रसुवागढीमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति
सारांश
- नेपाल र चीनबीच रसुवागढीको मितेरी पुलमा बेलिवृज राख्ने सहमति भएको छ, दसैँअघि जडान गरिनेछ।
- स्याफ्रुबेँसी-रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ, भोलि सडक खुलाउने तयारी छ।
- बाढीले क्षति पुर्याएको सडकखण्ड मर्मतपछि चीनसँगको व्यापारिक नाका पुनः सञ्चालन हुनेछ।
काठमाडौँ । रसुवागढीमा बेलिवृज राख्नेबारे नेपाल र चीन सरकारबिच सहमति भएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चीनका राजदूत चेन सोङसँग दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले रातोपाटीलाई बताए ।
‘आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङसँग छलफल भएको थियो । उहाँसँग एकदमै सकारात्मक छलफल भएको छ,’ सचिव शर्माले भने,‘ दसैँअघि बेलिब्रिज जडान गर्ने सहमति भएको छ ।’
स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । सडक भोलि (शुक्रबार) भित्र खुलाउने गरी काम भइरहेको सडक विभागले जनाएको छ ।
सडक विभागका सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख तथा सुपरिटेन्डेन इन्जिनियर शुभराज न्यौपानेले शुक्रबारदेखि खुल्ने जानकारी दिए । ‘लिङलिङको एउटा प्वइन्ट बाँकी छ । अरू सबै ठाउँमा वान वे ट्रयाक खुलिसक्यो । अब त्यो ठाउँमा ५० मिटर सडक अलिकति क्रिटिकल छ । माथि पहिरो छ, तल खोलाले हानेको छ । त्यो बाटो खोल्न बाँकी छ । अरू खुलिसकेको छ । ’
उनका अनुसार स्याफ्रुबेँसी बाट रसुवागढीसम्मको १६ किमी सडकमध्ये रसुवागढी, टिमुरे, लिङलिङ र रोंगा क्षेत्रमा करिब १.१ किमी सडकमा बाढीले क्षति गरेको थियो । यो सबै मर्मत भइसकेको जनाइएको छ ।
कसरी भइरहेको छ सडक मर्मत ?
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाका सब–इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले स्याफ्रुुवेशी सडक खुलाउनका लागि योजना प्रमुखसहितको टिम फिल्डमा खटिरहेको बताए ।
‘यो सडक खुलाउन त लागिराखेका छौँ । अब सम्भवतः भोलिसम्ममा चैँ खुल्छ होला । हामी चैँ सकभर अब छिट्टै खोल्ने भनेर लागिराखेको हो । अब सम्भवतः भोलि खुल्छ होला । योजना प्रमुखसहित सात जनाको टिम फिल्डमै छौँ ,’ उनले भने, ‘तीन वटा एक्स्काभेटर प्रयोग गरेर बाटो खुलाउने काम भइरहेको छ ।’
मितेरी खोलाको पुलका विषयमा दुई देशबिच समन्वय भइरहेको उनले बताए । नेपालतर्फबाट पुल पुनर्निमाणका लागि तत्काल सामग्री लैजान सकिने अवस्था नभएको बताए । ‘चीनतर्फबाटै सामग्री ल्याएर बनाउन सकिन्छ । यताबाट सामान लैजान मिल्दैन । उताबाट चीन सरकारले नै गर्छ होला ।’
उक्त सडकमा कस्ता सवारी चलाउन सकिने सडक खुला भएपछि मात्रै थाहा हुने उनले बताए । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड बगाएपछि चीनसँगको व्यापारिक नाका ९ दिनदेखि ठप्प छ । असार २४ गते आएको बाढीले करिब १ किलोमिटर सडक बगाउँदा टिमुरे र रसुवागढीबिचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण