शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक सय ५८ जना लाभान्वित

बिहीबार, २६ असार २०८२, १३ : १७
बिहीबार, २६ असार २०८२

सारांश

  • खोटाङको अर्खौले बजारमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित भए।
  • शिविरमा स्वास्थ्य परीक्षण, औषधि वितरण, र जटिल रोगका बिरामीलाई अस्पतालमा रिफर गरियो।
  • यस शिविरले नागरिक र सेनाबीचको सम्बन्ध सुदृढ गर्दै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍यायो।

खोटाङ ।  नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् ।

 मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली सेनाले समग्र व्यवस्थापनको जिम्मा लिएको थियो ।

नागरिक र नेपाली सेनाबिचको सम्बन्ध थप प्रगाढ बनाउँदै ग्रामीण क्षेत्रका जनतालाई गाउँमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अर्खौलेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख सेनानी लामिछानेले जानकारी दिए । आयोजक पक्षका अनुसार स्वास्थ्य शिविरमा आएकामध्ये जटिल रोगबाट पीडित ६० जना बिरामीलाई जिल्ला अस्पताल खोटाङ तथा माथिल्लो निकायमा ‘रिफर’ गरिएको छ ।  

यसरी पहिलोपटक आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा आफूहरू हर्षित भएको सेवाग्राहीहरुले बताएका छन् । अर्खौले बजारस्थित स्वास्थ्य चौकी प्राङ्गणमा बुधवार आयोजना गरिएको शिविरमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, जिल्ला अस्पताल खोटाङका प्रमुख डा रुपेश सङ्ग्रौला, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौलागाईँ, वडाध्यक्ष अर्जुन पुरी लगायतको उपस्थिति रहेको थियो ।

रणभीम गण मुडे ब्यारेक खोटाङले करिब पाँच महिनाअघि माघमा केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो । नेपाली सेनाले आफ्ना भूतपूर्व सैनिक तथा परिवारका सदस्यलाई लक्षित गरी बाक्सिलामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमार्फत एक सय ४५ जना स्थानीय लाभान्वित भएको थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप