जिन्दगीसँग खुसी भएको बेला
सारांश
- लेखक जीवनसँग खुशी व्यक्त गर्दै यो सुन्दर साँझमा आफूलाई भाग्यमानी ठान्छन्।
- लेखक जीवनका उतारचढाव र अनुभवलाई स्वीकार्दै खुसीको यात्रामा अगाडि बढ्छन्।
- लेखक जीवनलाई धन्यवाद दिँदै, प्रेम, क्षमा र स्वतन्त्रताको महत्त्व बुझेको कुरा व्यक्त गर्छन्।
जिन्दगीसँग खुसी भएको बेला मन भुईंमा हुँदैन । जिन्दगी तिमीसँग आज म एकदमै खुसी छु । यो झरी परिरहेको साँझ, यो शीतल बतासले सुमसुम्याइरहेको साँझ । कि, कति समयसम्म म तिमीसँग भलाकुसारी गरौँ ? कतिञ्जेल तिमीसँग डुबेर रमाऔँ ?
एकछिनले पुग्दैन, केही घण्टाले पनि हुँदैन । मनका सारा जिज्ञासा मेटाउन उत्सुकता र उत्कण्ठाहरू सबै–सबै पूरा गर्न । मनका असन्तुष्टि र तृप्तिका प्रति विचार–मन्थन गर्न ।
जीवन, तिमी भएर त म छु । तिमीलाई पाएर म असाध्यै खुसी छु । खुसी हराउँदै गएको वर्तमान समयमा आफैँभित्र खुसी भेट्नु अझ बढी खुसीको कुरा हुँदोरहेछ ।
हो, जिन्दगी म तिमीसँग आज धेरै गफिने मुडमा छु । दिन बितोस् कि रात छर्लङ्गै होस् मलाई त्यसको मतलब छैन । मैले जिन्दगीको विषयमा बुझ्नु छ । मूलतः मैले मेरो प्यारो जिन्दगीलाई चिनेर आत्मसात् गर्नु छ ।
म अहिले जिन्दगीको अर्थ र अभिप्राय खोतल्ने चेष्टामा छु । बादलजस्तै निश्चल आकाशमा निर्विघ्न घुम्दै जिन्दगीको वास्तविक अनुभूति सँगाल्न लालायित छु । मेरो वैयक्तिक निबन्धलाई मूर्त रूप दिन उत्सुक छु । रातको चकमन्न सन्नाटामा म मेरो जिन्दगीसँग संवाद गर्दै छु ।
यतिबेला भर्खरै लहलह हरियो बोट हुँदै गरेका धानबालीबाट भ्यागुताको एकोहोरो आवाज मेरो कानसम्म आइरहेछ । त्यो आवाज अहिले परिचितजस्तै हुन थालिसकेको छ तर कुनै चिनाजानी छैन । तथापि आफैँमा प्रिय लाग्छ । कुनै रात आवाज आएन भने मलाई छटपटी हुन थाल्छ । आवाज सुनेर सुत्ने बानीले मेरो निद्रा बिग्रिन्छ ।
हो, जीवन ! आज तिमीसँग म एकदमै खुसी छु । यो केवल क्षणिक आवेग वा मिठो सपना होइन बरु गहिरो अनुभूति हो जसले मेरो सम्पूर्ण अस्तित्वलाई अँगालेको छ । तिमीले मलाई दिएका हरेक पल, हरेक अनुभव र हरेक शिक्षाको लागि म कृतज्ञ छु ।
आज म विगतका ती अँध्यारा दिन सम्झन्छु जब खुसी एउटा मृगतृष्णाजस्तो लाग्थ्यो, जसलाई जति पछ्याए पनि भेट्न सकिँदैनथ्यो । निराशाका बादलले मलाई घेरेका थिए र हरेक बिहान एउटा नयाँ सङ्घर्ष लिएर आउँथ्यो तर तिमीले मलाई कहिल्यै हार मान्न दिएनौ । तिमीले मलाई सिकायौ कि अन्धकारपछि सधैँ उज्यालो हुन्छ । हरेक रातपछि बिहान हुन्छ । हरेक आँसुपछि हाँसो लुकेको हुन्छ ।
खुसी, जुन मैले कतै टाढा खोजिरहेको थिएँ । तर त्यो त मसँगै रहेछ । यो त स–साना कुरामा लुकेको हुँदोरहेछ । चराको चिर्बिर आवाजमा, बिहानको न्यानो घाममा, प्रियजनको मुस्कानमा र आफ्नै मनको शान्तिमा ।
जीवन ! तिमीले मलाई धेरै पाठ सिकायौ, तिमीले मलाई प्रेम गर्न सिकायौ, क्षमा दिन र स्वतन्त्र हुन सिकायौ । तिमीले मलाई सम्बन्धहरूको महत्त्व बुझायौ, मित्रताको गहिराइ देखायौ र परिवारको न्यानोपन महसुस गरायौ । तिमीले मलाई हरेक चुनौतीलाई अवसरमा बदल्ने शक्ति दियौ ।
मैले बुझेँ खुसी कुनै गन्तव्य होइन, बरु एउटा यात्रा हो । यो यात्रामा आउने हरेक आरोह–अवरोहलाई अँगाल्दै अगाडि बढ्नु नै जीवन रहेछ । जिन्दगीको मिठास त्यहीँ भेटिँदोरहेछ ।
आज म खुसी छु किनकि मैले आफूलाई स्विकार्न सिकेको छु । मेरा कमी–कमजोरीलाई सुधार्ने चेष्टा गरिरहेको छु । मैले बुझेको छु कि म पूर्ण छैन । यही अपूर्णताले नै मलाई विशेष बनाउँछ । मैले अरूको अपेक्षामा बाँच्न छोडेर आफ्नै खुसीका लागि जिउन सिकेको छु ।
जीवन ! तिमीले मलाई धेरै पाठ सिकायौ, तिमीले मलाई प्रेम गर्न सिकायौ, क्षमा दिन र स्वतन्त्र हुन सिकायौ । तिमीले मलाई सम्बन्धहरूको महत्त्व बुझायौ, मित्रताको गहिराइ देखायौ र परिवारको न्यानोपन महसुस गरायौ । तिमीले मलाई हरेक चुनौतीलाई अवसरमा बदल्ने शक्ति दियौ ।
जीवन, आज म तिमीलाई धन्यवाद दिन चाहन्छु । तिमीले मलाई दिएका हरेक खुसीका क्षणका लागि, हरेक पीडाका लागि जसले मलाई बलियो बनायो । हरेक अनुभवका लागि जसले मलाई परिपक्व बनायो । म तिमीसँग खुसी छु र यो खुसीलाई सधैँभरि मेरो मुटुमा सुरक्षित किसिमले जतन गरेर राख्नेछु ।
‘फूल’जस्तै तिखा काँडाले घोच्न दिनेछैन । रूपवती ‘युवती’जस्तै कुनै स्वार्थीको गिद्धे नजर पर्न दिनेछैन । ‘दुध’जस्तै एकदमै सेतो त्यसमा कुनै दाग पर्न दिनेछैन । ‘मन’जस्तै सफा त्यसमा कुनै द्वेषको प्रवेश हुन दिनेछैन । किनकि जिन्दगी तिमीसँग आज म एकदमै खुसी छु !
जिन्दगी, तिमीलाई हेर्दा कहिले काँडाले छेकिएको जंगलजस्तो लाग्छ । कहिले भर्खर टुसाउँदै गरेको कुनै बिरुवाजस्तो लाग्छ । कहिले तिमी सुनसान साँझ हौँ; कहिले भिडमा कतै हराइरहेको, आफूले आफैँलाई नभेटेर खोजिरहेको हतास समयको पलजस्तो पनि लाग्छ ।
यी सबैलाई छाडेर मायासहितको तिमी सुन्दर उज्यालो बिहान हौ । तिमी एकै समयमा रहस्य हौ र उत्तर पनि । तर आज ! हो, आज तिमी बिल्कुलै भिन्न छौ । आज म तिमीभित्रको उज्यालो अनुहार देखिरहेको छु । त्यो अनुहार जसले मलाई मुस्कुराएको ऐना बनाएको छ ।
आज म तिमीभित्र कुनै गुनासो खोजिरहेको छैन । आज तिमी मेरो मुटुको संगीत हौ, जसको हर तालले मलाई नचाइरहेछ । म चुपचाप भित्रभित्रै नृत्यमग्न मनस्थितिमा रमाइरहेको छु ।
आज तिमी भोकै सुतेको अनिद्राले छटपटिएको रात होइन, बिहानको सुगन्धले भरिएको चियाकप हौ । जुन स्वाद रित्तिएको अन्तिम घुट्कोसम्म अझै पिउँपिउँ लागिरहोस् ।
जिन्दगी, तिमीप्रति मेरो सम्बन्ध अनेकौँ पाटामा छरिएको छ । कहिले तिमीले मलाई पीडाले सताएर रुवायौ । कहिले हर्षको हाँसोले मल्हमपट्टि लगायौ । तिमीले कहिलेकाहीँ मलाई लथालिंग बनायौ । कहिले विछोडको नरमाइलो साँझ जस्तै भावुक बनायौ ।
यद्यपि ती सबै दिनहरू ती आँसु, ती घाउ, ती सबै चोटहरू तिमीले मलाई निखार्न बनाएको शिल्प थिए । आज त्यसैको प्रतिफलको मिठास म अनुभूति गरिरहेको छु ।
आज मलाई लागिरहेको छ— जिन्दगी, तिमी मेरा लागि सधैँ पीडाको अर्को नाम होइन रहेछौ । कहिलेकाहीँ तिमी साक्षात् ‘भगवान्’ पनि बनिदिने रहेछौ । जहाँ म ‘प्रार्थना’ गर्न सक्छु । त्यहाँ म आफूलाई आफैँसमक्ष निर्धक्क पोखिन पाउँछु ।
हिजो म जुन बाटो हिँडेँ, त्यो अप्ठेरो थियो तर त्यसले मलाई आजको यो दृढता दिएको छ । हिजोका ती असफलताले मलाई आज सफलता चिन्न सिकाएको छ । उज्यालोमा मात्र होइन, अँध्यारोमा पनि मैले उज्यालो खोज्न थालेको छु । त्यो उज्यालो, जिन्दगी तिमी आफैँ हौ । आज म तिमीलाई गुनासोको जस्केला खोलेर होइन, आभारको काखमा समेट्न दैलो खोलेर स्वागत गर्न चाहन्छु ।
किनभने म बाँचिरहेको छु । म मायालु मान्छेहरूबाट घेरिएको छु । मलाई लेख्न र महसुस गर्न सक्ने आत्मा प्राप्त भएको छ । अनि मलाई तिमीले अहिले खुसी बन्ने अवसर दिएका छौ । त्यसैले फेरि म भन्छु, ‘जिन्दगी तिमीसँग म एकदमै खुसी छु ।’
म यति खुसी छु कि हावासँग दौडिन मन लाग्छ । बादलसँग नाच्न मन लाग्छ । आफ्नै छायासँग कुराकानी गर्न मन लाग्छ । हिजोका हरेक ‘आँसु’ आज ‘फूल’ बनेर फुलिरहेका छन् । हिजो जुन कुराले तर्साउँथ्यो, आज त्यो नै अनुभवको माला बनेर मेरो गलामा सजिएको छ ।
तिमी मेरो सामीप्य हौ, मेरो एक्लोपनको साथी, मेरो कलमको प्रथम हरफ र मेरो अन्तिम साससम्मको सहयात्री । आज म तिमीलाई दोष छैन भनेर होइन, तिमीमा मूल्य भेटेर ‘प्रेम’ गरिरहेको छु । किनभने तिमीविना ‘म को’ हुँ ? अनि तिमीविना ‘म किन’ हुँ ? तिमी भएरै ‘म’ छु, म भएरै ‘तिमी’ छौ ।
जिन्दगी, तिमी ‘मेरो हौ’ भन्ने अनुभूति नै आजको सबैभन्दा ठुलो खुसी हो । र, म यही खुसीलाई साक्षी राखेर भन्छु, ‘जिन्दगी तिमीसँग आज म एकदमै खुसी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण