मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एमालेका १० हजारभन्दा बढी टोल कमिटी र ९८ प्रतिशत पालिका अधिवेशन सम्पन्न

संशोधन प्रस्तावहरू मर्यादित भाषामा पठाउन पार्टी कमिटीहरूलाई निर्देशन
मङ्गलबार, ३१ असार २०८२, १३ : ३८
मङ्गलबार, ३१ असार २०८२

सारांश

  • नेकपा एमालेले जनता र कार्यकर्तासँगको सम्बन्धमा सुधार भएको निष्कर्ष निकाल्यो।
  • पार्टीको जरा केन्द्रित अभियानले पार्टी गतिविधि बढाएको र सदस्यता नवीकरणमा प्रगति भएको जनाइएको छ।
  • आगामी विधान महाधिवेशनका लागि संशोधन प्रस्तावहरू मर्यादित भाषामा पठाउन निर्देशन दिइएको छ।

काठमाडौँ । नेकपा एमालेले जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टी विस्तारको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको सङ्गठन विभागको बैठकले एमालेले सञ्चालन गरेको जरा केन्द्रित अभियानले आम कार्यकर्ता पनि चलायमान भएको जनाएको छ । 

सङ्गठन विभागका सचिव माधव ढुंगेलले मंगलबार विज्ञप्ति जारी गर्दै गत वर्षको माघदेखि चैतसम्म सञ्चालन भएको वडा केन्द्रीत पाटी निर्माण अभियान (जरा अभियान)का कारण पार्टी गतिविधि बढेको, स्थानीय पार्टी चलायमान भएको, मातहतका अधिकांस पार्टी कमिटीका अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।

 ‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको, समय पुगेका जनसंगठनका महाधिवेशन र अधिवेशनहरू भएका र उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ,’ ढुंगेलले विज्ञप्तिमा लेखेका छन्, ‘जरा अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा  सुधार आएको महसुष भएको छ ।’

एमालेले राजवादीको प्रतिगामी हर्कतले जरा अभियानमा निर्धारण काम हुन नसकेपनि त्यसबेलाका कार्यभारलाई निरन्तरता दिन सबै कमिटीहरूलाई निर्देशन पनि दिएको छ । माघ देखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएका, ८५ प्रतिशत वडाका अधिवेशन भएका र करिब १७ हजार मध्ये १० हजार भन्दा बढी टोल कमिटीहरू गठन गरिएको सङ्गठन विभागले जनाएको छ । 

विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिनका लागि पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

‘जरा अभियान जस्तै अभियान लिएर जनताको घरघर सम्म पुग्ने र जनसेवा गर्ने काममा निरन्तरता दिनुपर्ने आवश्यकता गहिरो गरी महसुस गरियो’ ढुंगलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा २३ वटा जनसंगठनका महाधिवेशन सम्पन्न भएका,पार्टीका ७७ जिल्ला मध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । 

पार्टीका आसन्न विधान महाधिवेशनका सन्दर्भमा विधान संशोधन र संगठानात्मक दस्ताबेजका लागि माग गरिएका विषयमा पार्टी नेतृत्वलाई सङ्गठनात्मक रिपोर्ट र आवश्यक विवरण बुझाउन पनि आग्रह गरेको छ । 

यसैगरी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा बनाउन व्यवस्थित र योजनाबद्ध ढङ्गले अघि बढ्ने पनि बैठकको निर्णय छ । ‘पार्टीका कोर भ्यालुज स्थापित गर्न,पार्टीलाई डिजिटलाइज  गर्न प्रणालीमा अभ्यस्त गराउन विशेष अभियान चलाउने प्रस्ताव पनि पारित गरिएको छ ’ विज्ञप्तिमा उल्लेख छ । 

पार्टी सदस्यहरूमा एमालेका बारेको आधारभूत जानकारी परीक्षण गर्नका लागि पार्टी सदस्य वितरण पूर्व अनिवार्य रूपमा परीक्षा गर्ने,मतदाताको ६ प्रतिशत पार्टी सदस्य सङ्ख्या पुर्‍याउने प्रस्ताव पारित गरेको छ । यसैगरी समुदायसँग जनसंगठन अभियान सञ्चालन गर्ने,सबै तहका कमिटीका लघु प्रशिक्षण आयोजना गर्ने,जिल्लामा एमालेको प्रोफाइल तयार गर्ने,दुई पुस्ता सँगसँगै कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले आगामी विधान महाधिवेशनका लागि संशोधन प्रस्तावहरू मर्यादित भाषामा पठाउन सबै पार्टी कमिटीहरूलाई निर्देशन पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप