बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

प्रचण्डले मागे महरासँग सहयोग

पार्टीभित्रको अन्तर्विरोध हल गर्न र विप्लवसँगको एकताका लागि पहल गरिदिन आग्रह
बिहीबार, ०१ साउन २०८२, १२ : १४
बिहीबार, ०१ साउन २०८२

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तर्विरोध र अन्य पार्टीसँग एकताका लागि समायोजनको भूमिका खेलिदिन उपाध्यक्ष कृष्णबहादुर महरासँग आग्रह गरेका छन् । बुधबार दिउँसो आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले एकताका लागि समायोजन भूमिका खेली दिन आग्रह गरेका हुन् । 

स्रोतले दिएको अनुसार प्रचण्ड र महराबिच स्थायी समिति बैठकको तयारी, पार्टीभित्र बढ्दै गएको अन्तर्विरोध, विप्लव नेतृत्वको नेकपा लगायत वामपन्थी शक्तिसँग एकताको विषयमा करिब एक घण्टा छलफल भएको थियो । 

‘प्रचण्ड र महरा कमरेडबिच एक घण्टा जति भेट भएको हो । नितान्त आन्तरिक विषयमा छलफल भएको थियो । पार्टीभित्र देखिएको अन्तर्विरोध हल गर्नका लागि जनार्दन शर्मा, वर्षमान पुन, नन्दबहादुर पुन ‘पासाङ’, विप्लव लगायतसँग छलफल गर्नुका साथै एकताका लागि संयोजनकारी  भूमिका खेलिदिन अध्यक्षले आग्रह गर्नुभएको थियो’, स्रोतले भन्यो । 

पार्टीभित्र पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तर्विरोध देखिएको छ । त्यस्तै, विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया समेत अगाडि बढेको छैन । 

प्रचण्डका निकै विश्वास पात्र मानिने महरा पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठक अघिसम्म एकता समायोजन समितिका संयोजक थिए । अहिले एकता समायोजन समितिका संयोजक प्रचण्ड आफै छन् । 

पार्टी निर्माण, विधि, पद्धतिको विषयमा गत वर्ष साउनमा बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ बुँदे प्रस्ताव पेस गरेका थिए । यसपछि पार्टीमा आन्तरिक सङ्घर्ष तीव्र बनेको थियो ।

प्रचण्डले साउन १६ गते स्थायी समिति बैठक बोलाएका छन् । बैठकअघि नै आन्तरिक विवाद हल गर्न प्रचण्डले महरालाई अगाडि सारेका छन् । प्रचण्डसँगको भेटबारे महराले केही बताएका छैनन् । उनले यसलाई सामान्य छलफल मात्र भनेका छन् । 

‘आन्तरिक विषयमा छलफल भएको हो । त्यस्तो केही होइन । म अहिले वार्ता टोलीको संयोजक पनि छैन । अध्यक्ष प्रचण्ड आफै हुनुहुन्छ,’ रातोपाटीसँग उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप