी र क्रिप्टोको कारोबार गरेको आरोप छ । मोबाइल र ल्यापटपमा भेटिएको विवरण हेर्दा रुपेश कुमारले अहिलेसम्म १ अर्ब ५० करोडको अवैध क्रिप्टो करेन्सीको कारोबार गरेको भेटिएको सीआईबीका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

किराना पसलमार्फत उनीहरूले हुन्डी कारोबार पनि गर्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बिपिन चाहिँ रुपेशले भने अनुसारको नगद ओसार–पसार गर्ने काम गर्दै आएका थिए । विपिनको भूमिका अहिलेसम्म ‘सहयोगी’को रूपमा मात्रै देखिएको एसएसपी बोगटीले जानकारी दिए ।

असार २३ मा पक्राउ परेका उनीहरू विरुद्ध प्रहरीले मुलुकी अपराध संहिता–२०७४ को अभौतिक मुद्राको प्रयोग गर्न नहुने र हुन्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

किराना पसल सर्च गर्दा कस्तुरीको विना पनि भेटिएको छ । पसलमा भेटिएको कस्तुरीको विनाको तौल ७४ ग्राम रहेको एसएसपी बोगटीले बताए । उनले भने, ‘दुर्लभ वन्यजन्तु कस्तुरीको विना कारोबार गरेकोमा आरोपीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला बन कार्यालय काठमाडौँमा पठाउँछौँ ।’

वन कार्यालयले उनीहरूलाई वन्यजन्तु सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने कानुनी व्यवस्था छ । कस्तुरीको विनाको अवैध बजार मूल्य प्रतितोला १ लाख रुपैयाँ पर्ने प्रहरी अधिकृतहरू बताउँछन् ।

रुपेश र उनका सहयोगीको मोबाइल परिक्षण गर्न सीआईबीले डिजिटल फरेन्सिक ल्याव (डीएफएल)मा पठाएको छ ।

चिनियाँ कनेक्सन

अभौतिक मुद्रा (क्रिप्टो)को कारोबारमा रुपेशको मात्रै वालेट प्रयोग भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । बिपिनले चाहिँ पैसाको डेभिलरी गर्ने काम मात्रै गरेको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

रुपेशले क्रिप्टोको काम दुई वर्षदेखि सुरु गरेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । क्रिप्टो कारोबारमा चिनियाँ नागरिकको कनेक्सन देखिएको छ । अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘ह्वाट्स एप मार्फत चिनियाँ भाषामा कुरा गरेको देखिन्छ, भाषा सम्बन्धी जानकारसँग सहयोग लिएर अनुसन्धान गर्दै छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप