शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘सत्ता सहयात्रा चुनावसम्मै ढुक्कले जान्छ’

शनिबार, २८ असार २०८२, १८ : ४२
शनिबार, २८ असार २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावसम्म नेपाली कांग्रेससँगको सत्ता सहयात्रा जारी रहने बताए।
  • झापाको कनकाई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण गर्दै उनले सरकारले जनताका समस्या समाधानमा ध्यान दिएको उल्लेख गरे।
  • ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गर्दै देश विकासको गतिबारे चर्चा गरे।

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँग सत्ता सहयात्रा चुनावसम्म जाने स्पष्ट पारेका छन् ।

झापाको कनकाई नगरपालिकामा जग्गा धनीपुर्जा वितरण कार्यक्रममा सत्ता सहयात्राका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरू कराउन्। सरकारको एक वर्ष बित्यो। अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु। त्यसपछि हाम्रो सहमतिबमोजिम नेपाली काँग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ। चुनावसम्म यो यात्रा जारी रहन्छ। म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु।’

उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरे। भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा आयोजित एक कार्यक्रममा सो पालिकाका दुई सय जनालाई जग्गा धनीपुर्जा हस्तान्तरण गरिएको हो।

प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाउनु खुसीको कुरा भएको बताए। उनले अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको स्पष्ट पारे। 

प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै कानुन पारित गरिने जानकारी पनि दिए। उनले जमिन खेर जान नदिई ठूला-ठूला चाक्ला बनाएर व्यावसायिक खेती गरी आर्थिक समृद्धिमा लाग्न आग्रह गरे। 

प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने बताउँदै शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा ठूलो परिवर्तन जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट पारे।

कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्मका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपुर्जा वितरण गरिने जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप