बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जनमतमा पुन: विवाद

जनमतभित्र चर्कियो विवाद, असन्तुष्ट पक्षले छुट्टै अभियान चलाउने

बिहीबार, २६ असार २०८२, १७ : ४७
बिहीबार, २६ असार २०८२

सारांश

  • जनमत पार्टीभित्र असन्तुष्ट नेता तथा कार्यकर्ताले छुट्टै अभियान 'जनस्वभिमान' सुरु गर्ने भएका छन्।
  • अभियानको नेतृत्व ई.दीपक साह, ई.सुरेन्द्रनारायण यादव र वीरेन्द्र साह (सोनार) ले गर्नेछन्, जसले पार्टी अध्यक्ष सीके राउतको एकलौटी निर्णयको विरोध गर्नेछन्।
  • असन्तुष्ट नेताहरूले पार्टीभित्र सुनुवाइ नभएपछि जनतामाझ जाने र पार्टीलाई सुदृढ बनाउने उद्देश्य राखेका छन्।

काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीभित्र विवाद पुनः चर्किएको छ । पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्ताले छुट्टै अभियान सञ्चालन गर्ने भएका हुन् । 

त्यस अभियानको नाम ‘जनस्वभिमान’ यात्रा राखिएको छ । जसको नेतृत्व ई.दीपक साह, ई.सुरेन्द्रनारायण यादव र वीरेन्द्र साह (सोनार) गर्नेछन् ।मधेस प्रदेशको रौतहटबाट सुरु हुने अभियानको पहिलो चरणमा मधेश प्रदेशका आठ जिल्लामा सञ्चालन हुने नेता साहले बताए । एउटा जिल्लामा एक दिन जनमत पार्टीका नेता तथा कार्यकर्तालगायतले जनतासँग भेट्ने कार्यक्रम रहेको उनले सुनाए । 

पार्टी अध्यक्ष डा. सीके राउतले पार्टीमा गरिरहेको एकलौटी निर्णय तथा अराजक गतिविधिबारे नेता तथा कार्यकर्ता र जनतलाई जानकारी गराउने र अबको रणनीतिबारे सल्लाह गरिने बताए । 

पार्टी स्थापनाका लागि लामो समयदेखि भूमिका खेलेका पार्टीका नेता तथा कार्यकर्तालाई कारबाही गरी पार्टीबाट निष्कासन गर्ने, कारबाही गर्नेजस्ता काम हुँदै आएको नेता साहले बताए । जसले गर्दा पार्टी जनताको नभई परिवारको बनाउन खोजिएको उनको आरोप छ । र उनले यी र यस्तै कुरा जनतासमक्ष राख्ने जानकारी दिए । 

‘जनमत पार्टीले मलाई विभिन्न आरोप लगाएर मलाई कारबाही गरेको छ, स्पष्टीकरण सोधेको छ, बुझाइसकेको छु, तर जुन आरोप ममाथि लगाएको छ, त्यसको प्रमाण मागेको नौ महिना भइसक्यो, तर हालसम्म त्यो प्रमाण पनि पार्टीले दिएको छैन,’ उनले भने ।

आफूमाथि पार्टीले लगाएको आरोपको कुनै प्रमाण र आधार नभएको उनले दाबी गरे । यसरी पार्टीभित्र रहेकाहरूलाई जथाभावी विभिन्न आरोप लगाएर नेता तथा कार्यकर्तालाई कारबाही भइरहेकोमा उनले गुनासो गरे । यसबारे पनि जनतालाई बुझाउनुपर्ने उनको भनाइ थियो । 

पार्टीभित्र आफूहरूको कुनै सुनुवाइ नभएपछि जनताबिच जानुपरेको उनको तर्क थियो । र अध्यक्ष राउतले कारबाहीमा परेका नेताहरूले कार्यकर्तासँग भेटघाट नगर्न पनि सर्कुलर गरेका उनको आरोप थियो ।

यसलाई उनले विधानविपरीतको कार्य मानेका छन् । यो अभियानको उद्देश्य पार्टीलाई सुदृढीकरण गरी थप सशक्त बनाउने उनको बुझाइ छ । र यति गर्दा पनि पार्टीमा सुधार आएन भने पछि थप कार्यक्रम बनाउने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप